निर्वाचन मिति घोषणासँगै स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छः कांग्रेस महामन्त्री थापा


काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं महामन्त्री गगन थापाले सरकारको निर्वाचन मिति घोषणासँगै स्थानीय तह खाली हुन्छ कि भन्ने आशंका हटेको बताएका छन् ।

महामन्त्री  थापाले सामाजिक सञ्जालमार्फत आगामी वैशाख ३० गते संविधानको मर्मअनुरुप नै सरकारले स्थानीय तहको निर्वाचन गर्ने निर्णयले स्थानीय तह रिक्त हुन्छ कि भन्ने शंका हटेको बताएका हुन् ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ। स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ। अनि निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएका छन्’, महामन्त्री थापाले मंगलबार बिहान भनेका छन्, ‘सबैले सदैव हेक्का राख्नु पर्दछ— संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।’

सरकारले आगामी वैशाख ३० गते एकै पटक गर्ने गरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँगको परामर्श पछि मन्त्रीपरिषद्ले निर्वाचन मिति तोकेको हो ।

यसअघि देशभर ७५३ स्थानीय तह बनेसँगै २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।

प्रतिक्रिया