बालेन शाहको पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी


काठमाडौं- प्रधानमन्त्री बालेन शाह (बालेन्द्र शाह) को करिब १२ वर्षअघिको र्‍याप ब्याटल भिडियोप्रति आपत्ति जनाउँदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिहरूले साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन्।

उजुरीकर्ताहरूले उक्त भिडियोमा प्रयोग भएका शब्द र अभिव्यक्तिहरू महिला तथा यौनिक अल्पसंख्यक समुदायप्रति लक्षित अपमानजनक तथा घृणाजनक रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार उक्त सामग्रीले सामाजिक रूपमा विभेद र असुरक्षाको वातावरण सिर्जना गर्ने जोखिम रहेको छ।

‘संघ नेपाल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा बालेन शाह र लिटल ग्रिजलबीचको र्‍याप प्रतिस्पर्धा समेटिएको छ। उजुरीकर्ताले भिडियोमा अश्लीलता, लैंगिक संवेदनशीलता विपरीत अभिव्यक्ति तथा अपमानजनक शब्द प्रयोग भएको आरोप लगाएका छन्।

पछिल्लो समय प्रधानमन्त्री शाहसँग सम्बन्धित एक सामाजिक सञ्जाल विवादका कारण उक्त पुरानो भिडियो पुनः चर्चामा आएको बताइएको छ। भिडियो हालसम्म करिब १ करोड ५० लाखभन्दा बढी पटक हेरिएको जनाइएको छ। सामग्रीमा दिवंगत र्‍यापर यमबुद्ध पनि देखिन्छन्।

साइबर ब्युरोमा दर्ता गरिएको उजुरीमा भिडियोका केही अभिव्यक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपमान गरेको उल्लेख गर्दै त्यसलाई हटाउनुपर्ने माग गरिएको छ।

उजुरीकर्ताहरूले भिडियोबाट भएको आम्दानी सामाजिक सन्देशमूलक तथा समावेशी गतिविधिमा खर्च गर्नुपर्ने, सार्वजनिक रूपमा माफी मागिनुपर्ने तथा उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने मागसमेत गरेका छन्।

प्रतिक्रिया