यसरी उद्धार कार्यमा खटिन्छ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (भिडियोसहित)


काठमाडौं – प्राकृतिक प्रकोपको कुनै समय र सीमा हुँदैन तापनि समय–समयमा आउने भुइँचालो, बाढीपहिरो र आँधीबेहेरी जस्ता प्रकोपहरूबाट बर्षेनी थुप्रैको संख्यामा जनधनको क्षति भएका र लाखौंको संख्यामा घरबारबीहिन र घाइते भएका घटनाहरू घटि नै रहेका छन्।

जहाँ प्राकृतिक प्रकोपको कारण जनताले सास्ती पाएका हुन्छन्, आवश्यक स्रोत र साधन जुटाई प्राकृतिक प्रकोपमा परेकाहरूलाई समयमै उद्घारको लागि उक्त स्थानमा पुगिहाल्छ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारको टोली।

धादिङको इच्छाकामना गाउँपालिका–४ मा अवस्थित छ विपद् व्यवस्थापन तालिम शिक्षालय। भूकम्पको समयमा होस्, नदीमा हराएको मान्छे खोज्ने काम मात्र नभएर बाढीपहिरो र आँधीबेहेरीको समयमा पनि सशस्त्र प्रहरीको टोली ‘स्ट्यान्डबाई’ खटिँदै आइरहेको छ।

०७२ सालमा गएको भूकम्पको समयमा सशस्त्र प्रहरीका गरेको कामको प्रशंसा अहिले पनि हुने गर्छ। जतिबेला टोलीले काठमाडौं आएर दिनरात नभनी समस्यामा परेका व्यक्तिहरुको उद्धारकार्य र पीडितहरुको घाउमा मल्हम लगाउने काम गरेको थियो।

हाल तालिम शिक्षालयका निमित्त प्रमुख छन् सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुशील सुवेदी। पछिल्लो समय एसपी सुवेदीको कमाण्डमा टोलीले थुप्रै कामहरु गरिरहेको छ। जस्तोसुकै कठिन परिस्थितिमा पनि टोली परिचालन हुने एसपी सुवेदी बताउँछन्।

वर्षेनी हजारौंको ज्यान बचाइरहेको विपद् व्यवस्थापन तालिम शिक्षालयले समस्यामा परेकाहरुको हालसम्म ७१३ जनाको सकुशल उद्दार गरेको छ। त्यस्तै हराइरहेका २९७ जनाको शव फेला पारेर सम्बन्धित मृतकको आफन्त तथा परिवारलाई बुझाएको सशस्त्र प्रहरी मुख्यालयको तथ्याकंमा उल्लेख छ।

शिक्षालयमा नदीमा डुबेका मान्छेहरुको उद्धार तथा हराइरहेका व्यक्तिको खोजी गर्ने छुट्टै टोली छ। जसलाई गोताखोर भनिन्छ। गोताखोर टोली नदीमा डुबेर हराइरहेका मान्छेहरुको शव खोज्नेदेखि भूकम्पमा परी समस्यामा रहेका मान्छेहरुको उद्दारकार्यमा खटिन्छ।

कोरोना महामारीको समयमा समेत गोताखोर टोलीले गरेको कामहरु प्रशंसायोग्य रहेको छ। हराइरहेका मान्छेहरु खोज्ने क्रममा बेलाबेला नसोचेको सफलता समेत हासिल गरेको छ।

जस्तो केही उदाहरणः–

कोरोनाको समय थियो। (२९ चैत २०७६) जतिबेला चितवन नारायणी नदीमा १८ वर्षका सुनिल लामा हराएको सूचना कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयमा पुग्यो। त्यसपछि कुरिनटारबाट टोली खटियो। दुई दिनसम्म लगाएर खोज्यो। केही पनि पत्ता लगाउन सकेन।

लामाको अवस्थाबारे केही पत्ता नलागेपछि कुरिनटार फर्किने तयारीमा थियो टोली। अन्तिम दिन अर्थात फर्किन लाग्दै गर्दा टोलीले लामाको शव फेला पार्यो। जबकी लामाको शव त्यतिसहजै फेला पर्छ भन्नेमा टोलीहरु आफैं ढुक्क थिएनन्। ४० फिट गहिराईबाट लामाको शव निकाल्यो।

डिप डाइभिङमार्फत लामाको शव फेला परेको एसपी सुवेदीले बताए। त्यस्तै २१ जेठ २०७७ मा लमजुङ सुन्दरबजार नगरपालिका–८ अकलापुरकी ६५ वर्षीया पार्वती राउतको शव पनि गोताखोर टोलीले मर्स्याङ्दी नदीबाट निकालेको एसपी सुवेदी बताउँछन्।

त्यतिमात्र होइन, पृथ्वीराजमार्गमा दिनहुँ सवारी दुर्घटना भइरहन्छ। कोहीबेला भयानक हुन्छ भने कोहीबेला सामान्य। १ असार २०७७ मा तनहुँ आबुखैरेनी गाउँपालिका–२ ऐना पृथ्वीराजमार्गमा ट्रक दुर्घटना हुँदा नदीमा खस्यो। दुर्घटनामा अन्दाजी वर्ष ३३ का २० वर्षीय सुर्यबहादुर बुढाथोकी घाइते भए। पानीमा डुबे।

पानीमा डुबेका बुढाथोकीलाई तत्कालै घटनास्थल पुगेको गोताखोर टोलीले जीवीतै उद्दार गर्न सफल भयो।

भूकम्पको समयमा उद्दारकार्यमा कसरी खटिन्छ सशस्त्र प्रहरी?

डेमोमाफर्त देखाइएको यो भिडियो मिति २०७८ असोज ३ गतेको हो। जतिबेला अपरान्हको ५ बजेको थियो। घटनास्थल थियो सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार। भूकम्पमा परी घरभित्र च्यापिएको अवस्थामा रहेका मान्छेको कसरी उद्धार गर्ने डेमोमा देखाइएको छ।

काठमाडौंबाट गएका सुरक्षा अपराध बिटमा कलम चलाउने पत्रकारहरुलाई ‘डेमो’ देखाउने तयारी थियो। सशस्त्र प्रहरीका कर्मचारीहरु सोहीअनुरुप घटनास्थलमा पुगेर आ–आफ्नो तयारीमा ‘स्ट्यान्बाई’ थिए। उनीहरुले देखाउने डेमो हेर्न पत्रकारहरुसँगै सिनियर सशस्त्र प्रहरी अधिकारीको पनि उपस्थिति थियो।

डेमो भूकम्प गएको समयमा सशस्त्र प्रहरी बल, नेपाल उद्धार कार्यमा कसरी परिचालन हुन्छ? शीर्षकमा देखाउन लागिएको थियो। सोहीअनुरुपको संरचना बनाइएको थियो। जब माथिबाट आदेश आयो– अनि सुरु भयो डेमो। एक्कासी हावाहुरीसँगै भूकम्प गयो। घरहरु भत्किए। मान्छेहरु घाइते भए।

भूकम्प गएको खबर सशस्त्र प्रहरीलाई पुग्छ। त्यसपछि चिकित्सकसहितको टोली घटनास्थलमा पुगेर घटनास्थललाई आफ्नो नियन्त्रणमा लिन्छ। चारैतिरबाट घेरा हालेर अनि सुरु गर्छ उद्दारकार्य। भूकम्पमा हराएका मानिसहरुको खोजतलास गर्नेदेखि घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाउनेसम्मको काम देखाइन्छ।

डेमोमा भूकम्प गएपछि घर भत्किएर घरभित्रै च्यापिएको अवस्थामा रहेका मानिसहरुलाई कसरी उद्धार गर्ने? जस्ता क्रियाकलाहरु पनि समावेश थियो। त्यस्तोबेला कुकुर नै झिकाएर सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको टोलीले घरको भित्ता काटेर भित्र पसी च्यापिएको व्यक्तिको उद्दार गरेको थियो।

उद्दारलगत्तै घाइतेलाई आफ्नै एम्बुलेन्समा राखेर अस्पतालसम्म लगिएको थियो। अस्पताल लैजानुअघि घाइतेलाई गर्ने सामान्य औषधीउपचारबारे समेत देखाइएको थियो। सीतिम स्रोतसाधनमा एउटा कमाण्डरको निर्देशनमा रहेर घाइतेहरुको उद्दार गर्नु चानचुने कुरा होइन।

हेर्नुहोस् भिडियो: 

 विपद् व्यवस्थापन तालिम शिक्षालयको परिचय

हाल शिक्षालय रहेको भवन पृथ्वीराजमार्गको सर्वे तथा निर्माण गर्ने क्रममा तत्कालिन ब्रिटिस प्रोजेक्टको आवास भवनको रुपमा निर्माण भएको थियो। उक्त भवनलाई पछिमात्र २०५८ मंसिर १८ गते सशस्त्र प्रहरी बल बेश क्याम्पको रुपमा स्थापना गरिएको बताइन्छ।

त्यस्तै २०५८ माघ १८ गते सडक विभागबाट उक्त भवनहरु सशस्त्र प्रहरी बललाई हस्तान्तरण भएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता तथा नायब महानिरीक्षक (डिआईजी) राजु अर्यालले बताए। त्यसको ३ महिनापछि अर्थात २०५९ वैशाख २४ गते सशस्त्र प्रहरी बल, कालिन्चोक भगवती गणको नाममा नामकरण गरिएको थियो।

त्यसपछि २०६० भदौ १३ गते कालिन्चोक भगवती गण कीर्तिपुरमा स्थान्तरण पश्चात वेश क्याम्पको रुपमा कार्य सञ्चालन भयो। वेश क्याम्प रहेकै अवस्थामा २०६७ वैशाख १९ गतेदेखि विपद् व्यवस्थापन सम्बन्धी तालिम पहिलोपटक सञ्चालन गरिएको सशस्त्र प्रहरी बल, नेपालका डिआईजी अर्यालले बताए।

डिआईजी अर्यालका अनुसार २०६८ मंसिर २२ गते नेपाल सरकारको निर्णयले विपद् व्यवस्थापन तालिम केन्द्रको रुपमा स्थापना भएको हो। त्यसपछि गृह मन्त्रालयको २०७५ जेठ २७ को निर्णयले असार १५ गतेदेखि लागू हुनेगरी पुनरसंरचना भई सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको रुपमा नामाकरण गरिएको हो।

हाल ८ बिगाहा, ४ कठ्ठा, १६.५ धुरमा अवस्थित छ शिक्षालय। यस शिक्षालयलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण संस्थाको रुमा स्तोरन्नती गरी सेन्टर एक्स्लेन्सको रुपमा विकास गर्ने लक्ष्य रहेको डिआईजी अर्याल बताउँछन्।

५ वटा तालिमप्राप्त कुकुर

शिक्षालयमा तालिम प्राप्त कुकुर समेत छ। एसपी सुवेदीका अनुसार शिक्षालयमा सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ वटा तालिम प्राप्त कुकुरहरु रहेका छन्। जसमध्ये २ वटा सर्च एण्ड रेस्क्यूको लागि परिचालन गर्ने कुकुर रहेका छन्।

त्यस्तै आर्मस एण्ड एक्सपोलिसिभ कुकुर १ वटा, डर्गस डेटिकेसशन कुकुर १ वटा र ट्याकर डग १ वटा रहेको शिक्षालयले जनाएको छ। उक्त कुकुरहरु समयाअनुसार विपद परेको स्थानहरुमा परिचालने हुनेछ।

यसैगरी शिक्षालयमा ठूला–ठूला सवारी साधन तथा हेभी इक्यूप्मेन्ट समेत रहेको छ।

समस्या र चुनौती

सशस्त्र प्रहरी बल, नेपालमा ३६ जना तालिमप्राप्त गोताखोर टोली रहेको छ। बंगलादेशमा तालिम प्राप्त गरेका २५ जना विदेशी तालिम र सि.संस १ गोताखोर तालिम लिएका १९ जना नं. १ बाहिनी मु. पकली अर्थात गोताखोरको टोली रहेको छ। जसमध्ये ८ जनाले जागिर छाडेका छन्।

शिक्षालयमा भौतिक पुर्वाधार र उद्धार कार्यमा प्रयोग हुने आधुनिक उपकरण तथा स्रोत साधनहरु पर्याप्त छैन्। आधुनिक उपकरणको अभावमा गरिने उद्दार कार्यले जोखिम बढ्ने हुँदाहुँदै पनि यस विषयमा न सरकारले केही योजना ल्याएको छ न सशस्त्र मुख्यालयले नै।

शीघ्र परिचालनको लाग आवश्यक उद्धार सामग्रीहरु जडित डेडिकेटेड डिजास्टर रेस्क्यू भेकिहल मुख्यतः आवश्यक देखिन्छ,’ शिक्षालयमा कार्यरत एक सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले भने। यस्तै विभिन्न घटनाका घाइतेहरुको लागि अस्पतालसम्म पुर्याउनको लागि एम्बुलेन्स समेत आवश्यक रहेको ती इन्स्पेक्टरले बताए।

त्यतिमात्र होइन, शिक्षालयमा आगलागी नियन्त्रणको लागि सम्बन्धी आधारभूत तथा उन्नत तालिमहरु सञ्चालन गर्न तथा उद्दार कार्यमा दमकलको अभाव समेत रहेको छ। देशको हरेक कुनाकुनामा पुग्ने गोताखोरको टोलीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने जिम्मा सशस्त्र प्रहरी मुख्यालयको हो।

सीमित स्रोत र साधनका बाबजुद सशस्त्र प्रहरी दैवी प्रकोप नियन्त्रणमा खटिएर जनधनबाट बचाउने कार्य गर्नु महत्वपूर्ण हो। प्राकृतिक प्रकोप आफैंमा समस्या र समाधान हुन सक्दैन। यिनको प्रकृति र स्वरूपअनुसार पूर्वतयारी गरिनुपर्छ र घटना घटिहाल्यो भने नियन्त्रण, उद्धार र राहतका लागि सकेसम्म हल गर्नाका लागि पहल गरिनुपर्छ।

प्रतिक्रिया