‘धुरन्धर २’ ले बनायो सबभन्दा ठूलो ओपनिङ रेकर्ड


काठमाडौं-  बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत बहुप्रतिक्षित फिल्म धुरन्धर- २ ले प्रदर्शनको पहिलो दिनमै बक्स अफिसमा हलचल मच्चाएको छ। रिलिजको पहिलो दिनमै १ सय करोड भारतीय रुपैयाँको जादुई आँकडा पार गर्दै फिल्मले बलिउड इतिहासकै सबैभन्दा ठूलो ओपनिङ कलेक्सन गर्ने कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रिलिजअघि नै फिल्मको क्रेज कस्तो थियो भन्ने बुधबार साँझ गरिएको पेड प्रिभ्यूले नै देखाइसकेको थियो। रिपोर्टअनुसार प्रिभ्यूबाट मात्रै भारतमा ४३ करोड रुपैयाँ नेट कमाइ भएको थियो। त्यसको भोलिपल्ट बिहीबार औपचारिक रिलिजसँगै फिल्मले भारतमा १०२ करोड रुपैयाँ नेट कलेक्सन गर्दै कुल कमाइ १४५ करोड रुपैयाँ पुर्‍याएको तथ्यांक Sacnilk ले सार्वजनिक गरेको छ।

यससँगै जवान, पठान, एनिमल र स्त्री २ जस्ता ठूला फिल्महरूको ओपनिङ रेकर्डलाई पछि पार्दै ‘धुरन्धर २’ शीर्ष स्थानमा उक्लिएको छ।

यद्यपि, सबै भारतीय फिल्ममध्ये भने यसको ओपनिङ दोस्रो ठूलो बनेको छ। पुष्पा २ को १६४ करोड रुपैयाँपछि ‘धुरन्धर २’ उभिएको हो। यसले बाहुबली २ (१२१ करोड) र आरआरआर (१३३ करोड) को ओपनिङलाई समेत पछि पार्न सफल भएको छ।

आदित्य धरको निर्देशनमा बनेको जासूसी थ्रिलर ‘धुरन्धर २’ मा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन र राकेश बेदीको दमदार अभिनय देख्न सकिन्छ।

यसअघिको ‘धुरन्धर’ फिल्मले विश्वव्यापी रूपमा १३०० करोड रुपैयाँभन्दा बढी कमाएको थियो। अहिले ‘धुरन्धर २’ नेपालमा पनि सिनेमा हलहरूमा प्रदर्शन भइरहँदा यहाँका दर्शकबाट पनि राम्रो प्रतिक्रिया र कमाइ गरिरहेको छ।

प्रतिक्रिया