शिक्षामन्त्री र शिक्षक महासंघबीच दिउँसो निर्णायक वार्ता हुँदै


काठमाडौँ – नेपाल शिक्षक महासंघ र शिक्षामन्त्रीबीच आज दिउँसो २ बजे निर्णायक वार्ता हुने भएको छ। शिक्षा मन्त्रालयमा तय गरिएको यस वार्तामा हिजो रातिसम्मको सकारात्मक छलफललाई अन्तिम रूप दिने प्रयास हुनेछ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार, हिजोको छलफल सकारात्मक दिशामा उन्मुख भएकोले आज पुनः बैठक राखिएको हो। महासंघले वार्ताका लागि ९ बुँदे माग सरकारसमक्ष पेश गरिसकेको छ, जसमा धेरैजसो विषयहरू मन्त्रिपरिषद्को निर्णयमार्फत कार्यान्वयन गर्नुपर्ने हुन्छ।

 यस्ता छन् प्रमुख मागहरू:

  • सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई सातवटै प्रादेशिक अस्पताल तथा काठमाडौँको निजामती अस्पतालमा सहज उपचार सुविधा उपलब्ध गराउने।
  • राहत, अस्थायी, करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा, बालविकास लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीको बिरामी बिदा सञ्चित गर्ने र अवकाशको समयमा एकमुष्ट भुक्तानी दिने।
  • प्रारम्भिक बालविकास शिक्षक तथा विद्यालय कर्मचारीलाई खरिदार सरह दरबन्दी कायम गरी मासिक रु ३२,९०२ तलब उपलब्ध गराउने।
  • विद्यालय सहयोगीलाई श्रेणीविहीन कर्मचारी सरह मासिक रु २६,०८२ तलब दिने र उक्त खर्च संघीय सरकारले व्यहोर्ने व्यवस्था मिलाउने।
  • स्थायी शिक्षकहरूका लागि ग्रेड निर्धारणमा सुधार गर्दै, प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकहरूलाई क्रमशः खरिदार, नायब सुब्बा र सहसचिव सरह ग्रेड दिने।
  • विद्यालय शिक्षा ऐन जारी गर्ने।

देशभरका शिक्षक र विद्यालय कर्मचारीहरूले यी मागहरूसहित चैत २० गतेदेखि आन्दोलन सुरु गरेका थिए। चैत २५ गतेदेखि उनीहरूले शैक्षिक हडतालसमेत घोषणा गरेका थिए। महासंघले सरकारसँग सहमति भएमा आन्दोलनको स्वरूप परिवर्तन गर्दै कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया