डेपुटी गभर्नर किरण पण्डितको सम्पत्ति विवरण सार्वजनिक


काठमाडौं-  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक पदधारण गर्ने व्यक्तिले सम्पत्ति विवरण खुलाउनुपर्ने कानुनी व्यवस्था अनुसार उनले विवरण बुझाएका हुन्।

विवरणअनुसार पण्डित र उनको परिवारका नाममा काठमाडौंसहित देशका विभिन्न स्थानमा घरजग्गा, बैंक मौज्दात र सेयर लगानी रहेको छ।

काठमाडौंको टोखा नगरपालिका–३ मा उनकी श्रीमती कामना शर्मा पण्डितका नाममा दुई करोड २० लाख रुपैयाँमा खरिद गरिएको घर रहेको उल्लेख छ। त्यस्तै, सामाखुसीमा आमा गौरी पण्डितका नाममा २.५ तले पैतृक घर रहेको विवरणमा जनाइएको छ।

पण्डितको आफ्नै नाममा कैलालीको धनगढीमा १० लाख रुपैयाँमा खरिद गरिएको जग्गा रहेको छ। साथै, परिवारका नाममा तनहुँको दमौलीमा ११ रोपनीभन्दा बढी पैतृक जग्गा रहेको पनि विवरणमा उल्लेख छ।

काठमाडौंको तारकेश्वरमा श्रीमतीका नाममा ६९ लाख रुपैयाँमा खरिद गरिएको जग्गा छ भने रुपन्देहीमा भाउजू र बुहारीसँग संयुक्त रूपमा ४० लाख रुपैयाँमा खरिद गरिएको जग्गा रहेको जनाइएको छ।

पण्डितसँग करिब २० तोला सुन, २५० तोला चाँदी र करिब दुई लाख रुपैयाँबराबरको हीरा रहेको विवरणमा उल्लेख छ। यी सामग्री विवाह, उपहार तथा पारिवारिक संस्कारका अवसरमा प्राप्त भएको जनाइएको छ।

विभिन्न बैंक खातामा उनको कुल २ करोड २० लाख ८४ हजार रुपैयाँ मौज्दात रहेको छ। साथै, १ करोड ८ लाख रुपैयाँ बराबरको ऋण रहेको उनले खुलाएका छन्।

राष्ट्र बैंकको अवकाश कोषबाहेक विभिन्न वाणिज्य बैंकमा उनको १ करोड ११ लाख रुपैयाँभन्दा बढी नगद र ७ हजार ८५६ अमेरिकी डलर मौज्दात रहेको छ।

उनकी श्रीमतीका नाममा पनि बैंक खातामा ५ लाख ७५ हजार रुपैयाँ र ३३ हजार ५७९ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ।

पण्डित र उनको परिवारका नाममा विभिन्न बैंक, वित्तीय संस्था र बिमा कम्पनीमा हजारौँ कित्ता सेयर लगानी रहेको जनाइएको छ।

उनले राष्ट्र बैंकबाट लिएको २ करोड ३० लाख रुपैयाँ कर्जामध्ये १ करोड २१ लाख ५० हजार रुपैयाँ भुक्तान गरिसकेको र बाँकी १ करोड ८ लाख ६५ हजार रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख छ।

त्यस्तै, सिटिजन्स बैंकबाट लिएको १ करोड ३ लाख रुपैयाँ कर्जा ब्याजसहित भुक्तान गरिसकेको पनि विवरणमा जनाइएको छ।

डेपुटी गभर्नरकी श्रीमतीका नाममा २४ लाख रुपैयाँमा खरिद गरिएको महिन्द्रा इलेक्ट्रिक कार र दुई मोटरसाइकल छन्। पण्डितका नाममा पनि एक मोटरसाइकल रहेको छ।

उनले २०८२ चैत ३० गते उक्त सम्पत्ति विवरण पेस गरेको राष्ट्र बैंकले जनाएको छ।

Skip to PDF content

 

 

प्रतिक्रिया