


विद्युत प्राधिकरण कठिन अवस्थामा छः हितेन्द्रदेव शाक्य

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण कठिन अवस्था रहेको बताएका छन्।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औँ महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको बताए।
शाक्यका अनुसार अहिले प्रशारण र वितरण प्रणालीले धान्न सकिरहेको छैन। कमजोर प्रशारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पुर्याएको उनको दाबी छ।
शाक्यले विद्युत पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै पर्याप्त लगानीको खाँचो रहेको उल्लेख गरे। शाक्यले आगामी दिनमा विद्युत पूर्वाधारमा लगानी नगरे उर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा रहेको जिकिर गरे।
उनले भने, ‘नेपाल विद्युत प्राधिकरण अहिले कठिन अवस्थामा छ। प्राधिकरण घाटामा गएर कठिन परिस्थिति आएको होइन। नेपाल विद्युत प्राधिकरण अघि बढ्नुपर्ने बाध्यात्मक स्थितिमा उभिएको छ।’

