

इलाममा बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार

इलाम- इलाममा बोल्न नसक्ने नाबालिग बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका–४ का ३८ वर्षीय साजन सुब्बा र ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार घटना वैशाख ५ गते घटेको हो । आरोपीहरूले नाबालिगलाई डरत्रास देखाई हात बाँधेर कराउन नदिई बलात्कार गरेका थिए ।
घटनापछि फरार रहेका दुबै जनालाई प्रहरीले वैशाख ६ गते फाकफोकथुम गाउँपालिका–४ फुयतप्पाबाट पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत इलाममा उपस्थित गराई ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

