नेपाली विमानका लागि दशकदेखि बन्द ‘युरोपको आकाश’ किन अझै खुलेन?


काठमाडौं – गत असोजमा मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भयो । ल्यान्ड गर्ने क्रममा मनाङ एयरको ९एन–एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाइलट प्रकाशकुमार सेढाईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिए पनि उपचारको क्रममा निधन भएको थियो ।

यस्तै गत वैशाख २२ गत संखुवासभामा सिम्रिक एयरको ‘९एन–एजेजेड’ हेलिकोप्टर दुर्घटनामा  परेको थियो । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकोप्टर दुर्घटना भएको थियो । २०७९ को चैत २५ मा काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकोप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएएर दुर्घटनामा परेको थियो ।

त्यसको भोलिपल्ट २६ चैतमा धौलागिरी बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

त्यस्तै २०७५ फागुनमा एअर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

विमानको सन्दर्भमा गत माघमा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनाले अन्तर्राष्ट्रिय क्षेत्रको आँखा नेपालको कमजोर हवाई यात्रामा परेको थियो । यस्तै २०७९ जेठमा पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर विमान दुर्घटनामा पर्दा २२ जनाको मृत्यु भएको थियो ।

२०७६ बैशाखमा पनि सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो ।

यी दुर्घटना तथा अन्य विभिन्न कारणले युरोपेली युनियनले नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्रलाई उडान सुरक्षा चासो (कालोसूची)मा कायमै राखेको छ । बिहीबार ईयूले सार्वजनिक गरेको नयाँ सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीहरु कालोसूचीमै यथावत रहेका छन् ।

इयूले नेपाली उड्डयन क्षेत्रलाई कालोसूचीबाट नहटाउँदा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीले फेरि पनि युरोपेली आकाशमा उडान भर्न पाउनेछैनन् ।

इयूले १० वर्षअघि नेपाली हवाई उड्डयन क्षेत्रलाई सुरक्षा चासोभित्र राखेको थियो । इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासोको सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।

उडान सुरक्षाको क्षेत्रमा आइकाओबाट औँल्याइएको गम्भीर कमजोरीलाई समाधान गर्न नेपालले गरेका विभिन्न प्रयास गरेको थियो । सोही प्रयासले २०१७ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षण अडिटपश्चात् नेपाल गम्भीर सुरक्षा चासोयुक्त मुलुकको सूचीबाट हटेको थियो ।

आइकाओले विश्वव्यापी उडान सुरक्षा सुपरीवेक्षणअन्तर्गत आफ्ना सदस्य राष्ट्रको उडान सुरक्षा स्थितिको नियमितरुपमा मूल्यांकन गर्छ । आइकाओले वर्गीकरण गरेको क्षेत्र हवाई कानून, नागरिक उड्डयन संगठन, व्यक्तिगत इजाजतपत्र, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, एयर नेभिगेसन सेवा र विमानस्थल सञ्चालन छन् ।

 

नेपाल किन हटेन कालोसूचीबाट ? यस्तो छ प्रतिवेदन

गत असोज २५ मा नेपालमा अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली संघ (इयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका थिए । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन मोरक्कोको मारकेस गएका उनले साइड लाइन वार्तामा कमिस्नरसँग उक्त आग्रह गरेका थिए ।

तर, इयूको प्राविधिक टोलीले हालै गरेको स्थलगत अध्ययन प्रतिवेदनले नेपालमाथिको सो प्रतिबन्ध हटेको छैन । भदौ २५ देखि २९ गतेसम्मईयूका प्रतिनिधिमण्डलले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र श्री एयरलायन्सको स्थलगत अवलोकन तथा स्थिति मूल्याङ्कन गरेको थियो । सोही मुल्याङ्कनका आधारमा इयूले हालै आफ्नो उडान सुरक्षा चासोका बारेमा सार्वजनिक गरेको सूचीमा नेपाललाई कालोसूचीमा कायम राखेको छ ।

इयूको उक्त प्रतिवेदनमा नेपाल वायु सेवा निगम र श्री एयरलाइन्सले केही कमीकमजोरी सुधार गर्नुपर्ने सुझाव दिइएको छ । नेपाल वायुसेवा निगमले वर्तमान संगठन संरचना, कार्यपद्दती, आर्थिक एवम् प्राविधिक क्षमता, जनशक्ति एवम् सेवा प्रवाहको गुणस्तर सोको अभिलेखीकरण लगायत समग्र संस्थागत संरचनामा आमुल परिर्वतन गर्नुपर्ने टिप्पणी इयूले गरेको छ । प्रतिवेदनमा सुरक्षा व्यवस्थापन प्रणाली पालना नगरेको, उडान सयमको निश्चितता, हवाई कागजात व्यवस्थापन तथा सुझाव कार्यान्वयनजस्ता पक्षमा गम्भीर कमजोरी रहेको, वायुयानको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नु पर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएको उल्लेख गरिएको छ ।

सोही विषयमा नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशकलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सातदिने स्पष्टीकरण सोधेको छ । निगमकै सुरक्षा व्यवस्थापनको कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको उल्लेख गर्दै प्राधिकरणलाई स्पष्टीकरण सोधेको हो । उक्त स्पष्टीकरण पत्रमा निगमले निर्देशन पालना नगरेको र निगमभित्रको कमजोरीमा सुधार नगरेको कारण सोधिएको छ ।

यस्तै श्री एयरलाइन्सका सन्दर्भमा वर्तमान कार्यपद्दति सन्तोषजनक रहेतापनि थप सुधारका लागि प्रभावकारी कार्य प्रणाली एवम् कार्यपद्दति अवलम्बन गर्दै जान विशेष पहलकदम चाल्नुपर्ने सुझाव इयूको प्रतिवेदनमा उल्लेख छ । कम्पनीको उडान सञ्चालन नीतिमा सुधार गर्नुपर्ने, उडान योजना र चालक दलको थकान व्यवस्थापन नगरिएको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि नेपालले गरेका थुप्रै सुधारोन्मुख कार्यको भने इयूले तारिफ गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले थुप्रै उपलब्धी हासिल गरेको उल्लेख गर्दैै ‘भविष्यमा अझ बढी परिणाममुखी बनाउनका लागि राजनीतिक नेतृत्व एवम् सरकारको रचनात्मक भूमिकाका साथै महानिर्देशकको व्यक्तिगत क्षमता एवम् संलग्नता अपरिहार्य रहेको’ भन्दै उक्त प्रतिवेदनमा उल्लेख गरिएको सूचना अधिकारी भुलले बताए ।

यस्तै अडिटका दौरान औंल्याइएका विषयवस्तुहरुको सम्बन्धमा एकिकृत कार्ययोजना बनाउनका साथै समय–समयमा प्रगति विवरण पेश गर्नु पर्ने सुझाव पाएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया