मनोज सम्झिएर मिना लेख्छिन्– ‘हार नमानिदेउ’


काठमाडौं– आफूमा कोरोना संक्रमण भएको थाहा भएपछि हास्य कलाकार मनोज गजुरेल घरमा नै आइसोलेट भएका थिए । तर शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरियो । फोक्सोमा समस्या भएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिरहँदा उनकी पूर्व पत्नी मिना ढकालको एक पत्रले सामाजिक सन्जालमा खुबै चर्चा पायो ।

मनोजसँग सम्बन्धविच्छेद गरेर अलग्गै बस्दै आएकी मिनाले पूर्व पतिलाई समर्पण गर्दै लेखेको त्यो पत्रको फेसबुक र ट्वीटरमा चर्चामा छ । निकै भावुक शैलीको पत्रले सबैको मन छोएको छ ।

पूर्व श्रीमानको स्वास्थ्य लाभको कामना गर्दै मिनाले लेखेको पत्र यस्तो छः–

जिन्दगीले जुनसुकै मोडल अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नो जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौं र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ । तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग जीवनका बिसौं बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै भएरपनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला, फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आइसियूमा उपचाररत छौं भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महशुश भइरहेको छ ।

तिमी छिट्टै हार मान्ने मान्छे होइनौं । मैले बिसौ तीजका निराहार ब्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायूको कामना गर्न छाडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन् । तिमी र म बिच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरा लागि महत्वपूर्ण छ, हार नमानिदेउ । छिट्टै निको भएर घर पुगेको देख्न पाउँ ।’

प्रतिक्रिया