

भारत–पाकिस्तान तनावका बेला पाकिस्तानी सेना नेपालमा, सांसदहरू आक्रोशित

काठमाडौं- पाकिस्तानी उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलको हालैको नेपाल भ्रमण संसदको बैठकमा चर्चाको विषय बनेको छ। प्रतिनिधिसभाका सांसदहरूले यस भ्रमणको समय र उद्देश्यप्रति प्रश्न उठाउँदै सरकारको कूटनीतिक समझदारीमाथि गम्भीर आशंका व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले हालको संवेदनशील अन्तर्राष्ट्रिय परिस्थितिलाई बेवास्ता गर्दै पाकिस्तानको सैनिक टोलीलाई नेपाल आउन दिनु कूटनीतिक चूक भएको बताए। उनले भने, “भ्रमण पूर्व निर्धारित भए पनि वर्तमान स्थितिका विषयमा संवेदनशील हुँदै तत्कालका लागि भ्रमण स्थगन गर्नुपथ्र्यो।”
यता, प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले पाकिस्तान भ्रमणको समय उपयुक्त नभएको भन्दै सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान नै नभएको आरोप लगाए। उनले भने, “भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ, नेपालसँग खुला सीमा छ। आतङ्ककारी गतिविधि नहोस् भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने हो। तर, परराष्ट्रमन्त्रीले कूटनीति बुझेकै छैनन्।”
सिंहले पाकिस्तानका तीन वटै सेनाका ११ जना अधिकारी अहिले नेपालमा रहेको दाबी गर्दै यस्तो संवेदनशील समयमा भ्रमण हुनु नेपालका लागि चुनौतीपूर्ण हुन सक्ने बताएका छन्।
सरकारी स्रोतका अनुसार पाकिस्तानी सैनिक टोली तालिमको उद्देश्यले नेपाल आएको हो भने भ्रमण पूर्व निर्धारित तालिका अनुसार भइरहेको जनाइएको छ।

