

दुर्गादेवीलाई आश्वासन दिएका प्रधानमन्त्री देउवाद्वारा निर्मला हत्या टुंगो लगाउन ठाडो आदेश

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीलाई ठाडो आदेश दिएका छन्।
निर्मला पन्तको हत्या भएको ३ वर्ष पुगेको दिन प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँण र आईजी क्षत्रीलाई बोलाएर घटनाको छानबिन गरी दोषी पत्ता लगाएर कारबाही गर्न ठाडो आदेश दिएका हुन्।
‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानको जानकारी लिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु।’
आइतबार १० साउनमा निर्मला पन्तको हत्या भएको ३ वर्ष पूरा भएको छ।
यसअघि देउवा निर्मलाको बलात्कारपछि हत्या भएका सात महिनापछि अर्थात फागुनमा घरमै पुगेर आमा दुर्गादवीलाई भेटेका थिए। जतिबेला देउवाले घटनापछि उल्टाखाम घरमै पुगेर न्याय दिने आश्वासन दुर्गादेवीलाई दिएका थिए।
‘एउटी छोरीले परिपक्व हुन नपाउँदै यसरी मर्न नपरोस् भन्ने हो। जसरी पनि निर्मलाको न्यायको लागि लड्छौं,’ त्यतिबेला देउवाले भनेका थिए।
प्रधानमन्त्री देउवाले निर्मलाको हत्यारालाई छिटोभन्दा छिटो पक्राउ गरेर कानुनी दायरामा ल्याउन निर्देशन दिएपछि आईजी क्षत्री आफैं यस घटनालाई सुल्झाउनेतर्फ अग्रसर देखिएका छन्। ‘अब छिटोभन्दा छिटो निर्मला प्रकरण सुल्झिनेछ,’ आईजी सचिवालयल स्रोतले भन्यो।
महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मलाको बलात्कार र हत्यापश्चात घर नजिकै रहेको उखुबारीमा ११ साउनमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो।
पोष्टमार्टम रिपोर्टमा निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख थियो। तर हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन।
यो तीन वर्षको अवधिमा नेपाल प्रहरीले उक्त घटना अनुसन्धानमा धेरै जनशक्ति र धनराशीको खर्च पनि गरेको छ। तर, पनि यो अपराधको गुत्थी केलाउन प्रहरी असफल नै भएको छ।
निर्मला हत्या घटनाको तीन वर्ष पुग्दा पनि दोषी पत्ता नलागेपछि परिवारले न्यायको आस हराएको बताएका छन्। ‘जसले जति भने पनि कसैले न्याय दिने जस्तो लाग्दैन,’ आमा दुर्गादेवी पन्तले भनिन्। निर्मलाकी आमा दुर्गादेवीले आस मारे पनि देउवा जसरी पनि निर्मलाको परिवारलाई न्याय दिने सोचमा छन्।
सरकार जति परिवर्तन भए पनि न्याय पाउने आस हराएको परिवारको गुनासो छ। घटना लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर अनुसन्धान गर्दा पनि पत्ता लाग्न नसकेको यो घटनामा प्रहरी संगठनले सबैभन्दा धेरै क्षति ब्यहोर्नुपरेको छ। त्यसैले प्रहरी अधिकारी भन्छन्, ‘इतिहासमै यो सबैभन्दा पेचिलो, खर्चिलो र टाउको दुखाइएको अनुसन्धान हो।’
घटनाको २६ औं दिन अर्थात् भदौमा प्रहरीले अभियुक्तका रूपमा भीमदत्त–१९ बाग्फाँटाका दिलीपसिंह विष्ट नै दोषी भएको भन्दै सार्वजनिक गर्यो। विष्टको डीएनए नमिलेपछि घटनाको अनुसन्धान झनै पेचिलो र तनावपूर्ण बन्दै गयो।
प्रहरीले विष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन झनै चर्किएको थियो। वास्तविक अपराधी जोगाउन प्रहरीले नक्कली अपराधी खडा गरेको भन्दै स्थानीयले आन्दोलन चर्काए।
आन्दोलनले उग्र रुप लिन थालेपछि ८ भदौमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको मृत्यु भएको थियो। त्यसपछि आन्दोलन केही मत्थर भयो। अनुसन्धान जारी रहेपछि प्रहरीले अहिलसम्म निर्मलाको हत्यारालाई कानुनी दायरमा ल्याउन सकिरहेको छैन।
त्यतिबेलाको प्रहरी अनुसन्धान फितलो भएको भन्दै स्थानीयले प्रहरीमाथि नै शंका गरे। त्यसपछिको अनुसन्धान प्रहरीतर्फ सोझियो।
कहिले प्रहरीले नै अपराधीलाई लुकाएको आरोप लाग्यो भने कहिले प्रहरी अधिकारी नै घटनामा संलग्न भन्दै बहालवाला प्रहरी अधिकारीकै डीएनए परीक्षणसम्म गराइयो।
हरेक पाटोबाट अनुसन्धान गरिएको भए पनि यो अनुसन्धानको गुत्थी अझै सुल्झिन सकेको छैन। अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेको नेतृत्वमा अनुसन्धान चलिरहेको कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले बताए।
‘हामी इमानदार भएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले हाम्रो अनुसन्धान सही दिशामा गइरहेको छ ।’ शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखिएको एसपी चतुर्वेदीले बताए।
एसपी चतुर्वेदीले घटनाबारे प्रहरी महानिरीक्षक (आईजीपी) क्षेत्रीलाई ब्रिफिङ गरिरहेको स्रोतले बतायो। निर्मला प्रकरणमा सडकदेखि संसद्सम्म आवाज उठेको थियो। जतिबेला नेपाली कांग्रेसका जिल्लादेखि केन्द्रसम्मका नेताहरूले तत्कालीन सरकारले अपराधी जोगाउन खोजेको आरोप लगाउने गरेका थिए। अहिले कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनेको छ। आफ्नै प्रदेशको घटनामा प्रधानमन्त्री देउवाले चासो राखेका छन्।
३ वर्षदेखि सीआईबीको टोली घटनाको अनुसन्धान गर्न भन्दै कञ्चनपुरमै छ। डिएसपीको नेतृत्वमा सीआईबीको टोली तीन वर्षदेखि घटनाको अनुसन्धानका लागि घटनास्थलमा खटिएको छ।
प्रहरी कर्मचारी परिवर्तन भए पनि सिआईबीको टोलीले घटनास्थल छाडेको छैन। निर्मला प्रकरणको गुत्थी पहिल्याउन भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरीको तीन समूह अहिले पनि घटनाको अनुसन्धानका लागि घटनास्थलमा परिचालन गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोको अलावा प्रदेश प्रहरी कार्यालयबाट एक अनुसन्धान टोलीले काम गरिरहेको छ। त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट पनि सिभिलमा एक टोली खटिएर काम गरिहरेको छ।
त्यसबाहेक महिला प्रहरीको छुट्टै टोली पनि घटनाको अनुसन्धानका लागि खटिएको छ। यसरी एउटा अनुसन्धानको लागि प्रहरीको ३–३ वटा टोली परिचालन हुँदा पनि निर्मला प्रकरणमा प्रहरीले सफलता पाउन सकिरहेको छैन।
यस बीचमा नेपाल प्रहरीका तीन जना प्रमुख फेरिए। तर, उनीहरुको तीनैजजनाको कार्यकालमा निर्मला प्रकरणमा सफलता हात पार्ला भन्ने धेरैलाई विश्वास छैन। किनकि यो घटनालाई राजनीतिकरण गरिएको छ। त्यसैलेपनि प्रहरीलाई निर्मलाको हत्यारासमक्ष पुग्न धेरै कठिनाई रहेको बहालवाला प्रहरी अधिकारीहरु नै बताउने गर्छन्।

