तत्कालिन आईजी सिंहको कोपाभाजनमा परेका तीन उत्कृष्ट अधिकृतलाई संवेदनशील जिल्लाको कमाण्ड


काठमाडौं –  नेपाल प्रहरी मुलुकको सबैभन्दा बलियो सुरक्षा संगठन हो । त्यस संगठनका नेतृत्व गर्नेहरुबाट कहिलेकाहिँ व्यक्तिगत स्वार्थ र तुषका कारण कतिपय अब्बल अधिकृतहरुको घाँटी निमोठिए पनि कुनै नेतृत्वहरुले त्यसलाई सच्याउँदै घाँटी निमोठिएकाहरुलाई न्याय दिने गरेका छन् ।

प्रसंग हो, यसपालि सरुवा भएको प्रहरी उपरिक्षकको सूची । नेपाल प्रहरीका अब्बल अधिकृतहरु गौतमकुमार केसी, बसुन्धरा खड्का र अपिलराज बोहोरा पूर्व संगठन प्रमुख धिरजप्रताप सिंहको कोपाजनमा परेका अधिकृत हुन् । उनीहरुलाई गत २०७९ को असार २९ गते गरिएको ३६ जना एसपी बढुवामा २०५८ ब्याचका २१ र २०६१ का १५ जनालाई बढुवा गरिए पनि पहिलो र दोस्रो नम्बरमा रहेका गौतमकुमार केसी र अपिलराज बोहोराका साथै २०६१ ब्याचकी एकमात्र महिला अधिकृत बसुन्धरा खड्कालाई बढुवामा छुटाएका थिए । जसको फलस्वरुप प्रहरीमा उत्कृष्टहरुले न्याय नपाएको आभाष त्यतिबेला देखिएको थियो । कार्य सम्पादनमा उत्कृष्ट ठहरिँदा ठहरिँदै पनि बसुन्धरा खड्कालाई युएन मिसनमा बढी समय बसेको भन्दै बढुवा गरिएको थिएन ।

तर, २०८० वैशाख २९ को सिफारिसमा वर्तमान प्रहरी महानिरीक्षक बसन्त कुँवरले अन्यायमा परेका ती ३ अधिकृतलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो बरियतामा एसपीमा बढुवा गरेपछि प्रहरीमा न्याय मरेको रहेनछ भन्ने पुष्टी भएको थियो ।

भ्रष्टाचार र अनियमिततातर्फ उदाहरणीय कार्य सुरु गरेका आईजीले यसअघिका नेतृत्वले गरेको भेदभाव र अन्यायलाई सच्याउँदै संगठनभित्र उत्कृष्ट र योग्य अधिकृतहरुलाई बढुवा सिफारिस गरेर संगठनको साख जोगाउन लागेको संकेत देखिएको थियो । त्यतिबेला तत्कालिन आईजी सिंहले यी ३ अधिकृतसँग व्यक्तिगत इगोका साथ बढुवामा भेदभाव गरेको संगठनका अधिकृतहरु नै बताउँछन् । त्यस किसिमको अन्यायलाई चिर्दै आईजी कुँवरले तिनै अधिकृतहरुलाई उत्कृष्टताको आधारमा शीर्ष बरियतामा सिफारिस गर्नु गतिलो प्र्रमाण पनि हो ।

नेपाल प्रहरीले निकालेको पछिल्लो एसपी सरुवा सूचीमा पनि ती ३ अधिकृतहरुले संवेदनशील मानिएका जिल्लाहरुमा कमाण्ड गर्न जानु संगठन र संगठन प्रमुखले उनीहरुमाथि गरेको विश्वासमात्र नभई उनीहरुको कार्यक्षमताको मापक पनि हो । पछिल्लो समय गरिएको ७८ जना एसपीको सरुवामा संगठनले उनीहरुलाई राजधानीसँग जोडिएका मुख्य जिल्ला धादिङ, काभ्रेका साथै तनहुँको कमाण्डरका रुपमा खटाएपछि उनीहरुको दक्षताले न्याय पाएको देखिएको छ ।

पछिल्लो सरुवाका क्रममा गौतमलाई धादिङ जिल्ला प्रमुखको जिम्मेवारी दिइएको छ भने खड्कालाई काभ्रेको जिम्मेवारी दिइएको छ । त्यस्तै बोहोराले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्लाको कमाण्ड गर्ने अवसर पाएका छन् । प्रहरीभित्र उत्कृष्ट जिल्लाको सूचीमा पर्ने यी जिल्लाहरुको कमाण्डका लागि खटिएका यी अधिकृतहरुले अवश्य नै आप्mनो कार्यक्षमताको पुष्टी गर्ने अपेक्षा गरिएको छ ।

काभ्रेको कमाण्ड पाएकी बसुन्धरा खड्का नेपाल प्रहरीकै उत्कृष्ट अधिकृत हुन् । नेपाल प्रहरीको तर्फबाट युन सिनका लागि उच्च पदमा मनोनयन भएकी अधिकृत हुन् । उनी इटालीस्थित राष्ट्र संघको ग्लोबल सर्भिस सेन्टरको प्रि–थ्री लेभलका लागि छनोट भएर नेपाल प्रहरीका साथै नेपालको पनि शान बढाएकी थिइन् । उनी संयुक्त राष्ट्रसंघमा रहँदा विभिन्न मुलुकका अधिकृतहरूबीच उत्कृष्ट समेत ठहरिएकी थिइन् ।

२०७१ सालमा डिएसपी भएकी खड्का बढुवा लगत्तै इन्टरपोल शाखाको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । त्यसका साथै २०७३ सालमा म्याग्दी जिल्लाको कमाण्ड सम्हाल्दै पहिलो महिला प्रहरी प्रमुख भएर काम गरेकी खड्काले २०७४ सालको निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्दै आफूलाई अब्बलताको कसीमा खरो सावित गराएकी थिइन् ।

त्यसबाहेक यसपटक नेपाल प्रहरीमा ‘सिंघम’ छवि बनाएका डिएसपी कुमुध ढुंगेलले मुलुककै सबैभन्दा संवेदनशील मानिएको पर्साको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका छन् । संगठनमा काबिल अफिसरको रुपमा ‘सिंघम’ छवि बनाए पनि केही विवादमा पारिएका डिएसपी ढुंगेललाई यसपटक आईजी कुँवरले पर्साको कमाण्डका लागि खटाएका छन् ।

प्रतिक्रिया