

दक्षिणकालीका व्यावसायीबीच सेल पकाउने प्रतिस्पर्धा

काठमाडौँ–दक्षिणकाली मन्दिरको परिचय बोकेको सेलरोटीको मौलीकता र बजारीकरण गर्ने उदेश्यले व्यवसायीहरुबीच सेलरोटी पकाउने र पस्कने कलाको प्रतिस्पर्धा आयोजना गरिएको छ ।
तिहारमा पकाइने मुख्य परिकार मध्येको एक सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मन्दिर क्षेत्रमा रहेका करिब ५ दर्जन ब्यवसायीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
ललितपुर सातदोबाटोस्थित ‘आइएचएम कलेज’, ‘आइएम विथ सेफ’को संयोजन तथा दक्षिणकाली नगरपालिका र पर्यटन बोर्डको संयुक्त सहकार्यमा नेपाली ‘सेफ र कलरीनरी’ जगतका एक दर्जन भन्दा बढी संघ सस्थाको संयुक्त आयोजनामा सेलरोटीको स्वाद ‘टेष्ट अफ नेप्लिज फुड– द नेक्स्ट डेस्टिनेसन’ (सिरिज) अन्तर्गत पहिलो कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली मौलीक खानालाई स्थानीय स्तरबाटै चिनाउने र त्यसको मौलीकता तथा बजार प्रवद्र्धन गर्ने उदेश्यले कर्मा मिडियाको ब्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी व्यावसायीलाई ३ समूहमा विभाजन गरी सेफहरुको ३ वटा निर्णायक मण्डलीले तयारी, मौलीकता, स्वाद र बजारीकरणको सम्भावना लगायतको मापदण्डलाई आधार बनाएर उत्कृष्ट ३ व्यवसायीको छनौट गरेका थिए ।
प्रतियोगितामा मायादिदीको खाजाकी सञ्चालक माया ब्लोन प्रथम, जयकाली खानाका सञ्चालक सारदा तामाङ्ग द्वितीय र बालकृष्ण श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल भए ।
उनीहरुलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले क्रमश नगद १०, ७ र ५ हजार तथा प्रशंसापत्रले सम्मानित गरे ।
समापन कार्यक्रममा बोल्दै मेयर बस्नेतले दक्षिणकाली क्षेत्रको पहिचान अब सेलरोटीले चिनाउने विश्वास व्यक्त गरे । नगरपालिकाले देशका उद्योगी व्यवसायीहरुलाई यस क्षेत्रको पर्यटन प्रवद्र्धन र उद्योगमा लगानी गर्न बिशेष नीति लिएको जानकारी दिए ।
होटल एसोसिएसन अफ नेपाल – हानका उपाध्यक्ष बिनायक शाहले कोभिड–१९ का कारण पर्यटन बर्ष नै स्थगित गर्नु परेको अवस्थामा यस किसिमका कार्यक्रमले व्यवसायीमा हौसला बढ्ने र गुणस्तर बढ्दै जाँदा त्यसको खपत पनि बढ्ने बताए ।
विश्वमा हरेक देशले आफ्नो राष्ट्रिय ध्वजाबाहकमा आफ्नै मौलीक खाना, मेनुमा समावेश गर्ने गरेको स्मरण गर्दै नेपाल एयरलाइन्सले सेलरोटी जस्तो मौलिक र नेपालको चिनारी बोकेको खानालाई समेट्न सके बजारीकरण बढ्ने धारणा व्यक्त गरे ।
नेपालका पहिलो एक्जुकेटिभ सेफ गोबिन्द नरसिंह केसीले सेलरोटीको स्वादमार्फत मौलीक खानाको विश्व बजारीकरणमा जुटेका सबैलाई एउटै शुत्रमा बाँधेको बताए।
कार्यक्रम मुल आयोजक कमिटिका संयोजक एवम् आइएचएम कलेजका निर्देशक सुराच प्रसाईले नेपाली मौलीक खानाको प्रवद्र्धनमा यस किसिमको बृहत सहभागिताले खानाको मौलीकता प्रवर्दनमा एकता, सहकार्य र सम्मानको नया अध्याय सुरु गरेको उल्लेख गरे ।
कार्यक्रममा कोभिड– १९बाट भोकभोकै परेका अति बिपन्न र असहायहरुलाई खाना खुवाउने अभियानमा सक्रिय सेफ टेकनाथ नेपाल र सेफ शिबहरी घिमिरे तथा मौलीक खानाको प्रचार र होम स्टे ब्यवस्थापनमा बिशेष योगदान पुराएवापत सेफ मोहन गजुरेललाई सम्मान गरिएको थियो ।
नेपाल सेफ एसोसिएसन(क्यान), रेस्टुरेन्ट एसोसिएसन अफ नेपाल(रेबान), ग्लोबल सेफ फेडेरेसनलगायत संस्थाले पनि कार्यक्रमलाई साथ दिएका थिए।

