ली क्वानको सपना, हुन सेनको भूत!


सत्ताको प्रमुख पद राजनीतिक सपनाको सबैभन्दा उँचो स्थान हो। यो स्थानले मानिसलाई दुईथरी अर्थमा विभाजित गर्न सक्छ। पहिलो नीजि सपना पूरा भएको अहंकारको थुप्रोमाथि उभिएको अभिमानी र अर्कोचाहिँ समग्र सपनाहरूलाई साकार बनाउने भाग्यमानी।

संसारमा गरिब परिवार वा अति सामान्य अवस्थामा राजनीतिको यो प्रमुख विन्दुमा उभिएकाहरू शासक मात्र बनेका छैनन्, तानाशाहीका रुपमा नै खरो उत्रिएका छन्, अधिक। तिनलाई आफ्ना सपनाहरूको माया लागेर आउँछ, अन्यका सपना तुच्छ लाग्न थाल्छन्, शक्ति केन्द्रमा उभिएपछि।

त्यस्ता मानिसहरू तानाशाही प्रवित्तिको पारखी हुन्छन्। वरिपरि दुई–चार जना हुक्के, चिलिमे र कुरौटे भएनन् भने निद्रा लाग्दैन। शक्तिका अनेक विकेन्द्रिकरणमा रहेका उच्च ओहदाका मानिसहरूले सलाम मात्रै ठोकुन् भन्ने भ्रमको एउटा अनौठो जालोको घेराबन्दीमा हुन्छन्।

यसका प्रमुख उदाहरण हुन्– विश्वविख्यात हिटलर। यस्तै कर्णेल गद्दाफी, सद्दाम हुसैनहरू पनि यस प्रवित्तिका उदाहरण हुन्। यीनको शैली र तरिका, अहंकार र अभिमानका कारण दर्दनाक मृत्युका कथा समाचारमा देखियो इतिहासमा पढियो।

सपनाहरूको चाङ ठूलै हुन्छ– साधारण मानिस हुँदा। ति सपनाका खुड्किला मिहेनत वा षडयन्त्रका अनेक खेलले जब पूरा हुन्छन्– सत्ताको मात खरो बन्दै जान्छ । त्यसका नेपाली उदाहरणका पात्र हुन्– जंगबहादुर राणा। त्यसको अर्को उदाहरणका पात्र हुन् तत्कालिन राजा सुरेन्द्र शाह।

नेपाली दिनदैन्यले स्वतन्त्रताको खोजीनीति गरिरहेको सन्दर्भमा उदय भएको वीपी कोइरालाको। कोइरालाको स्वतन्त्रताको आन्दोलनपछि यस्ता शासकका रुपमा उदय भए– राजा महेन्द्र। कारण थियो– प्रजातन्त्रको दुरुपयोग र सत्ताको गलत उपयोग। राजा महेन्द्रलाई पनि शक्तिको आशक्तिले निक्कै उन्माद बनाएको थियो। उनले विकासका केही आधारशिला तयार पारे तर शासकीय स्वरुपलाई जनमैत्री बन्न दिएनन्।

त्यसपछिको राजनीतिक परिवर्तन र शासकीय शैली, स्वरुपका विषयमा सबैले रटान लगाएर बुझेकै हुनुपर्छ। अब हाम्रो यौवनले पाएको परिवर्तनको विषय र अहिलेको राजनीतिक व्यक्ति र चरित्रको चित्रणबारे व्याख्या गरौं।

०६२ यता देशले काँचुली फेर्ने यात्रा तय गर्दागर्दै काचुलीको पोको बोकेर ०७७ सम्म आइपुग्यो– हाम्रो पुस्ता। नयाँ–नयाँ नेता, नयाँ–नयाँ व्यापारी, नयाँ–नयाँ दलाल पूँजीपति, नयाँ–नयाँ चिन्तकको उदय भयो। मुलुक नयाँ बनेको अनुभूती भएन। किनभने, काँचुली राजनीतिक दलको पोल्टामा छ, फेर्ने अवसर पाएका छैनन्।

सपनाका अनेक पोका बोकेर शक्तिशाली प्रधानमन्त्रीका रुपमा उदय भयो खड्गप्रसाद (केपी) शर्मा ओलीको। अति साधारण परिवारका उनी रामनाथ दाहालको कम्युनिस्ट कित्तामा उभिँदा मारिनबाट जोगिए, जेल परे। अनेक सपनाहरूको खाका जेलमा तयार पारे। समयकाल र परिस्थिति उनको अनुकुल बन्दै गयो र अहिले प्रधानमन्त्री पदमा आसिन छन्।

प्रधानमन्त्री ओलीको सपना यीनै हुन्। तर के प्रधानमन्त्री ओली ली क्वानको बाटोमा छन्? सचिवालयमा रहेका मानिसका विवादीत हर्कत, मन्त्रीमण्डलमा रहेका भ्रष्टाचारका कथा, खुलेआम एउटा मात्रै नीजि कम्पनीका लागि दिइएका अनेक ठेक्का प्रकरणले ओलीको ली बन्ने सपनाको यात्रा तय भएको जस्तो लाग्छ?

उनमा पनि सपना छन्। उनका नजिकका मानिसहरूले ति सपनाका बाछिटालाई जनसामु देखाउने कोशीश गरे। ओलीलाई लि क्वान जस्तो नेता बन्ने रहर थियो। अझै पनि छ।

पहिला लि क्वान को हुन् भन्ने संक्षेपमा बुझौं । यीनको पूरा नाम ली क्वान यी हो। १९२३ मा सिंगापुरको धनाड्य परिवारमा जन्मिएका ली बेलायतमा उच्च शिक्षा पूरा गरी सिंगापुर फर्किए।

पूर्व, पश्चिम तथा दक्षिणतिर अवस्थित विशाल निकटतम छिमेकी राष्ट्र इन्डोनेसिया र उत्तर पश्चिमपट्टकिो अर्को निकटतम विशाल छिमेकी राष्ट्र मलेसियाको बीचमा रहेको यो सानो मुलुकको अवस्थिति हेर्दा पूर्व, पश्चिम र दक्षिणतिरको विशाल छिमेकी राष्ट्र भारत र उत्तरतिर अवस्थित नेपालको अवस्थितिसाग लगभग मिल्दोजुल्दो छ। काठमाडौं र ललितपुर जिल्लाको क्षेत्रफल जोड्दा हुने क्षेत्रफलभन्दा सानो अर्थात् ५७० वर्ग किलोमिटर क्षेत्रफल भएको यो सानो राष्ट्र जुन विश्वका कतिपय मुलुकका राजधानी सहरभन्दा सानो छ, त्यसका नेता भए ली।

ली कानुनको अध्ययन समाप्त गरी स्वदेश फर्किएर वकालत गर्न थाले। यही समयमा उनी मजदूर युनियनका कानुनी सल्लाहकार पनि भए। सन् १९५४मा उनकै पहलमा पिपुल्स एक्सन पार्टी नामक राजनीतिक सङ्गठन खडा भयो। उनी त्यसका महासचिव चुनिए र सन् १९९२ सम्म महासचिव पदमा कायम रहे। सन् १९५५मा उनी सिङ्गापुर विधानसभाको सदस्यमा चुनिए। सन् १९५९मा स्वशासित सरकारका प्रधानमन्त्री बनेका ली सन् १९६३को सेप्टेम्बरदेखि मलेसियाको एउटा प्रदेशको रूपमा सिङ्गापुर रहँदा पनि सिङ्गापुरको प्रधानमन्त्री थिए। सन् १९९० सम्म अर्थात् ३१ वर्षसम्म उनी लगातार प्रधानमन्त्री पदमा रहे। सन् १९६५मा सिङ्गापुर स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा स्थापित भयो।

राष्ट्रलाई समृद्धशाली बनाउने निर्णायक तत्व जनता नै हुन् भन्ने ली तिनका शिक्षा, तालीम, ज्ञान, प्राविधिक क्षमता राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण हुने कुरामा विश्वस्त थिए।

पार्टी बनाउने र बढाउने कुरामा उनले भनेका छन्,‘पार्टीको भित्री तहमा मन परेका व्यक्तिलाई मात्र स्थान दिने हो भने पार्टी विस्तार गर्न सकिन्न। जति बढी निस्वार्थी नेता हुन्छ त्यति बढी जन समूहलाई आकर्षण गर्न सक्छ भाषणले मात्र जनसमूह आकषिर्त हुँदैन।’

सन् १९५९को विधान सभाको चुनावमा ५१ सिटमध्ये ४३ सिटमा उनको पार्टीले विजय हासिल गरेपछि प्रधानमन्त्री बनेका लीका सामुन्ने बेरोजगारी, द्रुत परिणामको उच्च जनआकांक्षा विस्तृत भ्रष्टाचार, अधिक हडताल, न्यून लगानी, स्कूल र संघसंस्था तथा सङ्गठनमा देखिएका विकृति, दुःखमय समाजका भारी उपस्थित थिए तर ती समस्या र अप्ठ्याराहरूको समाधानमा निरन्तर गम्भीररूपमा लागेर उनले ती सबैबाट पार पाए।

सुरुमै अर्थतन्त्रको सुधारका लागि व्यापक औद्योगीकरण, न्यून मूल्यमा आवास कार्यक्रम, भ्रष्टाचार विरोधी वृहत् रणनीतिजस्ता कार्यक्रम ल्याएर सन् १९६७मा आर्थिक विकास बोर्ड गठन गरी उनले वैदेशिक लगानी भित्राउने प्रयास गरे। वैदेशिक लगानी प्रभावित गर्न उनले आकर्षक कर प्रोत्साहन नियम लागू गर्दै सापेक्षित न्यून वेतनिक दक्ष, अनुशासित श्रमशक्तिलाई ती उद्योगहरूमा आकर्षण गराए। त्यसैगरी भूमि, श्रम तथा पूाजिगत स्रोतहरूमा कसिलो नियन्त्रणका नियम बनाए। देशको अर्थतन्त्रको अर्को मजबुत आधार पर्यटन उद्योगलाई बढावा दिइयो। आधारभूत संरचना निर्माण गर्ने क्रममा हवाइ मैदान, बन्दरगाह, सडक तथा सञ्चार सञ्जाल विकसित गरेर बेरोजगारी घटाउने यस्तो प्रयास भयो कि सन् १९६५मा १४ प्रतिशत बेरोजगारी रहेकोमा सन् १९७३ सम्म आइपुग्दा त्यो घटेर ४.५ प्रतिशतमा झरेको थियो।

त्यसैगरी सन् १९६०मा प्रतिव्यक्ति आय अमेरिकी मुद्रामा ४४३ डलर रहेकोमा सन् १९८०को मध्यतिर त्यो १५ गुणाले बढेर ६६३४ डलर पुग्यो। यसै अवधिमा पूर्ण रोजगारका कारणले बेरोजगारी त्यहाँको समस्या रहेन। सार्वजनिक बसोबासको वृद्धि ९ प्रतिशतबाट ९ गुना बढेर ८१ प्रतिशत पुग्यो। यसै अवधिदेखि भ्रष्टाचार त्यहाको जीवन पद्धतिबाट हरायो।

एउटा सत्ताको कार्यकारी प्रमुखले चाहँदा ली क्वान या हुन सेन दुवै बन्न सक्छ। दुवैको लामो सत्ता हो। ली क्वानलाई जनताले खुशीसाथ सत्तामा टिकाए र विकासको नयाँ आयाममा आफूलाई उभ्याए। फलतः सिंगापुर संसारकै उत्कृष्ट मध्येको एउटा मुलुक हो जहाँ डोनल्ड ट्रम्प र किम जोङको पहिलो वार्ता समेत हुन सक्छ। कम्बोडियाको विश्व मानचित्रको व्याख्या के छ? आखिर त्यहाँ पनि लामो सत्तामा छन्, हुन सेन। उनी आफ्ना लागि सफल छन् तर जनताको निम्ति सफल हुन् त?

प्रधानमन्त्री ओलीको सपना यीनै हुन्। तर के प्रधानमन्त्री ओली ली क्वानको बाटोमा छन्? सचिवालयमा रहेका मानिसका विवादीत हर्कत, मन्त्रीमण्डलमा रहेका भ्रष्टाचारका कथा, खुलेआम एउटा मात्रै नीजि कम्पनीका लागि दिइएका अनेक ठेक्का प्रकरणले ओलीको ली बन्ने सपनाको यात्रा तय भएको जस्तो लाग्छ? प्रतिव्यक्ति आयमा घट्नु, व्यापार घाटाले पराकाष्ठ व्यहोर्नु, राजनीतिक हत्कण्डा र विवादीत मानिसलाई अर्थ मन्त्रालयजस्तो महत्वपूर्ण जिम्मेवारी दिनुले प्रधानमन्त्री ओली ली विचार र व्यवाहारका हिमायती जस्ता देखिन्छन् ? यो प्रश्नको उत्तर खोजी हुनुपर्छ भन्ने मान्यता राखिन्छ। यहाँ राजनीतिक अवस्थामा ली कति आन्तरिक समस्यामा थिए होला भन्ने कारणको खोजी हुँदैन। यस्ता स–साना आन्तरिक चुनौती हुन्छन् । तिनलाई पार गरेर मात्रै ली जस्तो बाटोमा हिँड्न सकिन्छ ।

अर्को प्रश्न के हो भने ली क्वानको सपना देखेका प्रधानमन्त्री सिंगापुरको विकास मोडल र ली का दर्शनका निम्ति त्यहाँ पुगेनन् । बरु, उनी कम्बोडिया पुगे। जहाँ हुन सेनको लामो सत्ता छ। शासन छ।

हुन सेनबारे छोटो व्याख्या गरौं–

कम्बोडियाका प्रधानमन्त्री हुन सेन अति साधारण परिवारमा जन्मिएका हुन्। एक पुजारीको तेस्रो सन्तानका रुपमा हुन सेन जन्मिएका थिए। यीन शक्तिमा आउनुपूर्वको यात्रा रोचक छ। यी बटालीयन कमान्डरका रुपमा कार्यरत थिए। यीनि भियतनामले प्रशिक्षार्थी या उपयोग गरेको सेनाको कमान्डरका रुपमा काम गर्ने मध्येमा पर्छन्।

१९८५मा अनेक राजनीतिक हत्कन्डाहुँदै यीनि प्रधानमन्त्री बनेका थिए। एम्नेस्टी इन्टरनेशनलले सन् १९८७ मा हुनसेन सरकारले हजारौं कैदीलाई ‘इलेक्ट्रिक सक’ दिएर, तातो ईस्त्रीले पोलेर यातना दिएको भनी रिपोर्ट सार्वजनिक गरेको थियो। हुन सेनका मानवअधिकार विरुद्धका अनेक प्रकरण छन्। यस्तै, राजनीतिक दलको बहुमतका नाममा उनी हालसम्म पनि कम्बोडियाका कार्यकारी प्रमुखका रुपमा बसिरहेका छन्। अर्को, आउने प्रजातान्त्रिक मार्ग खोले पनि रणनीतिक बाटो छैन। यीनि कम्युनिस्ट विचारधारामा नै आफूलाई विश्वास राख्ने मध्येमा पर्छन्।

एउटा सत्ताको कार्यकारी प्रमुखले चाहँदा ली क्वान या हुन सेन दुवै बन्न सक्छ। दुवैको लामो सत्ता हो। ली क्वानलाई जनताले खुशीसाथ सत्तामा टिकाए र विकासको नयाँ आयाममा आफूलाई उभ्याए। फलतः सिंगापुर संसारकै उत्कृष्ट मध्येको एउटा मुलुक हो जहाँ डोनल्ड ट्रम्प र किम जोङको पहिलो वार्ता समेत हुन सक्छ। कम्बोडियाको विश्व मानचित्रको व्याख्या के छ? आखिर त्यहाँ पनि लामो सत्तामा छन्, हुन सेन। उनी आफ्ना लागि सफल छन् तर जनताको निम्ति सफल हुन् त?

यहि मेसोमा सपनाहरूको पोको र झिलिझ्याम्टा बोकेका हाम्रा प्रधानमन्त्री ओली आफूमात्र सफल हुन चहान्छन् कि जनतालाई खुसी र सफल बनाउन चहान्छन्? केही समयका उतारचढाव र प्रयोगलाई व्याख्या गर्ने हो भने ओली सत्ताका निम्ति जनता चहान्छन् कि सत्ताका निम्ति सत्ता भन्ने आन्तरिक राजनीतिक कलहले प्रष्ट बनाएको छैन र? कुटनीतिक मान र मर्यादाको सीमा उल्लंघन, उडन्ते, फिरन्ते तर्क र कुतर्कलाई सुन्दा उनी कुन बाटोमा छन्? यहि प्रश्न बनेको छ।

मुलुक बनाउनका निम्ति सत्ता चाहिन्छ, सत्ताको टुप्पोमा कार्यकारी अधिकार हुनैपर्छ। तर त्यो कुर्सीमा बसेपछि आम मानिस र देशलाई निम्छरा देखियो भने त्यो लोकतान्त्रिक प्राणी हुन्छ कि अभिमानी, अहंकारी तानाशाही? यस विषयको मन्थन गर्दा बेस होला। सुझाव छ– ली क्वानको सपनाको यात्रा होस्, हुन सेनको भूत नजागोस्!

प्रतिक्रिया