


गजुरी दुर्घटनाः कहाँ गए हरिबहादुर ?
छोराको खोजीका लागि पटकपटक दुर्घटनास्थल पुगेका प्रेम झोला मात्रै लिएर फर्किए...

काठमाडौं – धादिङको गजुरीमा भएको बस दुर्घटना भएको आज १३ दिन पुगेको छ । दुर्घटनामा ज्यान गुमाएका ८ जनाको परिवारले आज तेह्रौं पुण्यतिथिको काम गरिरहेका छन् भने घाइतेमध्ये केही घाइते अस्पतालको शैय्यामा उपचाररत छन् ।
तर, त्यही बसमा रहेका एक यात्रुको अवस्था भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सोही बसमा यात्रारत काठमाडौंको नयाँबानेश्वरमा खाजा पसल सञ्चालन गर्दै आएका प्रेमबहादुर अर्मजा र जसमती अर्मजाका जेठा छोरा हरिबहादुर अर्मजाको अवस्था भने अहिलेसम्म अज्ञात नै रहेको छ । नातामा साली पर्ने १६ वर्षीय गीता जंजाली मगरसँग म्याग्दी जाँदै गरेका हरि बेपत्ता भएदेखि प्रेमबहादुर र जसमतीको आँखा ओभाएका छैनन् । सँगै सिटमा रहेकी गीता सामान्य घाइते भइ घटनाको भोलिपल्ट अस्पतालबाट डिस्चार्ज भइसकेको बताएका प्रेमले छोराको भने केही पत्तो नलागेको जनाए ।
छोराको खोजीमा गजुरी पुगेका प्रेमले रातको मध्यरातमा दुर्घटनामा ज्यान गुमाएका ८ जनाको शवको बीचमा छोरा खोज्दा नभेटाएपछि केही शान्तिको सास फेरे पनि आज १३ दिनसम्म कहिँ कतै छोराको अत्तोपत्तो नभएपछि झन् भावविह्वल बनेका छन् ।
छोराको खोजीका लागि श्रीमानलाई २ पटकसम्म घटनास्थल पठाएकी जसमति श्रीमान् खबरबिहीन फर्कँदा निराश छिन् । बाबु प्रेमले घटनास्थलमा पुगेर नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा खोजी गरे पनि पत्तो नलागेपछि अहिले विलखबन्धनमा परेका छन् ।
सुरक्षा निकायको सहयोगमा पटक–पटक छोराको खोजीमा घटनास्थल पुगेका बाबु प्रेमले मृतक र घाइतेमा आफ्नो छोराको नाम नदेखेपछि इलाका प्रहरी कार्यालय गजुरीमा छोराको खोजीका लागि निवेदन दिएर फर्किएका छन् । उनले आफ्नै पहलमा घटनास्थलदेखि कुरिनटारसम्म सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्दा पनि नभेटेपछि झन् निराश भएको बताए । छोराको खोजीमा गएका प्रेमले गजुरीचौकीबाट भेटे छोराले घरबाट लिएर गएको जेब्रा झोला, छोराको खोजीमा गएका प्रेम त्यही झोला लिएर फर्किए ।
प्रेमले घटना भएको दिनको साँझ पौने ९ बजेसम्म छोराको फोनमा घन्टी गएको बताए पनि अहिलेसम्म सो फोन पनि पत्ता लागेको छैन ।
काठमाडौंको कलंकीबाट गीता र हरिसँगै बस चढेर बसको अन्तिम सिटमा बसेको गीताले बताइन् । उनले आफू र भिनाजुसँगै बसेको बताउँदै बसको अगाडिको भाग भित्तामा ठोक्किएको थाहा पाएको त्यसपछि केही थाहा नभएको एकैपटक पानीमा पुगेपछि बस समाएर आफू बचेको बताइन् । ‘पहिलोपटक ठोक्किँदा भेना अगाडि हुत्तिनुभएको थियो, त्यसपछि के भयो मैले थाहा पाइँन, एकैचोटी पानीमा पुगेँछु, बस समाएर बाँचे,’ गीताले भनिन् ।
साढे २ महिना अघि छोराको बाबु बनेका ३७ वर्षीय हरिको परिवार अन्यौलमा परेको छ । उनीहरुले हरिले बोकेको फोनको खोजीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा सम्पर्क गर्दा पनि घटनास्थलकै आसपास उक्त दिन साँझ ८ बजेर ४४ मिनेटसम्म फोनको लोकेसन ट्रयाक भएको थियो । त्यसपछि अहिलेसम्म पनि उक्त फोनको स्वीच अफ गरिएको छ ।
साढे २ महिने सुत्केरी निर्मला अहिले छोरो लिएर माइती पुगेकी छिन् । श्रीमानको केही पत्तो लाग्न नसकेपछि उनले राम्रोसँग खाना नखाएको आज १३ दिन पुगेको छ । ‘तर, जत्तिनै पीडा भए पनि छोराको लागि केही खाइरहेकी छु’, निर्मला भन्छिन्, ‘कि लास कि सास भेटिए हुन्थ्यो, मैले के भनेर चित्त बुझाउने ? सँगै गएकी बहिनी त्यही घटनामा घाइते भइ, उसँगै बसेको मेरो बुढा कता गए ?’
बानेश्वरमा रहेको खाजा पसलमा टोलाइरहेका प्रेमले कतैबाट फोन आउँदा पनि प्रहरीको फोन हो कि भनेर उठाउने गरेको बताउँछन् । उनी भन्छन्, ‘जे जस्तो अवस्थामा भएको भए पनि भेटे हुन्थ्यो, हामी साह्रै अप्ठेरोमा पर्यौं, खोजौं कता खोजौं, नखोजौं कता नखोजौं ?’
प्रहरी हिरासतमा रहेका बसका सहचालक रोशन तामाङले पनि कलंकीबाट दुईजना चढेको र आफूले अन्तिम सिटमा लगेर राखेको बताए । घाइते गीताका अनुसार उक्त घटनामा ज्यान गुमाउनेमा अधिकांश बसको अन्तिमतिरको सिटमा बसेकाहरु थिए ।
हरिको खोजीको सम्बन्धमा इलाका प्रहरी गजुरीमा सम्पर्क गर्दा खोजी कार्य जारी नै रहेको बताइएको छ । साथै प्रहरीले जिल्लाको समन्वयमा चितवन प्रहरीसँग पनि समन्वय गरेको जनाउँदै त्रिशुली नदीको किनारमा निगरानी राखिरहेको बताउँदै अहिलेसम्म फेला पार्न नसकिएको जनाए ।
उक्त घटनामा ८ जनाको मृत्यु भएको थियो भने १३ जना घाइतेको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार गरिएको थियो ।
म्याग्दी कोरला बस कम्पनीको प्रदेश ३–०१–००५ ख ९९५२ को उक्त बसका धनी मोहन केसीले पनि हरि उक्त दुर्घटनाग्रस्त बसमा चढेको पुष्टी गर्दै चालकले चिनेको व्यक्ति भएको जनाए । उनले अनलाइनन्यूज७ सँग भने, ‘हरि मेरो बसमा चढेको पुष्टी भइसकेको छ, ड्राइभरले चिनेका रहेछन्, अब कानुनी प्रक्रियाका लागि ३५ दिन पर्खनुपर्ने हुन्छ, त्यसपछि अन्य प्रक्रिया अगाडि बढाउँछौं ।’ केसीले बिमा लगायत अन्य प्रक्रियाका लागि ३५ दिन पुग्नुपर्ने कानुनी प्रावधान रहेकोले सोहीअनुसार आफूले अन्य पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

