हिउँ नपर्दा कृषि र विद्युतमा समस्या


बलेवा – ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकाले कृषि र विद्युत् उत्पादनमा असर परेको छ । हिउँदे बालीका लागि हिउँको महत्व बढी छ तर यो वर्ष थोरै हिउँपर्दा किसानले लगाएको गहुँलगायत फसल थोरै फलेको छ । ‘अघिल्ला वर्ष प्रसस्त फलेको गहुँ यो वर्ष असाध्यै कम छ’, ढोरपाटन नगरपालिका–९ का गोविन्द पुनले भने, ‘खेतीपाती राम्रो नभएपछि किसानलाई मर्का परेको छ ।’ हिउँ नपरेको वर्ष आलु, स्याउलगायत बाली पनि नराम्रो हुने उनले बताए ।

ढोरपाटनका किसानले फाँपर पनि लगाउने गर्छन् । पानी अभावले उत्पादनमा ठूलो क्षति पुग्ने किसानले गुनासो गरेका छन् । हिउँ अभावमा ढोरपाटनकै गार्पाखोला लघुजलविद्युत् आयोजनाबाट बिजुलीसमेत पर्याप्त उत्पादन हुनसकेको छैन । ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा रहेको यो आयोजना ४० किलोवाट क्षमताको हो । अघिल्लो वर्ष पटकपटक हिउँ परेकोमा गत फागुन पहिलो साता एक दिन मात्र हिउँ परेको थियो ।

उक्त हिउँ पनि दुईचार दिनमै पग्लने खालको भएको स्थानीयवासीले बताएका छन् । उक्त आयोजनाबाट यसवर्ष पानी अभावले उत्पादन घटेको गार्पाखोला लघुजलविद्युत् आयोजना उपभोक्ता समितिका सचिव कमल भण्डारीले बताउनुभयो । ‘कुलोमा पानी सानो छ, उत्पादन पनि घटेको छ”, भण्डारीले भने, ‘हिउँ परेको वर्ष चैत वैशाखसम्म पनि हिउँ पग्लेर पानीको मात्रा बढी हुन्थ्यो, अहिले छैन ।’

पानी अभावले विद्युत् नपुग्दा साँझको समयमा बिजुली जाने समस्या भएको उनले बताए । उनका अनुसार हिउँदमा २० किलोवाट मात्रै उत्पादन भएको छ । यो उत्पादनले ढोरपाटन उपत्यकालाई बिजुली पुग्दैन । जलविद्युत्बाट ढोरपाटन उपत्यकाभित्रका भण्डारी गाउँ, पाखाथर, नौथरलगायत गाउँका ३५० घरधुरी, ढोरपाटन शिकार आरक्ष कार्यालय, नेपाली सेनाको शत्रुमर्दन गुल्म ब्यारेकमा बिजुली बाल्ने गरिएको छ ।

आंशिक रुपमा उत्पादन भएको यस विद्युत्ले सबै घरधुरीमा एक साथ पु¥याउन नसकिएको हो । आयोजनाबाट टोलअनुसार फरकफरक समयमा बिजुली वितरण गर्दा मोबाइल चार्ज गर्ने र अन्य कामका लागि समस्या परेको स्थानीयवासी शिक्षक चकबहादुर अदैले बताए । “बिजुली अभावले फोन नलाग्ने र साँझमा उज्यालो बनाउन समस्या परेको छ’, अदैले भने, ‘यसको ठूलो असर विद्यार्थीलाई परेको छ ।’ साँझ बिहान पढ्न नपाएर विद्यार्थीले सास्ती खेप्नु परेको उनले बताए ।

नगर भवन बनाउन निःशुल्क जग्गा

जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा दिएका छन् । नगरपालिका–१ र २ मा ८ रोपनी चार आना जग्गा स्थानीयवासीले निःशुल्क दिएका हुन् । जैमिनी नगरपालिका वडा नं १ कुश्मीशेरा (साविकको कुश्मीशेरा गाविस वडा नं ३) मा रहेको १८ रोपनी जग्गालाई एकीकृत गरेर १४ जना जग्गा दाताले नगरपालिकाको नाममा पाँच रोपनी जग्गा पास गराएको नगरप्रमुख ईन्द्रराज पौडेलले जानकारी दिए ।

बाँकी जग्गामा सडक, खानेपानी र विद्युत्लगायत संरचना निर्माण गरेर जग्गादाताले फिर्ता लिनेछन् । त्यस्तै वडा नं २ ९साविकको दमेक गाविस वडा नं २० मा श्रमलाल कँडेलको नाममा रहेको चार रोपनी चार आना जग्गा पनि नगरपालिकालाई निःशुल्क उपलब्ध गराइएको छ । पन्ध्र जनाको नाममा रहेको करोडौं मूल्य बराबरको टुक्रे जमीन एकीकृत गर्दै आठ रोपनी जग्गा नगरपालिकाले पाएको हो । मङ्गलबार नगर प्रमुख, उपप्रमुखको रोहवरमा उक्त जग्गा नगरपालिकाको नाममा नामसारी गरिएको छ ।

कुश्मीशेराका लक्ष्मीप्रसाद सापकोटा, टङ्क सापकोटा, नेत्रप्रसाद शर्मा, कृष्णप्रसाद शर्मा, मनकुमारी पाध्या, योगेश्वर पाध्या, शालिग्राम जैसी, लीलानाथ पौडेल लोकनाथ सापकोटा, गोपाल पाध्या दिनानाथ जैशी, भगिरथी अँखेली, यमप्रसाद शर्मा, देवीप्रसाद सापकोटा र झुपीदेवीको नाममा रहेको जग्गा निःशुल्क उपलब्ध गराएको जग्गादाता योगेश्वर पाध्याले जानकारी दिए ।

‘हाम्रो नगरको भवन बनाउने काममा हामीले जग्गा भएन भनेर हेरेर बस्न सकेनौं’, उनले भने, “बाहिर बिक्री गरेको भए कति मूल्यको थियो भन्नुहुन्थ्यो, हामीले सदासहायताले दिएको जग्गाको मूल्य गर्न मिल्दैन् । जग्गा उपलब्ध गराएवापत नगरपालिकाले सम्याउन लाग्ने खर्च व्यहोर्ने भएको छ ।’

टुक्राटुक्रामा रहेको जग्गालाई एकीकृत गरेर पाँच रोपनी नगरको नाममा राखेपछि बाँकी जमीन दाताकै लागि प्लटिङ गरेर दिने पौडेलले बताए । जैमिनी नगरको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न वडा नं १ का अध्यक्ष भूपेन्द्र थापाको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति बनेको थियो । समितिमा नगरस्तरीय राजनीतिक दलका प्रतिनिधिकोसमेत सहभागिता थियो ।

जग्गा अभावमा बजेट विनियोजन भएर पनि नगरको भवन बन्न सकेको थिएन । भवन नहुँदा नगरपालिकाको कार्यालय भाडाका घरमा राखिएको छ । घरभाडामा मात्रै मासिक झण्डै एक लाखभन्दा धेरै खर्च हुने गरेको छ । नगरपालिकालाई निःशुल्क उपलव्ध गराएको जग्गा कुश्मीशेरा बजारको मुख्य क्षेत्रमा पर्छ । यहाँको जग्गा प्रतिआना रु चार लाखसम्म कारोवार हुने गरेको छ ।

घर बनाउँदै बडिगाड

स्थानीयवासीले जग्गा दिएपछि बडिगाड गाउँपालिकाले भने आफ्नै प्रशासकीय भवन बनाउन थालेको छ । स्थानीय बासिन्दा मिलेर उपलब्ध गराएको १० रोपनी जमीनमा गाउँपालिकाले भवन निर्माणको काम थालिसकेको हो । अघिल्लो वर्ष स्थानीयवासीले अस्पताल र क्याम्पस बनाउनका लागि पनि जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

मासिक झण्डै एक लाख भाडा तिरेको यो पालिकाले आफ्नै भवन बनाएपछि उक्त रकम पनि बचत हुने अध्यक्ष मेहरसिंह पाइजाले बताए । पालिकाका लागि वडा नं ५ को खार बजारमा भवन बनाउन लागिएको हो । वडा नं १० को गगरे, निगाल पानीलगायत रणसिंकिटेनीको दुर्गम गाउँबाट यहाँ आउन अहिले पनि पाँचदेखि सात घण्टासम्म लाग्छ । प्रशासनिक काममा सदरमुकाम धाएकाले पालिकाबाट नजिकको सेवा पाएको वडा नं १० का अध्यक्ष वीरेन्द्र बुढाले बताए । केही समय अघिदेखि पालिका भवन बनाउन लागेकै स्थानमा १५ श्ययाको अस्पताल पनि निर्माणको थालनी भएको छ । आगामी वर्ष दुवै काम सकेर सेवा सञ्चालन गर्ने लक्ष राखेको पाइजाले बताए ।

निसीखोलाका सबै वडामा सडक

निसीखोला गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार गरिएको छ । स्थानीय सरकार गठन पछिका चार वर्षमा गाउँपालिकाले सबै वडा सडक विस्तार गरेको हो । सडक बनेपछि स्थानीयवासीलाई ओहोरदोहोरमा मात्रै होइन स्थानीय वस्तुको बजारीकरणमा सहज भएको छ । पहिले सडक नरहेका वडामा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको पहलमा वितेका चार वर्षमा ८८ किलोमिटर सडक बनेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बतार्ए ।

 

प्रतिक्रिया