


प्रहरीको सफलताः प्रेमिकाको आमा–बुबाको हत्या गरेर साउदी भागेका अभियुक्तलाई काठमाडौं ल्याइयो

काठमाडौं – नेपाल प्रहरीले साउदी अरबमा पक्राउ परेका हत्या अभियुक्तलाई नेपाल ल्याएको छ। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को काठमाडौं एनसीबीबाट खटिएको टोलीले हत्या अभियुक्तलाई साउदी अरब पुगेर नेपाल ल्याएको हो।
हत्याको १७ वर्षपछि गोविन्द मगरलाई बुधबार राती साउदी अरबबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। मगरले १३ मंसिर २०६१ मा उदयपुरमा दुईजनाको हत्या गरेका थिए।
उनीविरुद्ध जीतबहादुर तामाङले जाहेरी दिएका थिए। उदयपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएर इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा एनसीबी काठमाडौंले इन्टरपोललाई पत्र लेखेको थियो।
इन्टरपोलले मगरको खोजीका लागि २६ माघ २०७७ मा रेड नोटिस जारी गरेको थियो।
के थियो घटना?
इन्टरपोलबाट रेड नोटिस जारी भएका मगरमाथि प्रेमिकाको आमा–बुबा हत्या गरेको आरोप छ। प्रेमिकाको आमा–बुबाको हत्या गरेपछि मगर लुकिछिपी साउदी अरब गएका थिए।
उदयपुरका मानबहादुर तामाङ र उनकी श्रीमती हर्कमाया तामाङको हत्या अभियोग मगरमाथि छ। आफुसँग प्रेम सम्बन्ध भएकी छोरीको अरुसँग विवाह गरिदिएको रिसमा उनले युवतीका आमा–बुबाको बिभत्स हत्या गरेका थिए।
सुरुमा मानबहादुरमाथि आक्रमण गरेकोमा रोक्न जाँदा हर्कमायाँको समेत हत्या गरेका थिए। घटनापछि फरार उनीविरुद्ध गत वर्ष माघमा मात्र रेड नोटिस जारी भएकोहो।
यसरी विदेशमा समेत पक्राउ गर्नुले अपराध गरेर विदेश गई लुक्न सम्भव छैन भन्ने सन्देश गएको छ। पछिल्लो समय प्रहरी प्रधान कार्यालयले अन्तरदेशीय प्रकृतिका अपराधको सहज अनुसन्धान र नियन्त्रणका लागि ६ देशमा प्रहरी सहचारी खटाउन प्रस्ताव समेत गरेको छ।
मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई)मा प्रहरी सहचारी खटाउन प्रहरी प्रधान कार्यालयद्वारा गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
खासगरी, धेरै नेपालीको बसोवास रहेको देशमा सहचारी खटाउन प्रस्ताव गरिएको हो। ती देशसँग मानव तस्करी, हुन्डीलगायतका अपराधको अनुसन्धानमा पनि सहज हुने प्रहरी अधिकारीहरूको भनाइ छ ।

