

एन्फाले पायाे ‘ए’ डिभिजन लिगको मुख्य प्रायाेजक, एक लाख ५० हजार डलर दिने

काठमाडाैं – मङ्सिर ३ गतेदेखि सुरु हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मुख्य प्रायोजन कतार एअरवेजले गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौतामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एअरवेजका नेपाल प्रमुख मोहम्मद इल इमानले आज हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कतार एअरवेजले ‘ए’ डिभिजन लिग सञ्चालनका लागि एन्फालाई एक लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ । सम्झौतापछि एन्फाका अध्यक्ष शेर्पाले कतार एअरवेजसँग सम्झौता नवीकरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए । यस्तै कतार एअरवेजका नेपाल प्रमुख इमानले नेपाली फुटबलको विकासका लागि कतारले सधै सकारात्मक सहयोग गर्ने बताए ।
लिगमा विभिन्न १४ टोली सहभागी छन् । त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगिताको खेलका लागि साधारणतर्फ टिकट दर एक सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यस पटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेशनमा पर्नेछन् । लिग विजेता टोलीले ७५ लाख र उपविजेताले ५० लाख रुपैयाँ पाउनेछन् ।

