निरीह आईजी ! ३ ब्याच उछिनेर बढुवा गर्दा पनि चुपचाप

प्रहरीमा गृहमन्त्रीको नांगो हस्तक्षेप


काठमाडौं – नेपाल प्रहरी संगठन नेपालका सुरक्षा निकायमा सबैभन्दा बढी राजनीतिक चलखेल हुने संगठन बन्ने गरेको तथ्य नयाँ होइन । पछिल्लो समय विभिन्न ‘काण्ड’हरुले घेरिएका गृहमन्त्री रवि लामिछानेको नेतृत्वसँगै प्रहरीमा विवादित र अन्यायपूर्ण निर्णयहरुसँगै संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरको निरीहता देखिँदै आएको छ ।

एसपी र डिएसपी बढुवामा शीर्ष बरियताका अधिकृतहरुलाई पाखा लगाएर चाकडी र चाप्लुसीको भरमा निकटकालाई बढुवा गर्न सफल भएका गृहमन्त्री लामिछानेले पछिल्लोपटक डिआईजी बढुवामा त बरियतामात्र नभई २ वटा ब्याचका अधिकृतहरुलाई नै छुटाएर विवादित निर्णयका लागि दबाब दिएका छन् । राजनैतिक यात्राको सुरुवाती चरणमै वाकपटुता र घुर्कीकै भरमा सरकार र त्यहीमाथि दोस्रोपटक गृह मन्त्रालय सम्हालेका लामिछानेले प्रहरी संगठनमाथि चर्को हस्तक्षेप गरेको पुष्टी पछिल्ला घटनाक्रमहरुले प्रष्ट पारेका छन् ।

डिएसपीबाट एसपीमा बढुवा गर्दा पहिलो नम्बरका अधिकृतलाई नै छाड्नु, जिल्लाको कमाण्ड दिएका अधिकृतलाई तीन महिना पनि नपुग्दै तान्नु त्यसका ज्वलन्त उदाहरणहरु हुन् ।

पछिल्लो पटक भएको एसएसपीहरुको बढुवा अन्यायपूर्ण भएको भन्दै विवादमा परेको छ। शुक्रबार मध्यरातमा गरिएको डिआइजी बढुवा सिफारिस विवादमा परेको हो।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले शुक्रबार नेपाल प्रहरीका चार प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवाका लागि सिफारिस गरेको हो । सो सिफारिसमा गृहमन्त्रीको दबाबमा समितिले बरियतालाई मिचेर बढुवा सिफारिस गरिएको भन्दै आलोचना सुनिएको हो ।

बढुवा सिफारिस समितिले पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल, दोस्रो नम्बरमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी दानबहादुर कार्की, तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयका कार्यरत डा. मनोज केसी र चौथो नम्बरमा हेडक्वाटरको तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको छ।

सिफारिस गर्दाको बखत तीन डीआईजीको दरबन्दी अहिले रिक्त रहेको र यही बिहीबारदेखि डीआईजी सुरेन्द्र मनौली उमेर हदका कारण अवकाशमा जाने भएपछि मैनालीको ठाउँमा रिक्त हुने दरबन्दीलाई समेत मिलान गरेर चार जनालाई बढुवाका लागि सिफारिस गरिएको हो।

उक्त बढुवा सिफारिसमा जुनियरलाई बढुवा गरेर चेन अफ कमाण्ड भत्किएको भन्दै थुप्रैले यसलाई गलत भएको बताएका छन्।

अहिले बढुवा भएका चार डिआईजीमध्ये शर्माबाहेकका तीनमध्येबाट एक जना आगामी संगठन प्रमुखको दौडमा अग्रणी स्थानमा हुने देखिएको छ । आगामी संगठनको नेतृत्वका लागि कार्की, केसी र अधिकारीको दौड बलियो बनेको छ । यस बढुवाबाट आफू अनुकूलको संगठन प्रमुख बनाउने खेलमा गृहमन्त्री लागेको देखिएका छन् ।

यसपटक २०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका चार ब्याचका करिब ३ दर्जन एसएसपीहरु बढुवाको प्रतिस्पर्धामा थिए। जसमा २०५२ मा इन्सपेक्टर भएका शर्मासँगै २०५४ को टोलीका कार्की, केसी र अधिकारी बढुवाका लागि सिफारिसमा परेका हुन्। तर, २०५१ र २०५३ को टोली भने बढुवामा परेका छैनन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बढुवा सिफारिस समितिले २०५४ को टोलीका कार्की, केसी र अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो। त्यसका लागि संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुँवरले आप्mनो अडान कायम राख्न सकेको देखिएन । केही साताअघिको आप्mनो फ्रान्स भ्रमण अघि नै डिआईजी बढुवा सिफारिसको तयारी गरेका आईजी कुँवरले त्यतिबेला पनि गृहमन्त्रीको दबाब खेप्न नसकेपछि बढुवा नै नगरी उता लागेका थिए ।

एक नम्बरमा बढुवा सिफारिस भएका शर्माभन्दा अघि भने भोलाबहादुर रावल, ध्रुवराज राउत, दिल्लीराज बिष्ट र गणेश चन्दले इन्सपेक्टरको नियुक्ति लिएका थिए। तर, डीआइजी बढुवाको दाैडबाट भने उनीहरू चारै जना बाहिरिएका छन् ।  यी चारै जना एसएसपीहरू वर्तमान आईजी कुँवरकै ब्याची हुन् ।

यस्तै ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका २०५३ को टोलीबाट डीआईजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत पनि छुटेका छन्।

अहिले २०५३ को टोली र २०५१ को टोलीलाई समेत उछिनेर २०५४ को टोली डीआईजीमा बढुवा भएको हो।

प्रतिक्रिया