चर्चित गायिका आशा भोस्लेको निधन


काठमाडाैं – चर्चित गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ ।

उनी शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा हृदय र श्वासप्रश्वाससम्बन्धी समस्यापछि भर्ना भएकी थिइन् ।

पछिल्ला केही महिनादेखि उनी अस्वस्थ थिइन् र गम्भीर अवस्थामै अस्पताल लगिएको थियो । शनिबार राति उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो।

उनका छोरा आनन्द भोस्लेले आइतबार दिउँसो आशाको निधनको पुष्टि गरेका छन् । अन्त्येष्टि भने भोलि सोमबार गरिने उनका छोरालाई उदृत् गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।
दशकौंसम्म बलिउडको स्वरका रूपमा परिचित उनी आधुनिक भारतीय सङ्गीतकी महान् गायिकामध्ये एक मानिन्थिन् ।

उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् । उनले नेपालीमा गाएका धेरै गीत कालजयी छन् ।

भारतीय चलचित्र सङ्गीतकी सबैभन्दा सफल, लोकप्रिय गायिकामध्ये एक आशा भोस्लेको स्थान हिन्दी फिल्म सङ्गीतमा उनकी दिदी लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो ।

सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी उनले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन शुरू गरेकी थिइन् । सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी उनले १९५० को दशकसम्म बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी थिइन् ।

प्रतिक्रिया