कांग्रेस एउटा राजनीतिक दल मात्र नभई अभिभावक पनि होः गगन थापा
काठमाडौं – नेपाली कांग्रेस युवा नेता गगन थापाले कांग्रेस एउटा राजनीतिक दल मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको अभिभावक भएकाले कोही कतै बिग्रिएमा त्यसलाई सही ठाउँमा ल्याउने जिम्मेवारी पनि कांग्रेसको रहेको बताएका छन्।
हेटौँडामा आयोजित काँग्रेसको प्रदेश अधिवेशनमा प्रदेश सभापतिका उम्मेदवार जगदीश्वर नरसिंह केसीको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बाह््य शक्तिहरूसँग लड्नुपर्ने कांग्रेसले आफ्नो अधिवेशनबाट सशक्त बनेर जानुपर्ने धारणा व्यक्त गरे।
कांग्रेस भित्रकै कुरा हो भनेर सामान्य ढङ्गले सोच्दा नेतृत्व कमजोर हुने भएकाले त्यसका लागि कांग्रेसले आफ्नो अधिवेशनहरू सशक्त रूपमा सम्पन्न गर्नुपर्ने उनले बताए।
‘चुनाव जित्ने, जित्नु पर्नेछ। चैतमा चुनाव हुन्छ, मैले मात्र भनेको हैन। मेरो पार्टीको सभापतिले विराटनगरमा भन्नुभएको थियो– यो अधिवेशनबाट जनताको मन जित्ने सक्ने नेतृत्वलाई मात्र चुन्नु होला है भनेर। हामीले आफ्नो पार्टीको सभापतिले भनेको मान्नु पर्नेछ। जनताको मन जित्न सक्ने पार्टी नेतृत्व चुन्नु पर्नेछ।
किनकि हामी कांग्रेस÷कांग्रेस मात्र भएर हाम्रो सङ्ख्या पुग्दैन। हामीसँग ९ लाख क्रियाशील कार्यकर्ता। ३० लाख मतदाता छन्। हामीले कांग्रेसलाई पहिलो नै पार्टी बनाउनका लागि कम्तीमा पनि ४५ लाख मत चाहिन्छ। १५ लाख मत छैन।
कांग्रेसभन्दा बाहिरका मानिसले फलानो ठिक भनेर हामी कहाँ आए मात्र हाम्रो मत बढ्छ अनि पार्टी ठुलो हुन्छ। त्यसका लागि पार्टीमा तन्नेरीहरू भित्र्याउनु पर्नेछ। हामीले कहिल्यै मत नहालेकालाई पनि कांग्रेस बनाउनु पर्नेछ,’ उनले भने।
यस्तै नेकपा एमालेले पार्टी भित्रको लोकतन्त्र र जनवादलाई नारायणी नदी किनारमा तर्पण गरेर काठमाडौँ फर्किएको थापाको टिप्पणी छ।
एमालेले केही दिन अघि चितवनको नारायणी नदी किनारमा गरेको महाधिवेशनमा पार्टीको लोकतन्त्र जनवादलाई तर्पण दिएर काठमाडौँ फर्किएको र पञ्चायतको भूत जगाएर काठमाडौँ फर्किएको थापाले बताएका हुन्।
एमालेसँग निरन्तर संगत र सहकार्य गर्ने भएकाले एमाले आफ्नो शत्रु नभई सहयात्री र साथी भएको बताउँदै थापाले एमालेका राम्रा कुरा मात्र सिक्न र नराम्रा कुरा फाल्नका लागि पनि एमालेभित्र के भइरहेको छ भन्ने बारे काँग्रेसले चासो राख्नु पर्ने बताए।
एमाले भित्रको सल्किएको निरंकुशताको आगोले भीम रावलहरू मात्र नभई देशैभर फैलनेवाला भएकाले त्यसलाई रोक्न कांग्रेसले आफ्नो महाधिवेशनपछि एमालेसँग संगत र सङ्घर्ष गर्नुपर्ने उनले बताए।
त्यस्तै थापाले जनताको शक्तिको ताकतबाट विश्राम लिन्छु भनेर गएका महाराजलाई जबरजस्ती फर्काउँछु भनेर उद्घोष गरेर काठमाडौँको भृकुटीमण्डपमा अर्को पार्टीको महाधिवेशन चलिरहेकाले त्यससँग पनि कांग्रेसले सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताए।
उनले माओवादी केन्द्रलाई लक्षित गर्दै भने, ‘अर्को एउटा पुनः उत्थानवादी शक्ति मैदानमा आउँछ र त्यसले पनि कुनै न कुनै वितण्डा मच्याउने भएकाले त्यससँग पनि जुध्ने ताकत नेपाली कांग्रेसले राख्नुपर्छ।’