‘ए’ डिभिजन लिग : आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी


काठमाडाैं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधवार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा सकिएकाे छ । सातदोबाटोकाे एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा आर्मी र हिमालयन शेर्पाले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।

खेलको २६ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५ औँ मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।

यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोलकिपर विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । हिमालयन शेर्पाका खेलाडी सुरेश कुमाललाई पेनाल्टी क्षेत्रबाहिर आएर फउल गरेपछि रेफ्री नवीन्द्र मर्हजनले विकेशलाई रातो कार्ड दिएका थिए ।

आजकाे बराबरीसँगै आर्मीले ११ खेलमा १९ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा यथावत् छ । त्यस्तै समान खेलमा हिमालयन शेर्पाको १२ अङ्क भएको छ । हिमालयन शेर्पा अङ्क तालिकाको आठौँ स्थानमा छ ।

प्रतिक्रिया