एमाले पोखरा महानगरका अध्यक्षमा न्यौपाने सर्वसम्मतले चयन


कास्की – नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगरपालिका कमिटीको अध्यक्ष पदमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । यही कात्तिक ९ गते सुरु प्रथम महानगर अधिवेशनमा नेतृत्वका आकाङ्क्षीबिच सहमति नजुट्दा अधिवेशन लम्बिएकामा हिजो (बिहीबार) साँझ अन्य चार उम्मेदवारले मनोनयन फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

अध्यक्षका लागि न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । यसै गरी महानगर कमिटीको उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा जीवन आचार्य र उपसचिव द्वयमा रामचन्द्र थापा र हरिमाया गुरुङ सर्वसम्मत भएको एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिए ।

महिला खस आर्य, जनजाति, दलित अल्पसङ्ख्यक, अपाङ्ग, श्रमिक, खुला सदस्य र भूगोलतर्फ सर्वसम्मत चयन गरिएको छ । नवनिर्वाचित अध्यक्षलगायतका पदाधिकारी तथा सदस्यलाई बिहीबार राति नै शपथ ग्रहण तथा निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो । पाँच पालिका रहेको जिल्लामा मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

मादीमा बालकृष्ण गुरुङ,अन्नपूर्णमा विवेक देवकोटा र रुपामा सवाबक्स मियाँ पालिका कमिटीको अध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् । माछापुच्छ्रे गाउँपालिकामा भने अध्यक्षका प्रत्याशीका बिचमा सहमति नजुट्दा अधिवेशन को निर्वाचन प्रक्रिया स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । माछापुच्छ्रेमा विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया