

प्रकाश सपुतको अर्को पागलपन ‘सकम्बरी’: फुलमायाबाट सकम्बरी हुँदै ‘अजम्बरी’को कल्पनासम्म !

प्रकाश सपुत, हरेक नेपालीको मुटुमा ढ्याङ्ग्रो ठोक्ने सर्जक । यसअघिका हरेक सिर्जनाहरुमा समाज देखाउन सफल सर्वोत्कृष्ट सर्जक, सर्वोत्कृष्ट सर्जक अनि सर्वोत्कृष्ट सर्जक प्रकाश यसपटक आएका छन् समाजको अर्को आँखा ब्यूझाउने लक्ष्यसहित लिएर सकम्बरी ।
प्रकाश नेपाली सांगीतिक क्षेत्रका एकमात्र यस्ता व्यक्ति हुन् जसले आफ्नो सिर्जनालाई व्यावसायिक बनाउन खप्पीस छन् । जसले व्यावसायिक घरानालाई आफ्नो सिर्जना बेच्न मज्जैले सक्छन्, त्यस कुरा सकम्बरीमा पनि देखिएको छ । सिर्जनामात्र गरेर सर्जक बाँच्दैन, त्यो सत्यतालाई उनले पनि राम्ररी बुझेका छन् । त्यसैले व्यावसायीकरुपमा पनि सहकार्य गरेका छन् । सुरुमा उनले डिसहोमबाट गीत सार्वजनिक गरेको तीन दिनपछि मात्रै सामाजिक सञ्जाल युट्युबबाट गीत सार्वजनिक गरे । गीत सार्वजनिक भएसँगै नेपाली गीतप्रेमीहरुले उनको सकम्बरी गुञ्जाउन थालिसकेका छन् ।
घर सम्हाल्ने अभिभारा पाएकी फुलमायाको कथामा संगीतसँगै चित्र भरेका छन् प्रकाशले । गाउँबाट सहर आएपछि फुलमाया कसरी सकम्बरी बन्छन् भन्ने प्रस्टै पारेका छन् प्रकाशले । प्रकाशका अघिल्ला सिर्जनाहरुमा खोट देख्नेहरुले यसमा पनि केही खोट ननिकाल्लान् भन्न सकिँदैन । तर, एउटा सिर्जनाले कसैको मनमा सकारात्मक वा नकारात्मक जस्तो भए पनि जरा गाड्नुलाई सिर्जनाको सफलता मानिन्छ, त्यस मानेमा प्रकाश यस गीतमा पनि अवश्य सफल हुने देखिन्छ ।
आफ्ना हरेक सिर्जनामा फरक–फरक कलाकारलाई लिनु प्रकाश व्यावसायीक हिसाबमा पनि छट्टु सर्जक हुन् कि भन्ने लाग्छ । उनी हरेकलाई आफ्ना सिर्जनामा बाँध्न खप्पिस छन्, जबकि हरेक उनीहरुले प्रकाशको सिर्जनामा काम गरेको छु भनेर अपनत्व लिन सकुन् । भेट्रान कलाकार सुनिल थापालाई समेटेका प्रकाशले यसपटक कुशुम शर्मालाई राम्रैसँग फिचर गरेका छन् । नेपाली सांगीतिक बजारमा खासै नाम नसुनिएकी कुशुमको अब सकम्बरीपछि ढोका टन्नै खुल्ने देखिएका छन् ।
समाजलाई चित्रमा देखाउन खप्पीस प्रकाशले सकम्बरीमा पैसाका लागि बैसको राम्रैसँग प्रयोग गरेको मात्र नभई कर्तव्य पूरा गर्नका लागि एउटा पात्रले गर्नुपर्ने राम्रा अनि नराम्रा कामको चित्र देखाएका छन् । गाउँघरमा बस्नेहरुले सहरमा यस्तो हुन्छ कि क्याहो र सहरमा बस्नेहरुले गाउँघरमा छोरी मात्रै पाएकै कारण पुरुषले अर्को बिहे गर्छ कि क्याहो भन्ने कुरा पनि देखाएका छन् । हुनत, यो सिर्जना नेपाली समाजबारे केही बुझेका अनि बुझ्न चाहनेहरु हरेकले देखेको, भोगेको वा सुनेको कथा हुनसक्छ, तर त्यसलाई संगीतको साथमा चित्रमा १५ मिनेटमै देखाउनु प्रकाशको खासियत हो । प्रकाशले सधैंजस्तो गीतभन्दा पनि कथामा संगीत भर्ने क्रम यसमा पनि निरन्तरता दिएका छन् ।
दृश्यको एक भागमा ‘साङ्लो’ले पैसाका लागि बैंस गुमाएकी पात्रलाई प्रतिबिम्बित गरेको छ । त्यस्तै एक ठाउँ भोको बाघलाई प्रयोग गरेका छन्, त्यो दृश्य हेर्दा सजिलै बुझ्न सकिन्छ ।
विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो कलाकार बन्ने सपनालाई साकार पार्दै सकम्बरीको कथाको एक पाटोको भूमिका प्रकाश स्वयंले सम्हालेका छन् ।
रस गालैको सुकि जानेछ,
आफ्नै आत्माले थुकी जानेछ..
रंगीन संसार देखेका सकम्बरी जस्तै पात्रहरुलाई प्रकाशले गज्जबको भविष्य पनि देखाएका छन् ।
आफूले नै सहरमा बाँच्न सिकाएकी फुलमाया जब सकम्बरी भई प्रकाशले आफू पनि सम्हालिन सकेनन्, अनि नशाको सुरमा सम्झाउने प्रयास गरे ।
वार्ताकै क्रममा सकम्बरी भन्छिन्, तपाईले …मेरो सपनाको फाइदा उठाउनुभयो सहयोग गर्नुभयो सस्तोमा पर्नुभयो
उनीहरुले मेरो अभावको फाइदा उठाए मूल्य तिरे महंगोमा परे…
यी दुई वाक्यले गीतको सारतत्वको अभिभारा लिएको देखिएको छ । त्यसैले भिडियोको अन्तिममा सकम्बरीसँगको वार्तालाप (कन्भर्सेसन) नै कथाको सारवस्तु हो । अन्तिममा सकम्बरीले रियलाइज गरेकी छिन् आफूलाई पनि पाप लाग्ने कुरा ।
प्रकाशले अन्तिममा पछिल्लो समय नेपालमा देखिएको अर्को पेसा राजनीतिमा लगेर सिर्जना टुङ्ग्याएका छन्, त्यसैले कतिपयले मानिसहरुको अन्तिम बिकल्प राजनीति हो कि भन्ने पनि प्रश्न खडा गर्छ, वा नयाँ पार्टीहरुले समाजका कस्ता वर्गसँग सहयोग माग्छन् ? वा पहिला जे जस्तो पेसा वा कर्ममा रहे पनि पछि राजनीतिमा लाग्नुपर्ने हो कि भन्ने सोच्न बाध्य बनाउँछ ।
प्रकाशको हरेक सिर्जनाले जस्तै सकम्बरीले पनि सोच्न बाध्य बनाउँछ । हरेकलाई प्रकाशले कम्तीमा ३ पटक गीत बजाउन बाध्य बनाउँछन्, पहिलोपटक उनले खिचेका दृश्य मात्रै हेरेर १५ मिनेट बित्छन् भने दोस्रोपटक उनका भाका सुनेर अनि अन्तिमपटक उनका शब्द सुनेर । त्यसको मनन् गर्न र विश्लेषण गर्न त पटकपटक सुन्नु र हेर्नु प्रकाशको अन्य सिर्जनामा जस्तै बाध्यता हो । अनि, प्रकाशले यसपटक पनि सिर्जनालाई टुङ्ग्याउन सकेका छैनन् । उनले सकम्बरीको कथा हेर्ने दर्शकको धोको पूरा गर्ने घोषणा गरिसकेका छन् अजम्बरीमार्फत् पूरा गर्ने शर्तसहित ।

