

करारका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर, तीन करोड २९ लाख ४५ हजार बढी बिगो दाबी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण अन्तर्गत काठमाडौं जिल्ला आयुक्त कार्यालयका अमिन दिनेशप्रसाद यादवविरुद्ध भ्रष्टाचारको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गौरीघाटस्थित वाग्मती नगर जग्गा एकीकरण योजनामा कार्यरत यादवले ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा यो मुद्दा दायर गरिएको हो । आयोगले यादवको आम्दानी, खर्च र सम्पत्ति विश्लेषणपछि उनीविरुद्ध अनुसन्धान सुरु गरेको थियो ।
२०६३ साल भदौ ८ देखि २०८१ असार ३० सम्मको अवधिमा यादवको वैध आय २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ मात्रै रहेको, जबकि उनका खर्च ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ पुगेको पाइएको छ। यस आधारमा यादवले ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ अवैध रूपमै आर्जन गरेको निष्कर्षमा आयोग पुगेको छ ।
यस मुद्दामा यादवको पत्नी अमृता कुमारी यादवको नाममा राखिएको केही सम्पत्ति पनि जफतको उद्देश्यले प्रतिवादी बनाइएको छ ।

