

पूर्व-पश्चिम राजमार्गको गोरुसिङ्गेका होटेलमा बासी खाना

काठमाडाैं- पूर्व-पश्चिम राजमार्ग क्षेत्रका होटेलमा बासी तथा अखाद्य खाना पाइने गरेकाे छ ।
बस यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका गोरुसिङ्गेका होटेलमा सरसफाइ, खाना खाजाको गुणस्तर, मूल्यसूची, उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य तथा गुण नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र प्रहरीसहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बासी सडेगलेका खाना फेला परेकाे, सरसफाइमा ध्यान नदिएकाे, खाना नढाकी फ्रिजमा राखिएको फेला परेका होटेललाई पहिलोपटक ५ हजारका दरले जरिमाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । अनुगमनका क्रममा कैफियत देखिएका बस यात्रुलाई खाना खुवाउने ३ होटेललाई जरिमाना गरिएको घिमिरेले बताए ।
राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका होटेलमा उपभोक्ताको धेरै गुनासो आउने भएकोले छड्के अनुगमन गरिएको उनले बताएका छन् ।

