

नेपाल प्रहरीको पाँच महिना!

काठमाडौं – नाराजुलुस, प्रदर्शन वा कुनै पनि गतिविधि रोक्नुपर्ने फ्रन्टलाइनमा भने नेपाल प्रहरी खटिएकाले त्यस्ता गतिविधिको जस वा अपसज नेपाल प्रहरीले बेहोर्नुपर्ने हुन्छ। त्यसका बाबजुद पनि प्रहरी चौबिसै घण्टा ड्युटीमै खटिन्छ।
एक कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न योगदान पुर्याएकोप्रति बेला–बेला संगठनको नै प्रशंसा हुन्छ। त्यस्तै एक प्रहरी जवानले गल्ती गरेको अवस्थामा पनि संगठनको बदनाम हुन्छ। यस्तो अवस्थामा प्रहरी सजग हुनुपर्छ।
नेपाल प्रहरी प्रविधिमैत्री हुन चाहन्छ। तर, आवश्यक स्रोत साधनको बाबजुद पनि अपराध तथा अनुसन्धानमा नेपाल अब्बल साबित भएको प्रशस्त उदाहरणहरु छन्। त्यसैले आफूले गरेको कामहरुलाई प्रहरीले बेला–बेला मिडियामार्फत सार्वजनिक गरिरहेको हुन्छ।
सोहीअनुरुप गत १२ पुसमा प्रहरी प्रधान कार्यालयले पछिल्लो पाँच महिनाको कार्य प्रगती विवरण सार्वजनिक गर्यो। जसमा गृह प्रशासन सुधार कार्य योजना, २०७७ को मुख्य उपलब्धीदेखि प्रहरी कार्य योजना २०७७, अपराध नियन्त्रण तथा अनुसन्धानलगायत सबै कुरा समेटिएको छ।
सोमबार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना राखी नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा गरेको कार्य प्रगती विवरणबारे प्रष्ट्याएका थिए।
तल्लो दर्जाका कर्मचारीको मनोबल बढाउने उद्देश्य
पछिल्लो समय प्रहरी प्रधान कार्यालयले तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल बढाउने उद्देश्यले नयाँ-नयाँ कार्ययोजनाहरु समेत ल्याउने गरेको छ। संगठनभित्रै बढ्दो नैराश्यता न्यूनिकरणका लागि तल्लो दर्जाको कर्माचारीहरुको मनोबल उच्च बनाउन सोही अनुरुपको योजना ल्याउने गरेको हो।
सो क्रममा प्रहरी कार्यालय सहयोगीदेखि जुनियर प्रहरी अधिकृतसम्मको प्रहरी कर्मचारीहरुलाई सहुलियतपूर्ण घर सापटी कर्जा कार्यविधि स्वीकृत भई कार्यान्वयनमा आएको एसएसपी कुँवरले जानकारी दिए। कुँवरका अनुसार त्यस्तै राशन वृद्धिको पहल भई आ.व. २०७८/०७९ बाछ १५ प्रतिशत राशन वृद्धि गर्न नेपाल सरकारबाट निर्णय भएको छ।
यस आ.व.को मंसिरसम्म एसएसपी १, प्रहरी उपरीक्षक (एसपी) ५, प्रहरी नायब उपरीक्षक (डिएसपी) २०, प्रहरी निरीक्षक (इन्स्पेक्टर) ६२, प्रहरी नायब निरीक्षक (सई) ११६, प्रहरी सहायक निरीक्षक (असई) २५६, प्रहरी हबल्दार ६६५, प्रहरी जवान १ हजार ३८९, प्रहरी कार्यालय सहयोगी ६९ जनालाई सहुलियत ऋण प्रदान गरिएको कुँवरले बताए।
एसएसपी कुँवरले भने, ‘रापत्राङ्कित कर्मचारीको हकमा ३ लाख र राजपत्रअनङ्कित कर्मचारीहरुको हकमा २ लाख प्रतिव्यक्ति ऋण दिने नियम छ।’ २०७१ सालदेखि हालसम्म ३५ हजार ४५२ जनालाई पाँच अर्ब ६५ करोड अठार लाख ५० हजार रुपैयाँ ऋण प्रदान गरिएको कुँवरले बताए।
त्यस्ततै संगठनले २०७८ साउनदेखि हालसम्म प्रहरी कार्यालय सहयोगीदेखि जुनियर प्रहरी अधिकृत दर्जासम्मका प्रहरी कर्मचारीहरुलाई सहुलिय पूर्ण घर सापटी कर्जा योजना विकास र कार्यान्वयन अन्तर्गत हालसम्म सई ७, असई २, प्रहरी हबल्दार ९ र प्रहरी जवान २ जना गरी २० जनालाई सहुलियतपूर्ण घर सापटी कर्जा उपलब्ध गराइएको कुँवरले बताए।
‘जुनियर अफिसर्सको हकमा ७ लाख रुपैयाँ र प्रहरी जवान, प्रहरी हबल्दार, प्रहरी कार्यालय सहयोगीको हकमा ६ लाख रुपैयाँ घर कर्जा दिने प्रावधान रहेको छ। २०७५ सालदेखि हालसम्म ८५ जनाले ५ करोड ४९ लाख रुपैयाँ प्रदान गरिएको छ,’ एसएसपी कुँवर बताउँछन्।
साथै उनले गत साउनदेखि मंसिरसम्म ५ महिनाको अवधिमा मानवश्रोत व्यवस्थापनतर्फ गरिएका नयाँ नियुक्ति, सरुवा बढुवा/पदस्थापना र काज खटिएका प्रहरी कर्मचारीहरूको साथै पुरस्कार र सजायको विवरण प्रस्तुत गर्नुको साथै सो अवधिमा भएका विपद् घटना र सोबाट भएको क्षति सम्बन्धी विवरण प्रस्तुत गरेका थिए।
श्रम गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्ताव
नेपाल प्रहरीले नेपाली श्रमिकका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाएको छ। नेपाल प्रहरीले श्रम गन्तव्य देशमा रहेका नेपाली श्रमिकलाई समस्यामा परेको बेलामा सहयोग गर्न ती देशका नेपाली दूतावासमा प्रहरी सहचारी नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको हो।
एसएसपी कुँवरले नेपाली श्रमिकको संख्या धेरै रहेका देश संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, मलेसियासहित विभिन्न सात देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरेको कार्यक्रममा जानकारी दिएका थिए। हाल छिमेकी भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा मात्र प्रहरी सहचारी छन्। त्यहाँ प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी रहेको छ।
खाडीका तीन मुलुक र मलेसियाबाहेक प्रहरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस, बंगलादेश र चीनमा सहचारी राख्न प्रस्ताव गरेको बताउँदै कुँवरले भने, ‘भारतको नयाँदिल्लीमा जस्तै नेपालीका प्रमुख श्रम गन्तव्य देशमा पनि नेपालीको सुरक्षाका लागि प्रहरी सहचारीको आवश्यकता देखिएको छ। त्यसैले ती देशमा पनि प्रहरी सहचारी राख्नुपर्छ भनेर गृह मन्त्रालयमार्फत प्रस्ताव अगाडि बढाएका छौं।’
ती देशमा रहेका नेपाली श्रमिकलाई सहयोग पुर्याउने आपराधिक विषय जोडिएका व्यक्तिलाई स्थानीय प्रहरीको सहकार्यमा पक्राउ गरी स्वदेश ल्याउने उद्देश्यले प्रहरी सहचारी राख्न खोजिएको हो। त्यसो त नेपाल प्रहरीले पाँच वर्षअघि श्रम गन्तव्य देशमा प्रहरी सहचारीका लागि गरेको प्रस्ताव गृहबाट स्वीकृत भए पनि परराष्ट्र मन्त्रालयमा गएर रोकिएको थियो।
जघन्य अपराध घट्यो, बैकिङ कसुर बढ्यो
त्यस्तै पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ। बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले देखाएको हो।
प्रहरी प्रधान कार्यालयले तयार गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिना अर्थात गत साउनदेखि मंसिर महिनासम्मको पाँचमहिने अवधिमा बैंकिङ कसुरसम्बन्धी घटनामा १ सय ५ प्रतिशतले वृद्धि भएको देखाएको छ।
यसैगरी, सोही अवधिमा चोरीका घटनामासमेत ३५ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। एसएसपी कुँवरले अघिल्लो वर्ष कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण मानिसहरू घरमै बसेकाले चोरीका घटनामा कमी भएको देखिएको तर अहिले सो संख्यामा केही बढेको तथ्यांकले देखाएको बताए।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ को सुरुको पाँचमहिने अवधिमा ८ सय ८० बैंकिङ कसुरका घटना भएको देखिएको छ। तर, चालू आर्थिक वर्षको सो अवधिमा नै १८ सय ७ बैंकिङ कसुरका घटना भएको पाइएको तथ्यांक देखाउँछ। यो भनेको १ सय ५ प्रतिशत बढी हो।
यसैगरी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, हातहतियार खरखजाना, जबरजस्तीकरणी, जबरजस्तीकरणी उद्योगलगायतका जघन्य किसिमका अपराधका शीर्षकमा भने कमी आएको प्रहरीको तथ्यांकले देखाउँछ।
गृह प्रशासन कार्ययोजना, २०७७ को मुख्य उपलब्धी
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका साथै मातहतका मुद्दा चल्ने २१७ वटै प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान समूहमा कार्यरत प्रहरी कर्मचारीहरुको नामावली विवरण अद्यावधिक गरी अभिलेखीकरण गर्ने कार्यलाई मुख्य उपलब्धीको रुपमा प्रधान कार्यालयले लिएको छ।
यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रम (टोल–टोलमा प्रहरी अभियान) अन्तर्गत १९ हजार ७०१ वटा सामुदायिक कार्यक्रममार्फत १८ लाख ५२ हजार ८३० जना सर्वसाधारणलाई विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमबाट सु–सुचित गरिएको जसमा १ लाख ३९ हजार ६१० जना प्रहरी कर्मचारी परिचलालन भएको प्रधान कार्यालयले जनाएको छ।
०००
यस्तै नेपाल प्रहरीले रेड नोटिस जारी भएका व्यक्तिहरुलाई समेत यो पछिल्लो पाँच महिनाको अन्तरमा ३ जनालाई पक्राउ गर्न सफल भएको छ। सरकारी कागज किर्ते मुद्दाका प्रतिवादी, ३३ किलो सुनकाण्डका प्रतिवादी र कर्तव्य ज्यानमुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले सरकारी कागत किर्ते मुद्दाका प्रतिवादीलाई पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याएको छ। यस्तै ३३ कलिो सुनकाण्डका प्रतिवादीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। यसैगरी कर्तव्य ज्यानमुद्दाका प्रतिवादीलाई बहराइनमा पक्राउ गर्न सफल भएको हो।
सोही अवसरमा कुँवरले आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ गरी दुवै आ.व.को पाँच/पाँच महिनाको अवधिमा भएको अदालती फैसला कार्यान्वयन, पेण्डिङ् तथा फर्छ्यौट मुद्दा, राजश्व संकलन, सवारी दुर्घटना, लागूऔषध, प्रहरी कर्मचारी विरूद्धको उजुरी दर्ता तथा फर्छ्यौट, अवैध हातहतियार तथा विष्फोटक पदार्थ बरामदतर्फ, अपराध तथ्याङ्क र महिला बालबालिका सम्बन्धी अपराधको अवस्थाबारे तुलनात्मक विवरण प्रस्तुत गरे।
हेर्नुहोस् पाँच महिनाको कार्य प्रगती विवरण

