

राष्ट्रिय दल बन्ने यी ७ दल, एकीकृत समाजवादी ‘संघर्ष’ मै सिमीत !

काठमाडाैं – अन्तिम चुनावी नतिजा सार्वजनिक हुन लाग्दा सत्ता गठबन्धनको एउटा दल नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभामा समानुपातिकतर्फ राष्ट्रिय दल बन्न आवश्यक न्यूनतम तीन प्रतिशत मत पुर्याउन सङ्घर्षरत देखिन्छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार शुक्रवार बिहानसम्मको अवस्थामा समानुपातिकतर्फ १ लाखभन्दा केही बढी मत गणना हुन बाँकी देखिन्छ।
“सदर हुने देखिएको झण्डै १ करोड ४ लाख आसपासको कुल समानुपातिक तर्फको मतमा झण्डै ३ लाख १५ हजार जति मत प्राप्त गरेको अवस्थामा थ्रेसहोल्ड कट्ने देखिन्छ,” अर्याल भन्छन्।
“अब बिहीबार मतदान र गुणना सुरु भएका तीन जिल्लाका केही मतदान स्थलको मात्र बाँकी छ। सुनसरी र धनुषामा केही रुजु गर्न बाँकी छ।”
निर्वाचन आयोगको शुक्रवार बिहानसम्मको विवरण अनुसार झण्डै १ करोड ३ लाख ८० हजार समानुपातिकतर्फको मतगणना हुँदा माधवकुमार नेपाल नेतृत्वको दलले झण्डै २ लाख ९४ हजार मत पाएको छ।
उक्त दलका प्रवक्ताले मतको पछिल्लो प्रवृत्ति आफूहरू अनुकूल नदेखिएको प्रतिक्रिया दिएका छन्।
कम्तीमा ७ राष्ट्रिय दल
राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ।
तर समानुपातिकतर्फ मात्रै पनि ३ प्रतिशत कटाउने दलका उम्मेदवारहरू सांसद् बन्न योग्य हुने भए तापनि यस चुनावमा सङ्घतर्फ त्यस्ता दल देखा नपरेको आयोगले जनाएको छ।
यस आमनिर्वाचनमार्फत् अहिलेसम्म ७ राष्ट्रिय दल बन्ने निश्चित देखिएको आयोगले जनाएको छ।
जसमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टी छन्।
२०७४ सालको आमनिर्वाचनबाट पाँचवटा राष्ट्रिय दल बनेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टी थप राष्ट्रिय दलका रूपमा आएका हुन्।
कम मतको सकस
उक्त दलका प्रवक्ताले मतको प्रवृत्तिबाट थ्रेसहोल्ड ‘पुग्नेजस्तो लक्षण नदेखिएको’ बीबीसीलाई बताएका छन्।
प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्, “अब गणना हुन बाँकी ठाउँमा मत सङ्ख्या नै कम छ। त्यो पनि सबैतिर भाग लाग्दा दुई-चार हजार मत अभाव होलाझैँ देखिएको छ।”
दोलखाका ४ मतदान स्थलका दश केन्द्रमा उत्पन्न चुनावी अवरोध अन्त्य भएसँगै बिहीबार पुन: मतदान भएको छ।
स्याङ्जा-२ र बाजुरामा अवरुद्ध भएको मतगणना समेत बिहीबार बाटै सुरु भएको छ।
नेकपा (एमाले)मा विभाजन भएर बनेको उक्त दलका लागि राष्ट्रिय दलको मान्यता पाउन र कम्तीमा थप तीन सिट सुनिश्चित गर्न उक्त थ्रेसहोल्ड काट्नु आवश्यक हुन्छ।
कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ।
“समानुपातिकमा डेढ लाख जति अस्थायी मतदाता समेत हुने भएकाले यसमा केही मत प्रत्यक्षतर्फ भन्दा बढ्ता हुन्छ, ” सहायक प्रवक्ता अर्याल भन्छन्।
थोरै मतको अभाव रहेकाले अन्तिमसम्म बदर हुने मत कति रहन्छ भन्नेले समेत समानुपातिकतर्फको हिसाब फरक पार्न सक्छ।
अन्तिमसम्ममा ४ लाखभन्दा केही बढ्ता मत बदर हुने देखिएको आयोगका अधिकारीहरू बताउँछन्।
गठबन्धनलाई कस्तो असर?
सत्ता गठबन्धनसँग हालकै अवस्थामा सहज बहुमत नपुग्ने देखिइरहँदा बिहीबार जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका थिए।
समाचारहरूका अनुसार उनको दल सङ्घ र मधेस प्रदेशको सरकारमा जान तयार भएको बताइएको छ। राउतले सङ्घमा जितेको १ सिट र समानुपातिकतर्फ प्राप्त गर्नसक्ने ठानिएको ४ सीट थपिँदा गठबन्धनलाई बहुमत पुग्ने देखिन्छ।
गठबन्धनमा रहेका पाँच दलमध्ये कांग्रेस र माओवादी केन्द्र मात्र हालसम्म राष्ट्रिय दल बनेका छन्।
हालसम्मको आकलनमा उनीहरूले क्रमशः ३२ र १४ सिट समानुपातिकतर्फ प्राप्त गर्नसक्ने ठानिएको छ।
एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितिसकेको छ।
तर ३ प्रतिशत समानुपातिक मत पुर्याउन नसकेमा थ्रेसहोल्ड पूरा गर्ने जुनसुकै दलमा १ सिटले तलमाथि पर्न सक्छ। त्यो सिट गठबन्धन बाहिर समेत जान सक्छ।
तीन प्रतिशत मत कटाउने दलहरूबीचमा ११० सीट भाग लगाइन्छ भने तीन प्रतिशतभन्दा कम मत ल्याएका दलहरूले पाएको लाखौँ मत गणना गरिँदैन।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ४८ वटा दलले भाग लिएका छन्। -बिबिसी

