सहकारी ठगी प्रकरणः संसदीय छानबिन समितिको कार्यादेशका लागि कार्यदल गठन
काठमाडौं – प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदल गठन गरिएको छ ।
संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आजको संसद् बैठक सहजरूपमा अघि बढ्ने विश्वास गरिएको छ ।
छानबिन समिति गठन गर्ने विषयमा शनिबार छलफल भएको थियो । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए ।
त्यसपछि प्रधानमन्त्रीले सत्तारुढ दलका नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए ।
आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजे बस्ने गरि बोलाइएको छ ।