सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: कहाँ भयो कमजोरी ?


काठमाडौं-  गत साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे गठित जाँचबुझ समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा जहाज दुर्घटनाको मुख्य कारणमा जहाजको तौल सन्तुलन नमिलेको, टेकअफको गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र उडान सुरक्षा प्रणालीको कमजोरीलाई देखाइएको छ । तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ । ‘पाइलटले जहाज टेकअफका क्रममा अस्वाभाविक हाइ पिच लिएको एफडीआरबाट देखियो। टेकअफ पिचको गति प्रति ३ डिग्री प्रति सेकेन्ड हुनुपर्नेमा ८.६ डिग्री देखियो,’ रिपोर्टमा भनिएको छ।

मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको आयोगको प्रारम्भिक निष्कर्ष छ ।

जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको बताएको जाँचबुझ आयोगले ब्यागेजसहित जहाजको कूल तौल १८ हजार १३२ किलो तौलसहित जहाजले टेकअफ गरेको जनाएको छ । जहाजमा थप २ हजार किलो इन्धन थियो ।

‘टेकअफ वेट’लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत दिइएको निष्कर्ष अध्ययनको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

विस्तृत परीक्षण (सि–चेक) का लागि पोखरा उडेको उक्त जहाजमा कम्पनीका प्राविधिक कर्मचारीबाहेकका यात्रु सवार रहेको विषयमा भने जाँचबुझ समितिले कुनै विषय उठान गरेको छैन । आवश्यक प्राविधिक कर्मचारीबाहेक एयर होस्टेसलाई समेत उडाउन नमिल्ने उक्त उडानमा उड्डयन सुरक्षाको नियम अनुसार कम्पनीका प्राविधिकका नाबालक छोरा र श्रीमतीलाई समेत उडाउँदा एउटा परिवारका तीनै जनाले ज्यान गुमाउनु परेको थियो ।

दुर्घटना जाँचबुझ आयोगले तत्कालका लागि सुधार गर्नुपर्ने तीनवटा सुरक्षा सिफारिस गरेको छ । आयोगले सबै वायुसेवा सञ्चालकले तत्कालै आफ्नो स्पिडकार्ड र आरटिओडब्लू चार्टहरू पुनरावलोकन गर्नुपर्ने, सबै अपरेटरले सामान र कार्गोको तौल, त्यसको विवरण र ल्याचिङ सञ्चालन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्याअनुलमा निर्दिष्ट भएअनुसार सुनिश्चित गर्नुपर्ने सुझाव दिएको छ ।

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमितबाहेकका ‘गैरआम्दानी’ वा ‘फेरि’ उडानहरूको अनुमति दिनका लागि कार्यविधि बनाउन सुझाव दिइएको छ ।

प्रतिक्रिया