‘एमसीसी पास भए पास, फेल भए फेल होस्, कति दिन छलफल गर्नुपर्छ गरौं’


काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले एमसीसीबारे अन्तिम निर्णय गर्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले एमसीसीलाई संसद्‍मा टेबल नगराउन माओवादी केन्द्रका नेताहरूको भूमिकाप्रति आपत्ति जनाउँदै उनले अब यो एउटै विषयमा अल्झिन नहुने बताए ।

उनले एमसीसी परियोजनामा नेपाल माधवकुमार नेपाल नेतृत्वको तत्कालीन सरकारको पालामा सूचीवद्ध हुन प्रतिवद्धता जाहेर गरेको जानकारी दिँदै त्यसपछिका सबै सरकारको पालामा यसबारे केही न केही काम अघि बढेको बताए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा एमसीसी परियोजना स्वीकृत गरिएको र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यसलाई अघि बढाइएको उल्लेख गर्दै थापाले त्यसपछि बल्ल यो सम्झौताका केही बुँदा संशोधन गर्नुपर्छ भन्ने कुरा आएको जनाए ।

तर, उक्त सम्झौता नेपालले मात्र चाहेर संशोधन नहुने अवस्था रहेकाले यसका लागि विवादित भनिएका केही बुँदामा स्पष्टिकरण सोधिएको पनि उनले प्रस्ट पारे । उक्त स्पष्टिकरण र अमेरिकी जवाफसहितलाई संसदमा ल्याएर छलफल गर्न सरकार तयार रहेको उनले बताए ।

एमसीसीलाई अब धेरै समय अल्झाएर राख्न नहुने उल्लेख गर्दै थापाले भने, ‘पास भए पास, फेल भए फेल होस्, कति दिन छलफल गर्नुपर्छ, गरौं । यही कुरा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई समेत भन्नुभएको छ ।’

प्रधानमन्त्री देउवाले यो विषयमा आफ्नो पोजिसन क्लियर गरिदिनुस् भनेर एमाले अध्यक्ष ओलीलाई भनेको तर आफ्नै नेतृत्वको सरकारले प्रक्रिया अघि बढाउने निर्णय गरेको अवस्थामा समेत ओलीले अहिले मौनता साँधेर बसेकोमा आफूहरुलाई आश्चर्य लागेको थापाले बताए । थापाले एमसीसीकै कारण गठबन्धन भत्किनुपर्ने कारण नरहेको पनि प्रस्ट पारे ।

प्रतिक्रिया