पाकिस्तानमाथि हवाई हमलापछि भारतका १८ विमानस्थल बन्द, सीमा क्षेत्रमा उच्च सतर्कता


काठमाडौं- भारतले पाकिस्तान तथा पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) मा आतंकवादी अड्डाहरूलाई लक्षित गरी हवाई हमला गरेपछि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

भारतको हवाई कारबाहीपछि जम्मू–कश्मीर, पञ्जाब, राजस्थानलगायत ७ राज्यका १८ वटा विमानस्थलमा उडान सेवा अस्थायी रूपमा बन्द गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। बन्द गरिएका प्रमुख विमानस्थलहरूमा श्रीनगर, जम्मू, लेह, चंडीगढ़, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर रहेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार हालसम्म ११ विमानस्थलको नाम सार्वजनिक गरिएको छ भने अन्य ७ विमानस्थलको नाम खुलाइएको छैन।

विमानस्थलहरू बन्द भएसँगै एयर इन्डिया, इन्डिगो, स्पाइसजेट, एयर इन्डिया एक्सप्रेस, अकासा एयर लगायत केही विदेशी एयरलाइन्सले गरी लगभग २०० उडानहरू रद्द गरेका छन्।

यस्तै, जम्मू–कश्मीर, पञ्जाब र राजस्थानका धेरै जिल्लामा विद्यालयहरू पनि बन्द गरिएको छ। सिख धर्मावलम्बीहरूको लागि विशेष धार्मिक मार्ग करतारपुर करिडोर पनि हालका लागि बन्द गरिएको छ।

भारतको कारबाही अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको १५ दिनपछि भएको हो। सो हमलामा भारतीय सुरक्षाकर्मीहरूलाई निशाना बनाइएको थियो। भारतले पछिल्लो कारबाहीमा पाकिस्तान तथा पीओकेमा रहेका ९ वटा आतंकवादी अड्डाहरू ध्वस्त पारेको दाबी गरेको छ।

प्रतिक्रिया