माधव नेपालाई पेरिसडाँडाँमा प्रचण्डले दिएको ‘बचन’पछि ओलीले लिएका हुन् एमालेमा बोल्ड निर्णय!


काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता निरुपणको फैसला गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूवर्वत अवस्थामा पुगे। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली त्यसमा खुशी देखिए पनि प्रचण्डसँग मिलेर विद्रोहलाई साथ दिइरहेका माधवकुमार नेपाललगायतका नेतालाई भने नैतिक संकट परेको थियो।

सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्ने निर्णयसँगै प्रचण्डलगायतसँग विदाई बैठक भनी नेपाललगायतका नेता पेरिसडाँडाँमा बैठक बसेका थिए। त्यसबेलाको कार्यगत एकतालाई निरन्तरता दिनका लागि एउटा कठोर रणनीतिमा नेपाल तयार भए र प्रचण्डले पनि बचन दिए।

‘ओली पनि दुई पटक प्रधानमन्त्री भए तर यीनले त संविधान नै मासिसके, अब प्रधानमन्त्री माधवकुमार नेपाल बन्नुपर्ने र त्यसका लागि एमाले कब्जा गर्न आवश्यक रहेको प्रचण्डले भन्नुभयो, त्यसमा नेपाल सहमत हुनुभयो’, उच्च स्रोतले भन्यो,‘त्यहि रणनीतिअनुसार एमालेभित्र संघर्ष गर्ने भनी उनीहरू फर्किएका थिए।’

एमाले नेपालको कब्जामा आए स्वभाविक रुपमा ठूलो दलको नेता भएकाले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र समर्थन कायम राख्ने प्रचण्डको योजना थियो।

यति मात्र नभएर ओलीलाई संसदीय दलको नेताबाट हटाएर नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्ने, अविश्वासको प्रस्ताव दर्ता गर्नेलगायतका विषयमा सहमति बनेको थियो। उच्च स्रोतका अनुसार त्यो काम पूरा भए नेपाललाई प्रधानमन्त्रीमा समर्थन दिने तर अहिले नै ओलीलाई दिएको समर्थन फिर्ता नलिने विषयमा प्रचण्डले कन्भिन्स गरेका थिए।

नेपाल समूहले पनि यहि विषयलाई अघि सार्दै बाम गठबन्धन कायम राख्नुपर्ने लविङ गरिरहेको छ। त्यसपछि नेपाल पक्षले रणनीति तय गरेको थियो।

एमालेभित्र कसरी उपस्थित हुने विषयमा आफू पक्षका नेतालाई अर्याल होटलमा दुई दिनसम्म नेपालले ब्रिफिङ गरेका थिए। पदाधिकारीमा र संगठनका विभिन्न जिम्मेवारीमा आफू पक्षीय नै हावी रहेका कारण त्यसैमार्फत संघर्ष गरी ओलीलाई तह लगाउनुपर्ने सहमतिमा पुग्यो, उनको समूह।

तर पेरिसडाँडाँमा भएको सहमतिको सूचन यता प्रधानमन्त्री ओलीलाई आइसकेको थियो। लगत्तै उनले माओवादी केन्द्रसँग छुटेका तथा सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापालगायतको टिमसँग सघन छलफल गरे र सहमति जुटाउन थाले। उनले नेपाल पक्ष हावी हुन सक्ने देखेपछि तत्काल बैठक नै डाकेनन्।

पेरिसडाँडाँमा भएको सहमतिका विषयमा प्रचण्ड आफैंले पनि कतिपय मञ्चमा संकेत दिएका थिए। उनले कार्यकर्ता प्रशिक्षणका बेला शुक्रबार दिउँसो बुटवललगायतका ठाउँमा भने,‘माधवकुमार नेपाल पक्षका कार्यकर्तालाई तान्ने कोशीश नगर्नू त्यो टिमले एमाले कि कब्जा गर्छ, कि विद्रोह गरी हामीसँग एकत्रित हुन्छ।’

७ चैतका लागि केन्द्रीय समितिको बैठक डाकेका एमाले अध्यक्ष ओलीले सोही दिन आफूनिकटसँग छलफल गरी विभिन्न निर्णय गराए। २–८ मंसिरमा महाधिवेशन गराउने, ७० बर्षको उमेरहद खारेज, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी खारेज, केन्द्रीय समिति मात्र रहनेगरी निर्णय गराए।

यति मात्र होइन विभिन्न विभागका प्रमुख तथा इञ्चार्ज समेत परिवर्तनको निर्णय गराएर नेपाल समूहको पहिलो तयारीलाई धक्का दिए। ‘ओलीलाई जसरी पनि गलाउने भन्ने रणनीतिलाई असफल बनाउने कदमले नेपाल समूह मर्माहत बनायो, कब्जा गर्ने नियत फेल भयो त्यसैले विद्रोहमा लागे’, उत्त स्रोतले भन्यो,‘त्यसको परिणाम नै अब समानान्तर कमिटी गठन गरी नेपाल समूह अगाडि बढेको हो।’

कतिपय राजनीतिकशास्त्रीले ओलीको यो कदमलाई राजनीतिक ‘इगो’ पनि भनेका छन्। तर जसरी पनि प्रधानमन्त्री पदबाट ओलीलाई हटाउने र पार्टीमा कमजोर बनाउने रणनीति नेपालले लिएका कारणले ओली त्यसभन्दा अघि अर्को कदम चाल्न सफल भएको पनि विश्लेषण गरिएको छ।

यद्यपि नेकपाको विवादका क्रममा ओलीको विरोधमा रहेका प्रचण्ड, नेपाललगायतलाई उनले चाहना पूरा हुन नदिने भनी घोषणा गरेका कारण जुनसुकै हदसम्म पनि जान सक्ने कतिपयको बुझाई छ।

प्रतिक्रिया