टिकटक बनाउने बहानामा १४ वर्षीय बालकको गोली हानेर हत्या


रौतहट – रौतहटको वृन्दावन नगरपालिका–७ का १४ वर्षीय कृष्णप्रसाद यादवको गोली हानी हत्या गरिएको घटनामा संलग्न आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा २५ वर्षीय नागेन्द्र सहनी, २२ वर्षीय साधु भनिने अर्का नागेन्द्र सहनी, गौर नगरपालिका–४ का विकास पटेल र वडा नम्बर ८ का अनिल साह रहेका छन्।  बालकलाई ‘टिकटक बनाउन जाउँ’ भन्दै फकाई चाँदी खोला लगेर दुई राउन्ड गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख (एसपी) दिलिप घिमिरेका अनुसार हत्या गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका–५ स्थित घरमा टिनको बाकसमा लुकाइएको अवस्थामा फेला परेको छ।

मुख्य अभियुक्त नागेन्द्र सहनी र उनका सहायक साधु भनिने नागेन्द्र सहनीको भूमिका रहेको पत्ता लागेको छ भने अनिल साह वर्कशप सञ्चालक रहेको खुलेको छ।

खोजीका क्रममा मृतक यादव वैशाख ६ गते भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर घरबाट निस्किएका थिए तर फर्किएनन्। परिवारको उजुरीपछि खोजी गर्दा वैशाख ११ गते चाँदी खोलामा उनको विभत्स अवस्थामा शव फेला परेको थियो। साथै, मोटरसाइकल टुक्र्याइएको अवस्थामा गौरको वर्कशपमा भेटिएको छ।

अनुसन्धानका क्रममा कृष्णप्रसाद यादव र नागेन्द्र सहनीको परिवारबीच पुरानो रिसिइबी रहेको खुलेको छ। यादवका बुवाको इँट्टाभट्टामा डुबेर नागेन्द्रकी भतिजीको मृत्यु भएपछि उनीहरूबीच मनमुटाव बढेको र सोही रिसइबीको कारण हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया