गभर्नर बन्न भनेर पदबाट राजीनामा दिएका डा गुणाकरविरुद्ध सर्वोच्चमा रिट


काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियाले फेरि विवाद निम्त्याएको छ । कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सरकारी तयारीविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट परेको छ । नियुक्ति प्रक्रिया राजनीतिक सहमतिका आधारमा अघि बढाइएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार रिट दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतले यसअघि नै ६५ वर्ष पार गरेका व्यक्तिहरूलाई गभर्नर नियुक्तिको प्रक्रियाबाट टाढा राख्न अन्तरिम आदेश जारी गरिसकेको छ । यही आदेशको सन्दर्भलाई थप सशक्त बनाउँदै भट्टविरुद्ध नयाँ रिट दर्ता गरिएको हो ।

आइतबार उक्त रिटमा सुनुवाइ तोकिएको छ ।

रिट निवेदकहरूको भनाइमा, कानुनबमोजिमको प्रक्रिया नअपनाई नेताहरूको सहमतिमा भट्टको नाम अघि सारिएको स्पष्ट गैरकानुनी अभ्यास हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार योग्य उम्मेदवार छनोटका लागि गठित समिति नै नियुक्तिका लागि जिम्मेवार हुने प्रावधान छ । तर भट्टको सम्भावित नियुक्तिमा त्यो विधि अपहेलना गरिएको दावी रिटमा गरिएको छ ।

शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. भट्टको राजीनामा अहिलेसम्म स्वीकृत भइसकेको छैन । त्यस्तो अवस्थामा उनलाई गभर्नर बनाउने प्रक्रिया नै गलत बाटोबाट अघि बढाइएको भन्दै कानुनी हस्तक्षेपको माग गरिएको हो ।

 

 

प्रतिक्रिया