शोकलाई शक्तिमा बदल्न प्रचण्डलाई महाअवसर


आफ्नो अर्धांगिनी मात्र नभएर राजनीतिक सहकर्मी तथा सल्लाहकार सीता दाहाललाई प्रधानमन्त्री प्रचण्डले अचानक गुमाउन पर्यो। माओवादी चिन्तनबाट अगाडी बढेका  जात धर्म  काजक्रिया जस्ता नेपाली समाजका रिति – रिवाजहरूलाई विश्वास नगर्ने एक युद्ध का नायकले पक्कै पनि आफ्नो अर्धाङ्गिनीको ईच्छा अनुसार नै हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरेका हुन सक्छन्।

हिन्दु संस्कारमा मत्यु पछि दिईने दागबत्तीलाई अति महत्वपूर्ण रूपमा हेरिन्छ। जुन महत्वपूर्ण कार्य आफुले अग्नि साक्षी राखेर आफ्नो जीवनमा आमन्त्रण गरेका पत्नी सीतालाई पुन अग्नि दिएर प्रधानमन्त्री प्रचण्डले बिदा गरेका छन्।

वि.सं. २०११ सालमा कास्कीको हेम्जामा जन्मिएकी सीता दाहालसँग प्रधानमन्त्री प्रचण्डको २०२६ सालमा विवाह भएको थियो। प्रचण्ड दम्पतीका तीन छोरी र एक छोरा गरी चार सन्तान रहेकामा एकमात्र छोरा प्रकाशको ह्रदयघात र जेठी छोरीको क्यान्सरका कारण निधन भइसकेको छ। उन्को एक छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरको रूपमा काम गर्छिन् भने कान्छी छोरी गंगा छोरा प्रकाशको निधनपछि पिता प्रचण्डको स्वकीय सचिवको रूपमा रहेकी छिन्।

प्रचण्ड पत्नी सीताले प्रधानमन्त्री प्रचण्डलाई केवल पत्नीका रूपमा मात्र नभएर कहिले आमाको जस्तो भूमिकामा  कहिले जनयुद्धको सिपाही त कहिले राजनीतिक सहकर्मीका रूपमा भने कहिले एक असल सल्लाहकारको रूपमा साथ दिँदै आउनु भएको देखिन्छ। २०५२ सालभन्दा अगाडीदेखि सधैं लो-प्रोफाइलमा रहेर हरदम पुष्पकमल दाहाललाई प्रचण्डको रूपमा चिनाउन पत्नी सीताको अति ठुलो भूमिका रहेको देखिन्छ।  माओवादी युद्धलाई नजिकबाट बुझ्नेहरू प्रचण्ड पत्नी सीतालाई केवल प्रचण्डको पत्नीको रूपमा नहेरेर जनयुद्धको एक योजनाकार राजनीतिकर्मी माओवादी पार्टीको सल्लाहकार ‘सीता दाहाल’का रूपमा बुझ्ने गर्दछन्।

सीता दाहाललाई नजिकबाट बुझ्नेहरू हरेक दृष्टिकोणले राजनीतिमा अगाडी आउन अन्य महिला नेतृत्व जस्तै क्षमतावान भए पनि सीता दाहालले आफुलाई सधै लो-प्रोफाइलमा राखेर राजनीतिक गतिविधि गर्ने गरेको बताउँछन्। उनी राजनीतिक रूपमा मात्र नभएर हरेक क्षेत्रमा अति साधारण रूपमा प्रस्तुत हुने गरेको उनलाई नजिकबाट चिन्नेहरू सुनाउँछन् । एक माओवादी नेता भन्छन् नेतृ सीता दाहालले कहिले पनि आफुलाई प्राथमिकतामा नराखि जनताको पीर मर्का, जनयुद्ध,  माओवादी पार्टी र पति प्रचण्ड तथा परिवारलाई मुख्य रूपमा अगाडी राख्ने गरेको बताउछँन्। उनि भन्छन्,’यदि नेतृ सीताले चाहानु भएको भए कुनै पनि ठुला पदहरूमा सजिलै पुग्न सक्नु  हुन्थ्यो तर उहॉले यस कुरालाई कहिले पनि प्राथमिकतामा राख्नु भएन।’

माओवादी युद्धको शुरूआती दिन देखि कहिले रुकुम रोल्पाका कुना काप्चा कहिले आर्मी पुलिसको घेरा त कहिले गोली बारूदको आक्रमणलाई पार गर्दै माओवादी युद्धका नायक प्रचण्डलाई साथ दिएकी सीता दाहाल पछिल्लो चरण पुत्र प्रकाश दाहालको निधन पछि मानसिक रूपमा विक्षिप्त बनेर अन्य रोगहरूसँग पनि लड्नु परेको थियो।

देशका बिभिन्न ठॉउमा भएका ठुला ठुला युद्ध र नरसंहारलाई नजिक बाट हेरेकी सीता दाहाललाई पक्कै पनि मातृत्व भावले गलाएर  एक मात्र पुत्र शोकका कारण कमजोर गराएको सजिलै अनुमान लगाउन सकिन्थ्यो।

प्रचण्डले आफ्ना हजारौ युद्धका सिपाही गुमाए, आफ्नो जेष्ठ सन्तान अकालमै गुमाए अनि आफ्नो मुटुको टुक्रा जस्तो सोचेका एक मात्र पुत्र गुमाए भने अहिले आफ्नो अर्धाङ्गिनीलाई पनि गुमाई सके। अब प्रचण्डले गुमाउनेलाई बाँकी भनेको उन्को बचे-खुचेको राजनीतिक भविष्य र उन्ले जन्ताको लागी युद्ध गरेको हो भन्ने जुन भनाई छ त्यो नाम मात्र गुमाउन बाँकी छ।

एक छोरी र एकमात्र भएका पुत्र गुमाएकी सीता दाहाल जति विक्षिप्त बनिन् पक्कै पनि पत्नी सीताको देहावसानपछि प्रधानमन्त्री प्रचण्डलाई पनि अति ठूलो चोट परेको छ। अझ उनले त आफ्नै नेतृत्वमा भएको युद्धमा हजारौं युद्धकर्मीहरूलाई ज्यान फाल्न बाध्य बनाएको दोष पनि बोक्नु परेको छ। अझ यति मात्र नभएर राजनीतिक बेमेल र वैमनस्यताका कारण पार्टीबाट बिभिन्न समयमा मन मिल्ने सहयात्री पनि गुमाएको अवस्था पनि छ।

बाहिरबाट हेर्दा प्रधानमन्त्री प्रचण्डलाई जति कठोर र क्षमतावान् साथै राजनीतिक सहजता देखिन्छ तर त्यस्तो छैन। पछिल्ला दिनहरूमा विभिन्न कारणबाट प्रचण्ड भावुक कमजोर र निरिह जस्तै बन्दै गएका छन्। अझ पछिल्लो चरण त प्रतिपक्षले बेला-बेला उठाई रहने उन्को राजिनामाको मागका कारण उन्लाई अझ कमजोर बनाएको अबस्थालाई सजिलै बुझ्न सकिन्छ।

यहाँ एक महत्वपूर्ण प्रश्न उठाउन सकिन्छ- प्रचण्डलाई कमजोर या निरीह बनेर बस्न या यसै सन्तान र पत्नी शोकका कारण राजनीतिक सन्यास लिएर बस्ने छुट छ त? सरसर्ती हेर्दा पक्कै पनि प्रधानमन्त्री प्रचण्ड अब यी सारा पीडाहरूका कारण कमजोर बनेर चुपचाप लागेर धर्म-कर्म या सन्यासको जीवन जीउलान् या जीउन उपयुक्त हुन्छ जस्तो लाग्छ। तर वास्तबमा भन्ने हो भने प्रचण्डले अब गुमाउनु पर्ने कुराहरू खासै धेरै नभएको हुँदा सारा लोभलालच, डर-धम्की आफ्नो निजि राजनीतिक भविष्य नहेरि समग्र नेपाल र नेपाली जनताको लागी काम गर्ने अवसर पनि हो।

प्रचण्डले आफ्ना हजारौ युद्धका सिपाही गुमाए, आफ्नो जेष्ठ सन्तान अकालमै गुमाए अनि आफ्नो मुटुको टुक्रा जस्तो सोचेका एक मात्र पुत्र गुमाए भने अहिले आफ्नो अर्धाङ्गिनीलाई पनि गुमाई सके। अब प्रचण्डले गुमाउनेलाई बाँकी भनेको उन्को बचे-खुचेको राजनीतिक भविष्य र उन्ले जन्ताको लागी युद्ध गरेको हो भन्ने जुन भनाई छ त्यो नाम मात्र गुमाउन बाँकी छ। यदि प्रधानमन्त्री प्रचण्डले आफुलाई शोकमा डुबाएर कमजोर बनाएर बसे भने उनीसँगै उन्को पार्टी, नाम र सारा ईज्जत गुम्न सक्छ तसर्थ अब यो शोकलाई प्रचण्डले शक्तिमा बदल्नु मात्र एक विकल्प हो।

अबको प्रचण्ड पथ

प्रधानमन्त्री प्रचण्ड अहिले समिकरण कै सरकारमा भए पनि कार्यकारी पदमा रहेका छन्। यहि बेला उन्ले लतिता निवास काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड जस्ता ठुला-ठुला घोटालाहरूमा छानविनको लागी हात हालेको अवस्था छ। देशमा यी बाहेक पनि ठुला-ठुला घोटाला र भ्रष्टाचारले भित्रै सम्म जरो गाडेको अवस्था छ।जुन गरिब जनताहरूको लागी भनेर प्रचण्डकै नेतृत्वमा भएको माओबादी युद्धका कारण सर्व साधारण जनताहरू मारिए त्यस्तै सर्वसाधारण जनताहरूको जीवनस्तर अझ तलभन्दा तल गइरहेको अबस्था छ।

नागरिकहरू नागरिकको हैसियतमा नभएर रैती जस्तो जीवन जिउन बाध्य भएको अवस्था छ। देशमा भएका यस्ता यावत समस्याहरूलाई होलसेलमै समाधान गर्नका लागी प्रचण्डलाई अहिले सबैभन्दा ठूलो अबसर आएको छ।

नियतिले प्रचण्डलाई सहकर्मी सहयात्री सन्तान अनि अर्धाङ्गिनीबाट छुटाएर एक्लो जस्तो बनाए पनि यहि नियतिलाई सहि सदुपयोग गरेर देशलाई आमूल परिवर्तनको दिशातर्फ लैजानलाई अति नै ठुलो अबसर आएको छ। यदि उनले यो अवसरलाई उपयोग गर्न सके भने उन्का कारण जीवन गुमाउन वाध्य भएका १७ हजार निर्दोष नागरिकहरू, आफ्ना दुई सन्तान अनि रोग र शोकले उमेरमै जीवन गुमाउन पुगेकी अर्धाङ्गिनी सीताप्रति साँचो अर्थको श्रद्धाञ्जली र दागबत्ती हुनेछ। अनि बल्ल पुरा हुन्छ उनि र उन्को पार्टीले भन्ने गरेको प्रचण्डपथ।

प्रतिक्रिया