गाडीसहित जमिन भासिएको रहस्यमय घटना : घटनास्थल उच्च जोखिमयुक्त क्षेत्र घोषित


मकवानपुर – हेटौँडा उपमहानगरपालिका-१६ स्थित गैरीगाउँ माछापोखरीमा वैशाख १९ गते दिउँसो एक गाडी भासिएपछि गरिएको अनुसन्धानबाट सो क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चिन्न थालिएको छ।

खानी तथा भूगर्भ विभागबाट खटिएको विज्ञ टोलीले मङ्गलबारदेखि बुधबारसम्म दुई दिनको प्रारम्भिक अध्ययनमा ८ मिटर गहिराइमा चुम्बकीय असमानता  फेला पारेको भूगर्भविद् नारायण अधिकारीले जानकारी दिए। यसले त्यहाँ कुनै ठोस वस्तु वा गाडिएको संरचना हुन सक्ने संकेत गर्छ।

बुधबार गरिएको थप अध्ययनमा “पावर अगर” उपकरणको प्रयोग गरी साइड प्वाल बनाई भित्री भागको परीक्षण गर्दा ठूलो चिरा देखिएको अधिकारीले बताए। “केवल २० सेन्टिमिटर सर्नेबित्तिकै डेढ मिटर लामो गहिरो चर्किएको भाग देखियो, जुन त्यहाँका जमिन संरचना अस्थिर भएको संकेत हो,” उनले भने।

जोखिम मूल्याङ्कनपछि भूगर्भविद् अधिकारीले उक्त क्षेत्रलाई तत्काल प्रवेश निषेध गर्न सुझाव दिएका छन्। साथै, छेउमा रहेका सबै पोखरी सुकाएर दोस्रो चरणको अनुसन्धान अघि सुरक्षित वातावरण बनाउने सल्लाह उनले मेयर मीनाकुमारी लामालाई दिएका छन्।

“हाम्रो टोलीले काठमाडौं फर्किएर ल्याब परीक्षण गर्नेछ, जसको नतिजा ३–४ दिनमा आउनेछ। त्यसपछि मात्र अर्को तहको कार्य अघि बढाउन सकिन्छ,” अधिकारीले बताए।

यो घटना प्राकृतिक कारणले हो वा कुनै पुरानो संरचना वा धातुजन्य वस्तुको कारण हो भन्ने विषयमा अझै खुलासा भइसकेको छैन। तर प्रारम्भिक अध्ययनले माछापोखरी क्षेत्रको भौगर्भिक संवेदनशीलता उजागर गरेको छ, जसका आधारमा उपमहानगरले दीर्घकालीन योजना बनाउनुपर्ने देखिन्छ।

 

प्रतिक्रिया