मौन बादलः नेकपा विवादमा प्रचण्डका लागि ‘घातक’


काठमाडौं– बिहीबार सचिवालयको बैठक राख्ने निर्णयसहित आफूनिकट ५ नेतासँगको अनौपचारिक छलफल गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एउटा छलाङ मारेको चर्चा चलाइयो। तैपनि अर्का अध्यक्ष केपी शर्मा ओलीको सन्तुष्टि र जवाफ सन्तोषजनक नरहेको भन्ने विवरण सतहमा आएका छन्।

कतिपय नेताले नेकपाको विवाद सचिवालयको बैठकमा नै छलफल हुने र त्यसमा ओलीको सहभागीता अनिवार्य रहने विषयलाई धेरै नेताहरूले बताएका छन्। बुधबार ओली संखुवासभामा हुनेछन्।

तर नेकपाको विवाद यत्तिकैमा समाधानोन्मुख हुने छाँट छैन। बारम्बार यस्ता विवाद बल्झिरहेका बेला पार्टी विभाजनसम्मका विषयले सतहमा चर्चा पाएका छन्। नेताका समिकरणका विषय पनि चर्चामा रहे।

तत्कालिन एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचण्डसँगका बैठकमा छन्।

तर, बरिष्ठ मध्येकै सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल किन सहभागी भइरहेका छैनन्? यो विवादमा बादल मौन पनि छन्, के छ रहस्य?

पार्टी एकीकरणपूर्वको गठबन्धन सरकारमा बादल माओवादीका तर्फबाट बरिष्ठतम् मन्त्री अर्थात् गृह मन्त्रालयको जिम्मेवारीमा पठाइएका थिए। तर, विवादका क्रममा उनी प्रचण्डको साथमा नहुनुले के असर गर्छ?

‘अहिले प्रचण्डको खेमा भनिएका धेरै जसो नेता उनीसँग छैनन्। त्यस मध्येका सचिवालयमा रहेका बादल नहुनु भनेको प्रचण्डका पनि कमजोरी छन् भन्ने हो’, बादलनिकट स्रोतले भन्यो,‘सरकार स्थिर रहने कुरा एकातिर गरी सरकारमा सबै मन्त्रीको राजीनामा गराउने प्रस्ताव प्रचण्डले गरेका कारण बादल उनीसँग छैनन्।’

त्यतिमात्र होइन टुटफुटको शिलशिला र प्रचण्डको राजनीतिक चालबाजीबारे सचिवालयमा सबैभन्दा जानकार बादल नै हुन्। भूमीगत कालदेखि नै प्रचण्डको आनीबानीबारे पोख्त रहेका कारणले पनि नेकपाको अस्थिर जीवनमा प्रचण्डसँग उनको मेलमिलाप हुन नसकेको आँकलन गरिन्छ।

‘अस्थिर र केही न केही नगरी नबस्ने प्रचण्डको शैलीप्रति बादल पोख्त छन्। भूमीगत कालमा सांस्कृतिक विचलनको अभियोग लगाउँदै कारबाही गरिएका एक नेता हुन्’, स्रोतले भन्यो,‘शान्ति प्रक्रियामा आएपछि पनि पार्टी विभाजनमा प्रचण्डको प्रहार सहेका कारण अहिलेको विवादको सैद्धान्ति र व्यवाहारिक निदानका लागि मात्र उहाँ तयार हुनुहुन्छ।’

कतिपय गुटगत बैठकका क्रममा उपस्थित नहुने बादलको बानी छ। यदि त्यस्ता भेलामा उपस्थित भएको खण्डमा उनले तत्काल पार्टी विभाजनतिर जान नहुने, कुनै नेतृत्वले पनि अस्थिरताका लागि काम गर्न नहुने धारणा राख्ने गरेका छन्।

धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक भनी ५ नेता मंगलबार बस्दा बादललाई प्रचण्डले जसरी पनि उपस्थित हुनका लागि आग्रह गरेका थिए। त्यो आग्रह बिहान खुमलटारमा भएको भेटका क्रमको थियो। तर, बादलले गृह मन्त्रालयमा बैठक राखी त्यो भेलालाई छलिदिए।

बादलको यस्तो राजनीतिक व्यवहारले प्रचण्डको प्रयोग घातक हुनसक्ने अनुमान कतिपय पूर्वमाओवादी नेताले लगाएका छन्। एक जना नेता भन्छन्,‘यसअघिको विवादका क्रममा प्रचण्डसँगै रहेका उपाध्यक्ष गौतम एकाएक ओलीका पक्षमा देखिए। पूर्वएमाले जतिसुकै विवादीत भए पनि एकढिक्का हुन्छन्। उनीहरूको आशमा प्रचण्डले ओलीविरुद्धका प्रयोग गर्नु दुर्भाग्य हुनसक्छ। बादलको साथ नहुनु प्रचण्डका लागि घात पनि हुनसक्छ।’

यस्ता संकेतहरू अहिले पनि देखा परिरहेका छन्। सचिवालयमा दुई पक्षीय शक्ति सन्तुलनको टकराब चलिरहेका बेला त्रिपक्षीय शक्ति सन्तुलनका बहस पनि भएका छन्। नेता नेपालले पनि यहि बेला सचिवालयमा आफूलाई उदय गराउने अभ्यास थालिसकेका छन्। नेपालका पक्षमा खनाललगायत छन्।

त्यसैकारण पनि ओलीसँगको बालुवाटार भेटपछि नेपाल पक्षका दोस्रो र तेस्रो तहका नेताले सचिवालयमा अन्य सदस्यको थप हुनुपर्ने चर्चा चलाए भने ओली पक्षका नेताले युवा पुस्तालाई पनि सहभागी गराउनुपर्ने दाबी गराएका छन्। यसले प्रचण्डलाई सचिवालयमा थप कमजोर बनाउन सक्ने आँकलन गरिएको छ।

प्रतिक्रिया