सचेतना जगाउँदै वन कार्यालय


दमौली–मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले सचेतनामूलक कार्यक्रमलाई जोड दिएको छ । चितुवाको बढी आतङ्क रहेको जिल्लामा कार्यालयले मानव र वन्यजन्तुबीच हुने द्वन्द्व व्यवस्थापनका लागि सामुदायिक वन उपभोक्तालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

मानवको जति अधिकार छ त्यति नै अधिकार वन्यजन्तुको पनि हुने भएकाले वन्यजन्तुलाई जोगाउँदै मानव पनि बाँच्नुको विकल्प नभएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । ‘जिल्लामा पछिल्लो समय चितुवाको बढी आतङ्क छ, चितुवाबाट बच्ने उपायबारे उपभोक्तालाई जानकारी गराएका छौँ,’ उनले भने, ‘चितुवा नष्ट गर्ने होइन, यसबाट बच्ने र बचाउने हो ।’

कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहका सामुदायिक वन उपभोक्तालाई यस विषयमा जानकारी गराउन सचेतनामूलक कार्यक्रमलाई अगाडि सारेको छ । कार्यालय प्रमुखका काफ्लेका अनुसार भानु, शुक्लागण्डकी, व्यास नगरपालिका, ऋषिङ, बन्दीपुर, आँबुखैरेनी, देवघाट गाउँपालिका का १२ ठाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । थप तीन ठाउँमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । ‘मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वन उपभोक्ताको महत्वपूर्ण भूमिका हुन्छ’, उनले भने, ‘सोहीबमोजिम सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका हाँै ।’

‘वातावरणमा मांसाहारी जनावर हुन्छन् त्यो वातावरण स्वच्छ हुन्छ भन्ने बुझिन्छ, त्यसलै मानव र वन्यजन्तुबीच द्वन्द्व उत्पन्न हुने खालका क्रियाकलाप मानिसले गर्नुहुँदैन’, उनले भने ।

जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको बताइएको छ । ‘जिल्लामा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्नसक्ने समयलगायतका विषयमा उपभोक्तालाई जानकारी गराएका छौँ’ कार्यालय प्रमुख काफ्लेले भने ‘चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।’

उनले चितुवाको आक्रमणबाट बच्नका लागि जङ्गलमा एक्लै नजान र घाँस काट्न जाँदा पनि विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । ‘चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै हो, तर जीवजन्तु मानिसले खाइदिन थाले, चितुवाले जङ्गलमा खाना पाउँदैन अनि बस्ती छेउ आएर गाईभैँसी, बाख्रा हुँदै मानिसलाई पनि आक्रमण गर्न थालेको छ’, उनले भने, ‘चितुवालाई बाँच्ने अवस्था सिर्जना मानवले गरिदिनुपर्छ ।’

चितुवाबाट बच्नका लागि घरगोठ उज्ज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्नेलगायतका विषयलाई ध्यान दिनुपर्ने कुरा उपभोक्तालाई सचेत गराइएको छ । जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । ‘वनजङ्गलमा भएका पानीका स्रोत मासिँदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ’, उनले भने, ‘यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।’

कार्यालय प्रमुख काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानवमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । ‘जङ्गली जनावर चर्नका लागि घाँसे मैदान छैन, जङ्गलमा जीवजन्तु नभएपछि चितुवाले आहारा पाउँदैन’, उनले भने, ‘सामुदायिक वनले त्यस्तो कार्यमा विशेष ध्यान दिनुपर्छ ।’

सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार सानो बच्चा साथमा भएको अवस्थामा, बुढो वा घाइते भई सिकार खेल्न अशक्त भएको अवस्थामा, शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको अवस्थामा, अचानक जम्काभेट भएमा र भाग्ने ठाउँ वा मौका नपाएमा चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको छ ।

उनका अनुसार चितुवा साँझ परेपछि सक्रिय हुने भएकाले बालबच्चालाई साँझको समयमा एक्लै नछाड्ने, साँझ परेपछि सकभर बाहिर ननिस्कने, साँझ र राति जङ्गली जनावर पस्नसक्ने खालका झ्याल ढोका राम्ररी बन्द गर्नेलगायतका कार्य गर्नुपर्छ ।

व्यास नगरपालिका–११ स्थित सिद्धबराह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशेश्वर बस्नेतले डिभिजन वन कार्यालयको अभियान वर्तमान सन्दर्भमा सान्दर्भिक रहेको जानकारी दिए । ‘चितुवाको त्रास बढेको समयमा कार्यालयले सञ्चालन गरेको अभियानले सामुदायिक वनका उपभोक्तालाई सचेत बनाउन सहयोग पुगेको छ’, उनले भने, ‘सामुदायिक वनकोतर्फबाट मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणका लागि कदम चाल्छौँ ।’

पछिल्लो साढे दुई वर्षको अवधिमा जिल्लामा १० जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । भानु, शुक्लागण्डकी, आँबुखैरेनी, बन्दीपुरलगायतका ठाउँमा १० वर्षभन्दा कम उमेर समूहका बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । कार्यालयले खोरमा नियन्त्रणमा लिएर ११ वटा चितुवालाई अन्यत्र स्थानान्तरण पनि गरिसकेको छ ।

(रासस)

प्रतिक्रिया