

भारत–पाक तनावबारे नेपालमा उच्चस्तरीय सुरक्षा बैठक, के भयाे छलफल ?

काठमाडौं- भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच नेपालले आफ्नो सुरक्षा तयारीलाई बलियो बनाउँदै उच्चस्तरीय छलफल गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सुरक्षा परिषद्को बैठक बोलाएर पछिल्लो क्षेत्रीय परिस्थितिबारे महत्वपूर्ण छलफल गरेका छन्।
बैठकमा भारत–पाकिस्तानबीचको तनाव र त्यसको नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे समीक्षा गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देल बैठकमा सहभागी थिए।
स्रोतका अनुसार प्रधानसेनापति सिग्देलले मुलुकको सुरक्षा अवस्था र तनावपछि नेपालले अपनाउनुपर्ने संयमता तथा रणनीतिबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
यसअघि गृहमन्त्रीले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गरी नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता बढाउन निर्देशन दिएका थिए।
भारतले आतंकवादविरुद्ध सिन्दुर अप्रेसन नाम दिइएको कारबाहीअन्तर्गत पाकिस्तानमा क्षेप्यास्त्र हमला गरेको छ। पाकिस्तानका विभिन्न ९ स्थानमा गरिएका आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु र ४६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन्।

