कोराभित्रैबाट बबिताको कामना, ‘बेपत्ता छोराको अवस्था छिट्टै थाहा पाइयोस्’


आज चैत २० गते बुधबार । गोरखा पौवाखेतकी बबिता रोकाको सिउँदो पुछिएको पाँचौं दिन अनि ‘कोख’ बेखबर भएको चौथो दिन ।

गोरखा नगरपालिका वडा नं. ७ स्थित पौवाखेत पुरै गाउँ सुनसान छ, अधिकांश घरमा समयमा खाना पाकेका छैनन् । युवा र पुरुषहरु त्रिशुलीको किनार र महिलाहरु बबिताको घर जाने तयारीमा छन् ।

शुक्रबार शंकरको काठमाडौंको आर्यघाटमा अन्तेष्टी गरेर अस्तु लिएर गोरखामै गएर किरिया गर्ने गरेको रोका परिवारको योजना मुग्लिन नजिकै पुगेपछि तहसनहस भयो । दिवंगत शंकरका छोरासहित आमा र दिदीबहिनीका साथै भाञ्जासहित ज्वाईंले चलाएको ट्याक्सी एकाएक त्रिशुलीमा बजारियो, अनि ठाउँको ठाउँ ५ जना मृत अवस्थामा भेटिए भने छोरा दिवसको अवस्था अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।

‘हिजो–अस्ति जस्तै आज पनि त्रिशुलीमा दिवसको खोजीमा जानुपर्छ, खै केही पत्तो लागेको छैन,’ पौवाखेतका दिवसका काका नाता पर्ने विकासले भने ।

सेतो कोराभित्र बेरिएर शीरको सिन्दुर र सासुको किरिया बसिरहेकी बबिता छोरालाई सम्झिँदै बेला–बेला एक्कासी भक्कानिन्छिन् । ‘चार दिन भइसक्यो अहिलेसम्म केही खबर पाउन सकिएको छैन’, वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले भने, ‘प्रहरीहरुसँग त्रिशुली किनारमा यहाँका युवाहरु पनि गएका छन्, तर खै पत्ता नै लागेन, घटनास्थलमा म आँफैं पनि पुगेको थिएँ, त्यहाँको अवस्था हेर्दा दिवस सकुशल छ जस्तो पक्कै छैन, अहिले नदी त्यति धेरै ठूलो त छैन, भेटिनु त पर्ने हो ।’

श्रीमान् गुमाएर पीडामा रहेकी बबिता अहिले सासुको पनि किरिया आफैं गरेकी छिन् । उनैले श्रीमान्सहित सासुको पनि किरिया आँफैं बस्ने गरेको निर्णयसँगै गाउँलेले उनको साथ भने छाडेका छैनन् ।

श्रीमान् गुमाएकी बबिताको एकमात्र छोरा दिवसको बेखबरले पौवाखेत झन् पीडामा डुबेको छ । शीरको सिन्दुरलाई बागमतीमा मिसाएकी बबिताले कोखको घाउ एकमात्र छोरालाई त्रिशुलीको किनारमा खोजी रहेकी छिन् । यही वैशाखमा हुने कक्षा १२ को परिक्षाको तयारी गरिरहेका बेला एक्कासी बुवा गुमाएका दिवस पनि बेपत्ता हुँदा बबिता थप पीडामा छिन् ।

शनिबारको दुर्घटनामा बबिताकी सासु जुनकिरी रोका, अमाजु हरिमाया उपरकोटी, भाञ्जा आगमन उपरकोटी, नन्द अञ्जना रोका र माइला ज्वाईं अर्जुन सिमलले त्रिशुलीको पानीमा अन्तिम सास फेरेका थिए, भने छोरा दिवसको अहिलेसम्म पनि अवस्था थाहा हुन सकेको छैन ।

प्रतिक्रिया