

विदेश पठाउने नाममा ५० लाख ठगी, काठमाडौं र दाङबाट तीन पक्राउ

काठमाडौं – आकर्षक तलबको प्रलोभन देखाई विदेश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-१० की २९ वर्षीया उरुषा क्षेत्री, नुवाकोट विदुर नगरपालिका-५ का २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुलसीपुर उपमहानगरपालिका-६ का ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन्।
उरुषाले क्यानडा पठाइदिन्छु भन्दै एक व्यक्तिबाट ८ लाख रुपैयाँ, केदारले माल्दिभ्स पठाइदिन्छु भन्दै दुई जनाबाट ८ लाख रुपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै दुई जनाबाट ३४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उरुषालाई शनिबार काठमाडौं-३१ बाट, केदारलाई शुक्रबार काठमाडौं-३२ बाट र पोषणराजलाई बुधबार दाङबाट पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये उरुषा र केदारलाई वैदेशिक रोजगार विभागमा बुझाइएको छ भने पोषणराजलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

