

जसपा फुटको नजिक, तेस्रो गुट सत्ता राजनीतिमा निर्णायक!

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) राजनीतिक संकटमा छ। जसपामा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र महन्थ ठाकुर, राजेन्द्र महतोको दुई समूह छ।
जसपा दुई समूहमा विभाजन नजिक पुग्नुको कारण– विशेषगरी लुम्बिनी प्रकरण हो। लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका चार जना नेतालाई कारबाही गरेको विषयले जसपा फुटको संघार नजिक छ।
लुम्बिनी प्रदेशमा संसदीय दलको ह्विपविपरित मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी जोगाउने खेल भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो।
सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै सुटुक्क मन्त्री बनेका पार्टीका ४ सांसद पद गुमेसँगै केन्द्रमा समेत त्यसको असर परेको हो।
संसदीय दलले पार्टीको निर्णय विपरित मन्त्री भएका सांसदहरू सन्तोष पाण्डेय, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई पद मुक्त गरेपछि विवादको गहिराइ बढेको हो।
भट्टराई–यादव पक्षले कार्यकारिणी समितिमा बहुमत पुर्याएर उनीहरूलाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएसँगै अर्का अध्यक्ष ठाकुर आक्रोशित बनेका थिए।
तत्कालै विज्ञप्ति निकालेर कडा प्रतिवाद गरेसँगै अब पार्टी सग्लो होला भन्ने अपेक्षा नरहेको स्वयम् जसपाका नेताहरू स्वीकार गर्छन्।
एक समूहले अर्को समूहलाई पेलेर जाने रणनीति तयार गरेको छ। यता, यादव–भट्टराई निकट एक नेता ठाकुर समूहलाई पेलेर अघि बढ्ने बताउँछन्।
गत शुक्रबार बसेको बहुमत कार्यकारिणी सदस्यको बैठकले ओलीविरूद्धको अविश्वास प्रस्तावलाई सहयोग गर्ने निर्णय गरेसँगै ठाकुर समूहको सरकारमा जाने सपनामा तुसारापात भएको छ।
शुक्रबारमात्र निर्वाचन आयोगमा ४ सांसदको पद जोगाउन ठाकुर पुगेसँगै जसपाको भविष्यमा कालो बादल माडारिएको छ।
‘पहिलो वरियताको अध्यक्षको निर्णय सदर हुन्छ,’ ठाकुर निकट एक नेता भन्छन्, ‘यो गतिविधिले पार्टी विभाजन त भै नहाल्ला, अब एकता र पार्टी समायोजनका बाँकी काम अघि कुनै पनि हालतमा बढ्दैन्।’
तेस्रो गुट सत्ता राजनीतिमा निर्णायक
यी दुई समूह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा पनि विभाजित छ।
जसपा नेपालका अध्यक्ष यादव र जसपा संघीय परिषदका अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन भन्दै आएका छन्।
यता अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको माग जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने भन्दै प्रधानमन्त्री ओलीसँग नियमित छलफल गर्दै आएका छन्।
सोहीकारण जसपाभित्र अहिले नयाँ गुट देखिएको छ। उक्त गुटमा मोहम्मद इस्तियाक राई र रेणु यादव मुख्य देखिएका छन्। अहिले यो गुटले उपेन्द्र यादवलाई साथ दिइरहेको छ।
जसपाभित्र प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने या उनलाई नै समर्थन गर्ने समूहबीच संघर्ष चलिरहँदा तेस्रो गुट निर्णायक बनेको छ।
तेस्रो गुटले जसलाई साथ दिन्छ उही जसपाभित्र मात्र नभई सत्ता राजनीतिमा पनि निर्णायक शक्ति बन्छ।
अहिले ओलीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा इस्तियाक राई देखिएका छन्। तर, उनले कुनैपनि बेला समर्थन यताउता गर्ने सम्भावना बलियो छ।
जसपाका उमाशंकर अरगरिया, प्रदीप यादवलगायत यो गुटमा देखिएका छन्। यो गुटको साथ कुनैपनि बेला यताउता हुने सम्भावना बलियो छ।
यथास्थितिमा इस्तियाक राईको गुट उपेन्द्र यादवको पक्षमा देखिएको छ। तर, तेस्रो गुट महन्थ र उपेन्द्र दुवैमाथि चुनौती बनेको छ।
अहिले जसपामा अविश्वासको प्रस्तावको पक्षमा १८ जना सांसद देखिएका छन्। विपक्षमा १४ सांसद छन्। कुल ३४ जना जसपा सांसदमध्ये २ जना निलम्बिन छन्।
मतदानका लागि योग्य ३२ सांसदमध्ये १८ जना अविश्वासको पक्षधर देखिएका हुन्।
फुटाउने साइत कहिले ?
११ वैशाख २०७७ राति दुई पार्टी मिलेर जनता समाजवादी पार्टी बनेको हो। जतिबेला धेरैले मिलन बिन्दुको आधार खोजेका थिए।
तत्कालीन ६ जना अध्यक्षले पालो सिस्टममा नेतृत्व चलाइरहेको राष्ट्रिय जनता पार्टी (राजपा) र कम्युनिष्ट राजनीतिबाट उदाएका नेताहरू मिलेर बनेको संघीय समाजवादी पार्टीबीचको एकता आफैँमा अनौठो राजनीतिक विषय थियो।
१० वैशाखमा दल विभाजनमा सहजता थप्न प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएसँगै जसपा पार्टी बनेको थियो। आज उनै ओलीले जसपालाई फुटको संघारमा पुर्याएको जसपा नेताहरुको आरोप छ।
आफ्नै दलबाट धोका हुने र कुर्सी संकटमा पर्ने देखेपछि ओलीले जसपाभित्र राजपा खेमाको साथ खोज्न थालेको प्रष्ट छ। आफैंले मिलाएको पार्टीलाई आफैं फुटाउनको लागि ओली साइत कुर्दै छन्।
संविधान संसोधन, प्रदेश संरचनाको पूर्नसंरचना, नागरिकताको एजेण्डा एकीकरण पूर्व दुवै दलको राजनीतिक एजेण्डा हो।
मधेशी दलहरूको एजेण्डा प्रष्ट र जायज भए पनि व्यवहारसम्मत त्यसको कार्यान्वनमा वर्तमान जसपा इमान्दार नभएको जानकारहरु बताउँछन्। जसपा नेताहरुको व्यवहार त्यही अनुरूप नभएको उनीहरुको तर्क छ।
सांसदहरु को कता?
भट्टराई–यादव समूह
१. उपेन्द्र यादव
२. बाबुराम भट्टराई
३. राजेन्द्रप्रसाद श्रेष्ठ
४. विमल प्रसाद श्रीवास्तव
५. महेन्द्र राय यादव
६. मोहम्मद इस्तियाक राइ
७. डा. सुरेन्द्रकुमार यादव
८. डा. सुर्यनारायण यादव
९. इकवाल मिया
१०. लीला देवी सिटौला
११. प्रदीप यादव
१२. प्रमोद साह
१३. रामबाबु कुमार यादव
१४. रेणु कुमारी यादव
१५. रेनुका गुरुङ
१६. रुही नाझ
१७. उमाशंकर अरगरिया
१८. राम सहाय यादव
ठाकुर समूह
१. महन्थ ठाकुर
२. राजेन्द्र महतो
३. अनिलकुमार झा
४. अमृता अग्रहरी
५. चन्दा चौधरी
६. चन्द्रकान्त चौधरी
७. दुलारी देवी खंगा
८. कालु देवी विश्वकर्मा
९. लक्ष्मण लाल कर्ण
१०. नरमाया ढकाल
११. निर्जला राउत
१२. राजकिशोर यादव
१३. रानी मण्डल
१४. शरतसिंह भण्डारी

