ह्विल चियरमा विद्यालयदेखि कार्यालयसम्म


मङ्गलबारे (इलाम)– आलोक खतिवडा २३ वर्षको भए । उनको कम्मर चल्दैन अर्थात् बसेको एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्दैँनन् । उनी हालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उत्तीर्ण भएर जिल्ला हुलाक कार्यालयमा कार्यरत छन्।

आलोकका दाजु २६ वर्षीय भुपालले पनि लोकसेवा आयोगले लिएको नायब सुब्बाको परीक्षामा पहिलो पत्र उत्तीर्ण गरेर त्यसपछिका परीक्षा दिइसकेको छ । आलोकले गत वर्ष स्नातक पूरा गरेका हुन् भने दाजु भुपालले तीन वर्षअघि स्नातक सकेका हुन्। उनीहरू दुवैले इलामबाटै आफ्नो अध्ययन पूरा गरेका थिए ।

बुबाआमा बजारमा सामान्य तरकारी पसल गर्छन् । तरकारी बेचेर बुबा भुवन र आमा तेजकुमारीले आलोकलाई सरकारी सेवामा प्रवेश गराए। अपाङ्गता भएका धेरैले सामान्य अपाङ्गता हुँदा पनि माग्दै हात थापेर जीविकोपार्जन गरिरहेको अवस्थामा आलोक मेहनत गर्दा सफल भइन्छ भन्ने उदाहरण बनेको छ । आलोकले कार्यालयमा कम्प्युटर चलाउने र दर्ता गर्ने काम गर्र्दै आएको बताए ।

‘मेहनत गर्‍यो भने सफलता मिल्दोरहेछ’, आलोकले भने । दुईजना सन्तानमध्ये दुवैजना शरीरिक अपाङ्गता छ । दुवैजनाको कम्मर नचल्ने समस्यम रहेको आमा तेजकुमारीले बताइन् । कम्मर नचलेपछि एक ठाउँमा बसेका उनीहरू अर्को ठाउँमा सर्न सक्दैँनन्। दिशा पिसाब गराउन दुवै छोरालाई बुबाआमाको सहारा चाहिन्छ ।

कान्छो छोराले लोकसेवा पास गरी सरकारी प्रवेश गरेसँगै परिवारमा एउटा खुसी प्रवेश गरेको आमा तेजकुमारीले बताइन् । जन्मिएको करिब नौ वर्षको उमेरदेखि दुवै छोरा हिँड्न नसक्ने भएपछि बुबाआमाले ह्विल चियरको सहारामा विद्यालयसम्म लैजान्थे । दैनिक विद्यालय पुर्‍याउने र ल्याउने गर्दै उच्च शिक्षासमेत त्यसरी नै पढाएको बुबा भुवनले बताए ।

इलामको सन्दकपुर घर भएका उनीहरू छोराहरू हिँड्न डुल्न नसक्ने भएकाले इलाम बजारमा सरे । छोराहरूको शिक्षाका लागि भनेर लामो समय दुःख र सङ्घर्ष गर्नुपरेको उनले दुःसेसो सुनाए। ‘उपचारका लागि नेपालका धेरै अस्पतालमा लगे पनि उपचार सम्भव भएन।  ह्विल चियरमा भए पनि विद्यालय र उच्च शिक्षा हासिल गराउपर्छ भनेर हामीले निरन्तर सङ्घर्ष गर्यौँ’, उनले भने ।

‘आफ्नो आफ्नो लेखान्त रहेछ। जे भए पनि एउटा खुसी पाएका छौँ’, आमा तेजकुमारीले भनिन् । अहिले पनि बजारमा तरकारी पसल गरिरहेको भन्दै छोरालाई कार्यालय लैजाने र ल्याउने काममा बुबा दैनिक खटिनुपर्ने उनले जानकारी दिइन् । ‘म तरकारी पसलमा बस्छु। बुबाले कान्छो छोरालाई कार्यालय छोडेर आएपछि पालैपालो गरेर घरमा भएको छोरोलाई दिसापिसाब गराउने र खान दिने गरिरहेका छौँ’, उनले भने ।

गत जेठमा नियुक्त लिएर पाँचथरको अमरपुरमा हाजिर गर्न आएका आलोक इलाममा सरुवा लिएर हाल जिल्ला हुलाक कार्यालयमा कार्यरत छन्। अमरपुरमा हुँदा पनि चारैजनाको परिवार उतै बस्दै आएको थियो ।

आलोक जिल्लामा एक उदाहारण बनेको छ। मेहनतले सफल भइने उनको बुझाइ छ । उनी अरूलाई पनि मेहनत गर्ने सल्लाह दिन्छन् । उनले दोस्रो पटकमा नाम निकालेको हो । १२ जनाको कोटामा करिब तीन हजारको प्रतिस्पर्धा रहेको उनले बताए । ‘दोस्रो चरणमा पनि दुई सय ८४ जनाले परीक्षा दिएकामा खुल्ला तेस्रो नम्बरमा नाम निकाल्न सफल भएको हुँ’, आलोकले भने । लोकसेवा आयोग धेरैको सपना जस्तै बनेको छ। उनीहरूले मेहनत गरेकाले सफलता मिलेको बताए ।

भुपाल योसहित तीन पटक लोकसेवाको परीक्षामा सहभागी भइसकेको छ । अबको पटक नाम निस्कनेमा उनी पनि ढुक्क छन् । मेहनती र इमान्दार खतिवडा कार्यालयमा समेत राम्रो काम गर्ने कर्मचारीका रुपमा छन् ।

अपाङ्गतामैत्री कार्यालय निर्माण गरेर उनको सहजतामा समेत आफूहरू लागेको जिल्ला हुलाक कार्यालय इलामका निमित्त प्रमुख गणेश घिमिरेले बताए । ‘केही व्यक्ति अझै पनि सामान्य अपाङ्गता हुँदा केही गर्न सक्दिन भन्ने सोचमा हुन्छन् । आलोक उहाँहरू सबैका लागि प्ररणाको स्रोत बन्नुभएको छ’, उनले भने, ‘उहाँको पदोन्नति होस् अनि भुपाल पनि आगामी परीक्षामा सफल बन्नुहोस् भन्ने हाम्रो कामना छ ।’

प्रतिक्रिया