

मकवानपुरमा छोरीलाई पटक–पटक करणी गरेको आरोपमा बुवा पक्राउ

मकवानपुर- मकवानपुरको थाहा नगरपालिका– १ कुञ्छालमा छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ परेका छन् ।
आइतबार पीडित किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दिएपश्चात् घटना बाहिर आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले जानकारी दिए ।
बाबुले गत २०८१ साल भदौदेखि कात्तिकसम्म पटक–पटक ललाइफकाइ गरी घरदेखि टाढा लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक अर्यालले बताए ।
प्रहरीका अनुसार किशोरी बाबुको जेठी श्रीमतीकी छोरी हुन् । किशोरीले करिब डेढ हप्ता अघि परिवारका अन्य सदस्यलाई घटनाबारे जानकारी गराएका थिइन् ।
प्रहरीका अनुसार पीडकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याउने तयारी भइरहेको छ भने पीडित किशोरी सुरक्षित छन् ।

