

डिभाइस सेटिङमा जुवा काण्ड: पूर्वप्रहरी कमल ‘बुकी’ बनेर असुलीमा संलग्न रहेकाे खुलासा

काठमाडौं — टोखा क्षेत्रमा प्रविधिको प्रयोग गरी डिभाइस सेटिङ गरेर जुवा खेलाउने काण्डमा पूर्व प्रहरी समेत संलग्न भएको खुलासा भएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार पूर्व प्रहरी कमल ज्ञवाली यस जुवा गिरोहका मुख्य ‘बुकी’ मध्ये एक हुन्। उनले प्रहरी परिचय देखाएर जुवाडेहरूबाट जित र हार दुबै अवस्थामा रकम असुल गर्ने गरेका छन्।
सूचनाका आधारमा, ज्ञवालीले आफू प्रहरी हुँदा खोलेको बैंक खाता अझै सक्रिय राखेर त्यही खातामार्फत असुली गरिरहेका छन्। उनले पठाउने गरेको बैंकको क्यूआर कोडमा समेत ‘नेपाल प्रहरी बचत खाता’ स्पष्ट रूपमा उल्लेख गरिएको पाइएको छ। जसले उनले प्रहरीको परिचय दुरुपयोग गर्दै रकम संकलन गर्ने गरेको पुष्टि गर्छ।
टोखा क्षेत्रको एक निजी घरमा डिभाइस जडान गरी कौडा खेल नियन्त्रित रूपमा सञ्चालन गर्दै आएको गिरोहमा हालसम्म कमल ज्ञवाली, नविन भोटे र राज कुमार अधिकारी संलग्न रहेको बुझिएको छ। गिरोहले विशेष डिभाइस कार्पेटमुनी राखी, तारमार्फत अर्को कोठासम्म जोडिएको सञ्जालको सहायताले खेल नियन्त्रण गर्ने रणनीति अपनाउँदै आएको थियो। उक्त डिभाइस प्रयोग गरी बुकीहरूले आफुखुसी खेलको नतिजा निर्धारण गर्ने गर्थे।
स्रोत अनुसार कमल ज्ञवाली केवल टोखाको घटनामा मात्रै नभएर अन्य थुप्रै स्थानमा समेत विगत लामो समयदेखि यस्तै प्रविधिको सहायतामा जुवा र सट्टेबाजी चलाउने कार्यमा संलग्न रहँदै आएका छन्। तर, यति धेरै आर्थिक ठगी र प्रविधिको दुरुपयोगसँग सम्बन्धित घटनामा समेत हालसम्म प्रहरी प्रशासनबाट कुनै कारबाही वा अनुसन्धान सुरु नभएको पाइएको छ।
यो पनि:
EXCLUSIVE: काठमाडौंमा ‘डिभाइस’ जोडेर यसरी हुन्छ जुवामा लुटपाट [भिडिओसहित]

