आफ्नो समूहको भेलामा माधव नेपालले ‘आधा प्रतिगम सच्चिएको’ प्रमाण यसरी दिए


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय लिएको विषयलाई प्रतिगमनको सुँगा रटाई दिएका एमाले नेता माधव नेपालले आफ्नो समूहको भेलामा ‘आधा प्रतिगमन सच्चिएको’ प्रमाण दिएका छन्।

लोकतन्त्र र गणतन्त्र, संविधानको रक्षाको भयानक बयानबाजी गरेका उनले बुधबार सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा राधाकृष्ण मैनालीको खुलेर तारिफ गरे। मैनाली उनै हुन् जो तत्कालिन राजा ज्ञानेन्द्रले १९ माघको निर्णय लिएपछि एमाले छाडेर तत्कालिन सरकारको शिक्षा मन्त्री हुन पुगेका थिए।

त्यसबेला महासचिव रहेका नेपालले मैनालीलाई पार्टीको साधारण सदस्य समेत नरहेनगरी कारबाही गरेका थिए। तर एमालेभित्र प्रधानमन्त्री तथा अध्यक्ष ओलीविरुद्ध नेपालको संघर्ष चलेपछि आफ्नो भेलालाई आदर्शवादी देखाउनका निम्ति आफैंले कारबाही गरेका मैनालीलाई अग्रपंक्तिमा राखेर तारिफ गरिएको थियो।

‘नेपाली कम्युनिस्ट आन्दोलनमा झापा आन्दोलनमा निक्कै सक्रिय हुनुभएका राधाकृष्ण मैनालीजी यहाँ हुनुहुन्छ, यो हो हाम्रो एकता र प्रतिबद्धता’, नेपालले भने।

नेपालले मैनालीलाई कारबाही मात्र गरेका थिएनन्। गणतन्त्र स्थापना भएपछि तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टीमा मैनालीको आवद्धताको ब्यापक बिरोध र आलोचना गरेका थिए। सोही बेला मैनालीको कटाक्ष थियो,‘पदका लागि आधा प्रतिगमन सच्चियो भन्ने नेपालले केचाहिँ गर्दैनन् होला?’

अहिले मैनालीलाई अगाडि उभ्याएर नेपालले आधा प्रतिगमन सच्चियो भनी दरबारमा प्रधानमन्त्री पदका लागि आवेदन दिएको प्रमाण देखाएको ओली पक्षधरहरूको आरोप छ।

प्रतिक्रिया