
काेराेना बीमा दाबीकाे भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी
पाल्पा – पाल्पाका कोरोना सङ्क्रमितहरूले बीमा दाबीकाे भुक्तानी नपाएमा कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् । बीमा गरेको संस्था सगरमाथा इन्स्योरेन्सले बीमावापतको भुक्तानी नदिएको भन्दै पाल्पा कोरोना सङ्क्रमितहरूले आन्दोलन गरेका हुन् ।
अबको दश दिनभित्र बीमा रकम दिने निर्णय नगरे कार्यालयमा ताला लगाइने बीमित नारायण न्यौपानले बताए। बीमितले प्रिमियम तिरेपछि सम्झौताअनुसारको रकम पाउनुपर्ने भएपनि अहिलेसम्म नपाएको अर्का बीमित राजेश आचार्यले बताए।
सगरमाथा इन्स्योरेन्स पाल्पाले एक हजार दुई सय २० जनाको बीमा गरेकोमा ६ सय जनाले बीमा भुक्तानीको दाबी गरेका छन् । यसमा एक सय २३ जनाले भुक्तानी पाएका छन् । भुक्तानी नपाएकाहरूले दश दिनको समय दिएका हुन् ।
सरकारले जिम्मेवारी नलिँदा बीमा रकम भुक्तानी गर्न नसकिएको सगरमाथा इन्स्योरेन्स कम्पनी पाल्पाका प्रमुख करुणा काफ्लेको भनाइ छ । बाँकी रहेकाहरूको बीमा रकम भुक्तानी नगरे चरणबद्ध रूपमा आन्दोलन गर्ने बीमित झपेन्द्र गहिरेले बताए ।



कागजपत्र |
