‘सातामा तीन दिन डायालिसिस, दुइटै मिर्गौला फेल भए पनि खर्च जुटाउन काम’


काठमाडाैं – उनी सातामा तीन दिन मिर्गौलाको डायालिसिस गराउँछन् र डायालिसिस गराएकै दिन पनि काममा जान्छन्। गाडी चलाउने उनका छोराले मासिक १८,००० रुपैयाँ कमाउँछन्।

तर काठमाडाैंमा परिवारले कोठाभाडा तिर्न मासिक १०,००० रुपैयाँ छुट्याउनु पर्छ। उनी आफ्ना लागि औषधि किन्न मासिक ५,००० रुपैयाँजति चाहिने बताउँछन्। अर्कोतिर उनकी श्रीमती पनि दीर्घरोगबाट पीडित छिन्।

१२ पटक मूत्राशयको शल्यक्रिया

हुन त आरोहअवरोह सबैको जिन्दगीमा हुन्छ। तर ६१ वर्षीय कृष्णबहादुर खड्गीलाई आफूले जीवनमा आरोहभन्दा अवरोह नै धेरै देखेका छन्। डकर्मी काम गर्ने उनको जीवनमा अवरोहको आरम्भ झन्डै २१ वर्षअघि भयो। त्यतिखेर चिकित्सकले उनको मूत्राशय फुटेको पत्ता लगाएका थिए।

‘मेरो पिसाबघर [मूत्राशय] नै फुटेको रहेछ। बाह्र पटक अपरेशन भयो अनि बल्लतल्ल निको भयो,’ बीबीसीसँग उनले मसिनो स्वरमा भने। ‘तर एउटा मिर्गौला नै गयो। सुरुमा डाक्टरले एउटा मिर्गौला झिक्नुपर्ला कि भने, तर पछि अपरेशन धेरै भयो अब नपर्ला कि भनेर सुझाए,’ उनले भने।

मिर्गौला प्रत्यारोपण गर्ने आर्थिक क्षमता नभएका खड्गीले पनि त्यसबारे सोधखोज गर्न चाहेनन्। त्यतिबेला दुई छोरी र एक छोराको पढाइ खर्च पनि बेहोर्नुपर्ने अभिभारा उनकै काँधमा थियो।

छोराछोरी आफूजस्तै लेखपढ गर्न नजान्ने नहोऊन् भन्ने उनको इच्छा थियो। तर ललितपुरस्थित पाटन अस्पतालमा दुई वर्षसम्म उपचार गराउँदा खर्च जुटाउनका लागि गोदावरीनजिक आफ्नो श्रीसम्पत्तिको रूपमा रहेको डेढ रोपनीजति खेत र घर पनि उनले बेच्नुपर्‍यो।

गरिबीका कारण पढ्न नपाएका कृष्णबहादुर खड्गीका दुःखका दिन त्यहीँ सकिएनन्। एउटा मिर्गौलाले काम गर्न छोडेको एक दशकपछि अर्कोले पनि काम नलाग्ने भयो।

११ वर्षदेखि डायालिसिस

एकपछि अर्को वज्रपात खेपेका कृष्णबहादुर खड्गी खान, बस्नलाई कम खर्च लाग्ला भन्ने सोचेर ११ वर्षअघि तराई झरे। जायजेथा बेची उपचार गराएपछि बाँकी रहेको केही रकमले बर्दिवासनजिक जग्गा किनेर उनले सानो छाप्रो बनाए। उनको परिवार त्यहीँ बस्न थाल्यो।

‘जिन्दगी सोचेजस्तो कहाँ हुन्छ र?’ उनी भन्छन्, ‘मिर्गौलाको उपचारमा सजिलो हुन्छ भनेर हामी फेरि काठमाडाैं फर्कियौँ।’ त्यसपछि काठमाडाैंमा कृष्णबहादुर खड्गीको जीवनमा अर्को चरणको सङ्घर्ष सुरु भयो।

आर्थिक रूपमा केही हदसम्म सघाउँदै आएका उनका दुई छोरी बिहे गरेर गए। उनले डायालिसिस गराउँदै आएको पाटन अस्पताल प्रशासनले ‘आकस्मिकबाहेक अरू बिरामीलाई डायालिसिस गर्न निरन्तरता दिन नसकिने’ जानकारी गरायो।

‘अब अर्को ठाउँमा सीट खोज्नूस्, यहाँ इमर्जेन्सीलाई मात्रै राख्ने भनेर अस्पतालले मलाई भन्यो। त्यसपछि अल्का अस्पतालमा ११ वर्षदेखि डायालिसिस गराउँदै आएको छु,’ खड्गीले भने।

‘किड्नी त फेरेकै छैन नि। आफ्नो हैसियतले भ्याउने कुरा पनि भएन।’ पहिला हप्तामा दुई दिन डायालिसिस गराउँदै आएकोमा अहिले उनले तीन दिन डायालिसिस गराउनुपर्छ। त्यसका लागि उनी आइतवार, मङ्गलवार र बिहीवार अस्पताल धाउँछन्।

हुन त अहिले विपन्न बिरामीको मिर्गौलाको डायालिसिस गराए बापतको खर्च सरकारले बेहोर्छ। तर औषधि लगायतमा हुने खर्च भने बिरामी आफैँले तिर्नुपर्छ।

तर सरकारले २०७५ सालदेखि नियमित रूपमा डायलिसिस सेवा नि:शुल्क गरेपछि उनलाई उपचारमा निकै राहत मिलेको छ।सरकारले मिर्गौलाका बिरामीहरूलाई दिएको उक्त सुविधाप्रति उनी कृतज्ञता व्यक्त गर्छन्।

‘काम गर्न गाह्रो हुन थाल्यो’

‘महिनामा मैले ५,००० रुपैयाँको औषधि खानुपर्छ। दुइटै किड्नी फेल भए पनि खर्च जुटाउनका लागि म काम गर्छु,’ खड्गीले दुखेसो गरे। उमेर ढल्दै गएपछि डायालिसिस गराएर हरेक दिन काम गर्न गाह्रो हुन थालेसँगै उनी पहिलाको जति अहिले काम गर्न सक्दैनन्।

डायालिसिस गराएपछि कति वर्षसम्म त साइकल चढेरै काममा गएको उनी बताउँछन्। ‘पोहोरसम्म त राम्रै काम गर्न सक्थेँ, डायालिसिस गराएकै दिन पनि काममा जान्थेँ। अहिले त धेरै गाह्रो हुन थाल्यो। जीउ दुख्ने, हातखुट्टा दुख्ने हुन्छ,’ काम गर्नुपर्दा खेप्नुपरेको पीडा उनले सुनाए।

त्यसमाथि हिजोआज काम पनि खासै नपाइने गरेको खड्गी बताउँछन्। ‘काम पनि छैन नि। चिनेजानेकाले आपत्‌ परेको बेला एक-दुई दिनलाई डाक्छन्, त्यही हो।’  कहीँ कतैबाट सहयोग भइदिए पनि हुन्थ्यो भन्ने कृष्णबहादुर खड्गीलाई लाग्छ।

‘डायालिसिस मात्रै फ्री हो, अरू खर्च त आफ्नै लाग्छ। एक पटक डायालिसिस गराउँदा औषधि लगायतमा ५,००० देखि ७,००० रुपैयाँसम्म आफ्नै खर्च हुन्छ,’ उनले दुखेसो गरे।

सरकारले के गर्छ ?

सरकारले आर्थिक रूपमा विपन्न नागरिकलाई क्यान्सर, मिर्गौलासम्बन्धी रोग, अल्जाइमर्सलगायत आठ प्रकारका कडा खालका रोगको उपचारका लागि एक लाख रुपैयाँसम्मको सहयोग गर्दै आएको छ।

ती रोगको उपचार गराउन मिल्नेगरी सरकारले देशभरिका विभिन्न अस्पताललाई सूचीकृत गरेको छ। मिर्गौला रोगीहरूलाई फरकफरक तरिकाले निःशुल्क उपचार प्याकेजमा समेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन्।

‘एक लाख रुपैयाँ सहयोग पाइने कडा खालका आठ प्रकारका रोगमा मिर्गौलाको उपचार पनि समेटिएको छ। बीमाको प्याकेजभित्र पनि यसको उपचार समेटिएको छ,’ उनले बीबीसीसँग भने। ‘तोकिएका अस्पतालहरूमा मिर्गौलाको डायालिसिस पनि निःशुल्क गरिँदै आएको छ।’

काठमाण्डूको वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्र, नेपालका उपप्रशासकीय निर्देशक विमल बरालका अनुसार त्यहाँ अहिले ९०० बिरामीको डायालिसिस हुँदै आएको छ।

‘तीमध्ये दैनिक २५० जनालाई हामीले डायालिसिस सेवा दिँदै आएका छौँ,’ बीबीसीसँग उनले भने। नेपालमा पछिल्लो समय मिर्गौलासम्बन्धी समस्या देखिएका बिरामीको सङ्ख्या बढ्न थालेको अधिकारीहरू बताउँछन्। बीबीसी

प्रतिक्रिया